ऊर्जामन्त्री कुलमान घिसिङले रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदै गएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र प्यारापिट हस्तान्तरणपछि खुसी हुँदै कुलमानले यस्तो बताएका छन् ।
घिसिङले फेसबुकमा लेखेका छन्, ‘फ्लड लाइटको उज्यालोसँगै केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदै छ । वर्षौँदेखि देखिएको पूर्वाधारसम्पन्न क्रिकेट रंगशालाको सपना अब वास्तविकतामा परिणत हुँदै छ ।’
उनले खेलकुदले एकातर्फ युवालाई अनुशासित र ऊर्जाशील बनाउँदै देशलाई एकतामा बाँध्ने क्षमता राख्ने र अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।
पहिलो चरणको निर्माणलाई सफल बनाउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाई उनले धन्यवाद दिएका छन् । सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीलाई उनले बधाई तथा शुभकामना दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आशा छ कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ ।’