एनपिएल : काठमाडौंलाई रोक्ने योजनामा सुदूरपश्चिम

म्याच प्रिभ्यु

बुधबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

साबिक उपविजेता सुदूरपश्चिम रोयल्स जितका साथ दोस्रो संस्करण सुरुवात गर्ने योजनामा छ । तर, सुदूरपश्चिमलाई त्यति सहज छैन । त्रिवि क्रिकेट रंगशालामा बुधबार सुदूरपश्चिमले जितका साथ दोस्रो एनपिएल सुरु गरेको काठमाडौं गोर्खाजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । काठमाडौंले पहिलो संस्करणको च्याम्पियन टोली जनकपुर बोल्ट्समाथि पाँच विकेटको जित निकालेको थियो । 

काठमाडौं यसपटक राम्रो ‘सेप’मा छ । राष्ट्रिय क्रिकेट टोलीमा दुई वर्ष प्रशिक्षण गरेका मोन्टी देसाई काठमाडौंका मुख्य प्रशिक्षक हुन् । मैदानभित्र भन्दा पनि बाहिरबाट देसाईको निर्देशनमा खेलाडी चलायमान हुन्छन् । यसको झझल्को जनकपुरविरुद्धको खेलमा देखिएको थियो । काठमाडौंले दोस्रो सिजनमा अक्सनबाट घरेलु तथा विदेशी कोटामा विदेशी खेलाडी भित्र्याउन कुनै कन्जुस्याइँ गरेनन् । 

यसको नतिजा पहिलो खेलमै देखियो । काठमाडौंले गत वर्ष उत्कृष्ट प्रदर्शन गरेको टोलीविरुद्ध विशेष गरी बलिङमा राम्रो प्रदर्शन गरेको थियो । काठमाडौंले सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गरिरहँदा फरक रणनीति अपनाउनेछ । 

जनकपुरविरुद्धको खेलमा काठमाडौं ब्याटिङमा केही चुकेको थियो । १३१ रन लक्ष्य पछ्याएको काठमाडौंले दुई ओभर अगाडि पूरा गरेको थियो । काठमाडौंका कप्तान करण केसीले दोस्रो खेलमा ब्याटिङमा थप सुधार गरी मैदानमा उत्रने बताएका छन् । लक्ष्य सहज भए पनि काठमाडौंका ब्याट्सम्यान रन बटुल्न संघर्ष गरेका देखिन्थे । अमेरिकी खेलाडी मिलिन्द कुमारले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कारण काठमाडौंको जित सहज बन्यो । ब्याटिङ लाइनअपमा ओपनर आकाश त्रिपाठी र वेन चार्लेसवर्थले पावर प्लेमा गजबको खेल देखाए । उनीहरू पुन: एकपटक चम्कँदा सुदूरपश्चिमलाई गाह्रो हुन सक्छ । तर, सुदूरपश्चिमसँग यसको उत्तर दिने बलर छ । गत वर्ष सर्वाधिक विकेट लिने बलर स्कट कुगेलेजिनले काठमाडौंको ब्याटिङ लाइनअप ध्वस्त पार्न सक्छन् ।

ब्याटिङमा बलियो सुदूरपश्चिम
सुदूरपश्चिमको सबैभन्दा बलियो पक्ष नै ब्याटिङ हो । आरिफ सेख, कप्तान दीपेन्द्रसिंह, विनोद भण्डारी तथा जोस ब्राउनको ब्याट चल्दा काठमाडौंका बलर दबाबमा आउन सक्छन् । शीर्ष तथा मध्यक्रममा सुदूरपश्चिमका अनुभवी ब्याट्सम्यानले टोली बलियो बनाएको छ । सुदूरपश्चिमको यो बलियो पक्ष तोड्ने जवाफ काठमाडौंसँग अमेरिकी स्पिनर मिलिन्द कुमार हुन् । उनले पहिलो खेलमा जनकपुरविरुद्ध १५ रनमा तीन महŒवपूर्ण विकेट लिए । काठमाडौंले उत्कृष्ट फर्ममा रहेका मिलिन्दलाई इनिङ्सको मध्यक्रममा उनलाई प्रयोग गरी विपक्षीमाथि दबाब सिर्जना गर्न सक्छ ।

प्लेयर्स टु वाच
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)

सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हुँदा कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंहले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरेका थिए । उनको यसै योगदानका कारण सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता बनेको हो । ब्याटिङको क्रममा उनले नौ खेलमा ३७.८३ को औसतमा दुई सय २७ रनको योगदान दिए । ब्याटिङ मात्र नभएर उनले बलिङमा पनि उत्तिकै राम्रो गरे । सात खेलमा सात रनको इकोनोमीमा उनले नौ विकेट लिए । पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्समाथि सानदार जित निकालेको काठमाडौं गोर्खाजविरुद्ध दीपेन्द्रसिंह उत्कृष्ट लयमा रहँदा सुदूरपश्चिम बलियो अवस्थामा रहने सम्भावना छ । त्रिवि क्रिकेट मैदानमा उनको ब्याटिङ सधैँ एकनासको हुने गर्छ ।

स्कट कुग्गेलेजिन (सुदूरपश्चिम)
सुदूरपश्चिमले टेस्ट राष्ट्रको कोटामा न्युजिल्यान्डका स्कटलाई यसपटक पनि अनुबन्ध गर्न सफल भयो । साबिक उपविजेता सुदूरपश्चिमले उनलाई भित्र्याउनुको एउटै कारण थियो, गत वर्ष उनी सर्वाधिक विकेट लिने बलर बनेका थिए । नौ खेलमा स्कटले ७.२८ को इकोनोमीमा १७ विकेट हात पारेका थिए । बलिङ अलराउन्डर भूमिका निर्वाहको जिम्मेवारी पाएका स्कट दायाँहाते मध्यम बलर हुन् । टी–२० फ्रेन्चाइजमा उनले १६५ खेलमा एक सय ६९ विकेट लिएका छन् । स्कट फर्ममा रहँदा विपक्षी सेट ब्याट्सम्यानसमेत दबाबमा आउने गर्छन् । सुदूरपश्चिमले फर्ममा रहेको काठमाडौंका ब्याट्सम्यानविरुद्ध स्कटको धारिलो बलिङको अपेक्षा राखेको छ ।

जेहार्ड इरास्मुस (काठमाडौं) 
नामिबियाका इरास्मुसले जनकपुरविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । काठमाडौंले उनलाई अलराउन्ड खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । ब्याटिङ, बलिङ र फिल्डिङमा उनले दोस्रो एनपिएलको उद्घाटन खेलमा अपेक्षाअनुसार यी तीनवटै पक्षमा राम्रो गर्न सकेनन् । एक रनमा नटआउट रहँदा उनले बलिङमा २३ रन खर्चे पनि विकेटविहीन भए । नामिबियाका लागि निरन्तर रूपमा अलराउन्डर भूमिका टोलीलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका इरास्मुसले सुदूरपश्चिमको बलियो ब्याटिङ लाइनअप कमजोर बनाउने रणनीति बनाउनेछन् । उनले ६३ एकदिवसीय खेलमा दुई शतक र १७ अर्धशतकको मद्दतमा दुई हजार एक सय ७८ रन बनाएका छन् ।

मोहमद आदिल (काठमाडौं)
दोस्रो एनपिएलमा अक्सनमा सर्वाधिक महँगा खेलाडीमा आदिल रहे । काठमाडौंले अन्तिम समयमा उनलाई लक्की ड्रबाट अनुबन्ध गरेको थियो । दुई वर्ष प्रतिबन्धका कारण उनले पहिलो संस्करण खेल्न पाएनन् । तर, प्रतिबन्धको फुकुवापछि लगत्तै उनी राष्ट्रिय टोलीमा छनोट भए । घरेलु तथा राष्ट्रिय टोलीमा पुनरागमन गरेको छोटो समयमै आदिलले सबैका सामु आफ्नो क्षमता प्रस्तुत गर्न सफल भए । जनकपुरविरुद्धको पहिलो खेलमा उनले आठ रन जोड्दा एक छक्का लगाए । ब्याटिङ अवसर पाउँदा टोलीलाई आक्रामक रूपमा रनरेट बढाउन उनी समय खेर फाल्दैनन् । पहिलो खेलमा उनले बलिङ अवसर पाएनन् । सुदूरपश्चिमविरुद्ध उनले बलिङमा मौका पाउने सम्भावना छ । 

युएईका ध्रुवले सुदूरपश्चिमबाट खेल्ने
साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले युएईका अलराउन्डर ध्रुव परासरलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले उनलाई पाँचौँ विदेशी खेलाडीका रूपमा भित्र्याएको हो । यसअघि सुदूरपश्चिमले स्कट कुग्गेलिन, क्रिस लिन, हर्मित सिंह र जोस ब्राउनलाई विदेशी कोटाका रूपमा अनुबन्ध गरेको थियो । एनपिएल खेल्न ध्रुव मंगलबारै नेपाल आइपुगेका छन् । उनले युएईका लागि ३२ टी–२० आईमा २०७ रन बनाउनुका साथै ३२ विकेट लिएका छन् । १२ एकदिवसीयमा उनले १९२ रन जोड्दै १० विकेट हात पारेका छन् । 

चितवनद्वारा समर्थकलाई नि:शुल्क बस व्यवस्था
फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । एनपिएलको फ्रेन्चाइज टोली चितवनले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गरेको जनाएको छ । चितवनको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवनका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिएका छन् । खेल समाप्त भएपछि समर्थकलाई पुन: चितवन पुर्‍याइनेछ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो । खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवनको समर्थनमा ठाउँठाउँमा झन्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन् । 

See More On

सुझावित समाचार