बिहार चुनावले कंग्रेस र राहुललाई सिकाएको पाठ

बुधबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण
  • महागठबन्धनमा कंग्रेसले न त तेजस्वी यादवलाई परिवर्तनको अनुहारको रूपमा पूर्ण रूपमा अँगालेको थियो, न त आफ्नैप्रति–दृष्टि प्रस्तुत गरेको थियो 

२०२० मा भन्दा स्पष्ट जनादेशसाथ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले बिहारमा यसपटक अभूतपूर्व विजय हासिल गर्यो । प्रभुत्वको क्रममा बिहारको हालको चुनावी परिदृश्य तीन दलमा विभाजित छ– भारतीय जनता पार्टी (भाजपा), जनता दल युनाइटेड (जेडियु) र राष्ट्रिय जनता दल (आरजेडी) । यस चुनावको एउटा परिणाम भनेको जेडियु दोस्रो सबैभन्दा ठुलो पार्टीको रूपमा देखा पर्नु हो । तर, अझ महŒवपूर्ण परिणाम भनेको जेडियुका निर्विवाद नेताको रूपमा नितिश कुमारको पुनरागमन हो ।

चुनावको पूर्वसन्ध्यामा नितिश कुमारलाई २० वर्षसम्म पदमा रहँदा उनको समयावधि सकिएको व्यक्तिको रूपमा वर्णन गरिएको थियो । उनका राजनीतिक आलोचक र सहयोगीले उनको मानसिक र शारीरिक स्वास्थ्य अवस्थामाथि शंका व्यक्त गरेका थिए । एनडिएले वैकल्पिक मुख्यमन्त्रीको अनुहार प्रस्तुत गर्न सकेन, किनकि त्यहाँ कोही थिएन । जेडियुसँग पनि निर्बाध रूपमा नितिशको विकल्पमा उभिन सक्ने नेता थिएनन् । भाजपासँग भएकाहरू पार्टीको केन्द्रीय नेतृत्वको पक्षमा थिएनन्, जसले गर्दा सम्राट चौधरीजस्ता विवादास्पद व्यक्तिलाई अगाडि ल्याउन बाध्य पारिएको थियो ।

त्यसो भए बिहारमा कस्तो परिवर्तन आयो ? सन् २०२० मा एनडिएले कुल २४३ सिटमध्ये १२५ सिट जितेको थियो, जुन बहुमत जुटाउन आवश्यक पर्ने १२२ को आँकडाभन्दा केवल तीन सिट बढी हो । महागठबन्धन (एमजिबी) ले ११० सिट जितेको थियो । १५ सिटको अन्तर भए पनि लोकप्रिय मत लगभग बराबर थियो: एनडिएले ३७.२६ प्रतिशत र एमजिबीले ३६.५८ प्रतिशत । आरजेडी ७५ सिट र २३.११ प्रतिशत भोटसहित सबैभन्दा ठुलो दल थियो, त्यसपछि भाजपा ७४ सिट र १९.४६ प्रतिशत भोटसहित दोस्रो स्थानमा थियो । जेडियुले १५.३९ प्रतिशत भोटसहित ४३ सिट जितेको थियो भने कांग्रेसले लगभग ९.५ प्रतिशत भोटसहित १९ सिट जितेको थियो ।

जेडियू र नीतिशको आश्चर्यजनक प्रदर्शन
नतिजा आउँदा बिहारमा दुई उल्लेखनीय कारक स्पष्ट देखिन्छन् । चाहे भारु १० हजार नगद स्थानान्तरण वा अन्य प्रोत्साहनद्वारा प्रेरित होस्, यो गहन अनुसन्धानको विषय हो । तर, पहिलो स्पष्ट प्रवृत्ति भनेको यसपटक धेरै महिला मतदानमा सहभागी भए । दोस्रो प्रवृत्तिले परम्परागत विश्वासलाई चुनौती दिन्छ कि बढी मतदाताको सहभागिताले परिवर्तनको चाहनालाई संकेत गर्छ । २०२० को तुलनामा बिहारमा १४ प्रतिशत मतदान बढेको छ र यो वृद्धिले एनडिए गठबन्धनको पक्षमा काम गरेको देखिन्छ । वास्तवमा, यस्तो देखिन्छ कि २० वर्ष सत्तामा रहेपछि पनि मतदाता नितिश कुमारलाई सत्तामा राख्न निरन्तर इच्छुक रहे ।

यो स्पष्ट छ कि एनडिएभित्र भाजपा र जेडियुले राम्रो काम गरेका थिए । चुनावी अभियानमा एनडिएमा आबद्ध नेताले समझधारीपूर्वक बोलेका थिए । सुशासन, विकास र रोजगारीको वाचामा आधारित स्थानीय मुद्दामा सन्देश दिइरहेका थिए । यसले मतदातालाई सम्बोधन गरिएको स्पष्ट र अवरोधरहित सञ्चार सुनिश्चित गर्यो ।

जहाँ एमजिबीले हार खायो
एनडिएको तुलनामा महागठबन्धनको सन्देश फरक र विरोधाभाषी पनि थियो । तेजस्वी यादवले बिहारका युवालाई लक्षित रोजगारी, कल्याण र विकासका मुद्दामा जोड दिइरहेका थिए, राहुल गान्धीले ‘भोट चोरी’ भएको विषयलाई बारम्बार उठाए र मुद्दाहरू भारतभर नै केन्द्रित थिए । कंग्रेसले तेजस्वी यादवलाई स्पष्ट मुख्यमन्त्री अनुहारको रूपमा प्रस्तुत गर्न पनि आनाकानी गर्यो । यसले राहुल गान्धी र तेजस्वी यादवबिच राम्रो सम्बन्ध थिएन भन्ने एनडिएको कथनलाई पुष्टि गरेको थियो ।

यस चुनावमा चुपचाप समाप्त भएको एउटा उपकथा प्रशान्त किशोरको चुनावी सुरुवात थियो । महिनौँसम्मको पदयात्रा, परिचालन अभियान र राजनीतिक अवरोधको उच्च–भोल्टेज कथापछि उनको पार्टी मत हिस्सा वा सिटमा अर्थपूर्ण प्रभाव पार्न असफल भयो । लामो समयदेखि भारतको सबैभन्दा प्रभावशाली चुनावी रणनीतिकार मानिने कसैका लागि फैसलाले एउटा गम्भीर सत्यलाई जोड दियो– राजनीतिक परामर्श र राजनीतिक जन–निर्माण मौलिक रूपमा फरक शिल्प हुन् । बिहारका मतदाताले किशोरको पार्टीलाई एक विश्वसनीय विकल्पको रूपमा देखेनन् र उनको प्रयोग आफ्नै अपेक्षाको भारमा पतन भयो ।

कंग्रेसले अब साँच्चै सुन्नुपर्छ
बिहारको नतिजाले भारत प्रयोगको कल्पना गरेदेखि नै कंग्रेसलाई सताएको प्रश्नलाई तीक्ष्ण बनाउँछ, कमजोर राष्ट्रिय पार्टीले दृढ क्षेत्रीय प्रमुखहरूको तुलनामा आफ्ना लागि कुन स्थान बनाउँछ ? एनडिएमा बिहारमा सम्झौता स्पष्ट थियो– भाजपाले संगठनात्मक मेसिनलाई चलाउनेछ, जबकि राज्यको नेतृत्व नितिश कुमारलाई दिनेछ र जेडियुलाई बढ्न दिनेछ । अभियान, सिट बाँडफाँड र सन्देशहरू त्यो सम्झौतासँग मिल्दाजुल्दा थिए र नतिजाले त्यो सुसंगततालाई प्रतिबिम्बित गर्छ । यसविपरीत महागठबन्धनमा कंग्रेसले न त तेजस्वी यादवलाई परिवर्तनको अनुहारको रूपमा पूर्ण रूपमा अँगालेको थियो, न त आफ्नै प्रति–दृष्टि प्रस्तुत गरेको थियो । गठबन्धन साझेदारीजस्तो थोरै र प्रगतिमा रहेको वार्ताजस्तो देखिन्थ्यो । मतदाताले त्यो महसुस गरे ।

त्यो हिचकिचाहट बिहारमा मात्र सीमित छैन । राहुल गान्धीका सम्भावित सहयोगी– बिहारमा तेजस्वी, उत्तर प्रदेशमा अखिलेश यादव, बंगालमा ममता बनर्जी, दिल्ली र पञ्जाबमा अरविन्द केजरिवाल र अन्यसँगको सम्बन्धले आकर्षक छवि र संयुक्त र्याली उत्पादन गरेको छ, तर विश्वासको स्थिर संरचना होइन । क्षेत्रीय नेताहरू आफ्नो राज्यमा संगठनात्मक रूपमा कमजोर कंग्रेसलाई ठाउँ दिने विचारमा आक्रोशित छन् भने कंग्रेस सार्वजनिक रूपमा कनिष्ठ भूमिका स्वीकार गर्न वा शक्ति–साझेदारी व्यवस्था स्पष्ट गर्न अनिच्छुक छ । परिणाम आधा–इसाराको राजनीति हो– साझा रणनीतिविनाको साझा पत्रकार सम्मेलन, धरातलमा संयुक्त कार्यकर्ताविना संयुक्त नारा ।

अस्तित्ववादी द्विविधा
यो संस्थागत हिचकिचाहट हो वा राहुल गान्धीको व्यक्तिगत शैलीको प्रतिबिम्ब हो भन्ने कुरा बहसका लागि खुला छ । क्रूर स्पष्टताका साथ बिहारले के देखाउँछ भने यसको मूल्य मतपेटिकामा चुकाइँदै छ । कंग्रेसले आफ्ना क्षेत्रीय साझेदारले ओगटेको भाजपाविरोधी स्थानमा अतिक्रमण नगरी राष्ट्रिय रूपमा आफूलाई पुनर्जीवित गर्न सक्दैन । यसले व्यापक गठबन्धनलाई कमजोर बनाउँछ र भाजपालाई फाइदा पुर्याउँछ । त्यो पार्टीको अस्तित्ववादी द्विविधा हो । भाजपाले आफ्नो गठबन्धन व्यवस्थापन गर्न धेरै अनुशासित र चुनावपछि कसरी यसको फाइदा उठाउने भनेर सिकेको छ ।

अन्तत:, बिहारको फैसला केवल एउटा गठबन्धनको अस्वीकृति र अर्कोको समर्थन मात्र होइन । यसले भारतीय मतदाताले भावना र प्रतीकात्मकताभन्दा स्पष्टता, एकता र विश्वसनीयतालाई पुरस्कृत गर्छन् भन्ने कुराको सम्झना गराउँछ । भाजपा–जेडियु सूत्रले काम गर्यो, किनभने यसको पदानुक्रम तय भएको थियो र यसको सन्देश स्थिर थियो । महागठबन्धन डगमगायो, किनभने यसको केन्द्रमा कहिल्यै सहमति भएन । कंग्रेस र राहुल गान्धीका लागि गहिरो पाठ यो हो कि गठबन्धनहरू केबल शीर्ष व्यक्तिमा मात्र निर्भर हुन सक्दैन । त्यो मतदानभन्दा धेरै अघि तल्लो तहबाट निर्माण हुनुपर्छ ।

किदवाई भारतीय लेखक तथा स्तम्भकार हुन्

– एनडिटिभीबाट

सुझावित समाचार