दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा नेपाल क्रिकेट संघ (क्यान)ले ३५ करोडभन्दा बढी रकम उठाउन योजना बनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका सचिव पारस खड्काले ३५ करोडभन्दा बढी रकम अनुमान गरेको बताएका छन् । क्यानले १५ करोड ३० लाख प्रयोजकबाट उठाउने, नौ करोड सहभागी टिमहरूबाट र ओटिटीबाट पाँच करोड ३० लाख हुने जनाएको छ । त्यस्तै, टिकट बिक्रीबाट आठदेखि १२ करोडसम्म उठ्ने अनुमान गरेको खड्काले जनाएका छन् ।
क्यानले उद्घाटन दिनको टिकट मूल्य एक हजार र १५०० तोकेको छ । फाइनल र प्लेअफका लागि एक हजार र दुई हजार हुने जनाएको छ । समान्य दिन भने पाँच सय र एक हजार बताइएको छ । गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस सिजन साबिक विजेता जनकपुर बोल्ट्स, उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् । एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदै छ ।
तयारी पूरा, पुरस्कार राशि वृद्धि नहुने
क्यानले प्रतियोगिताको एक दिनअघि नै तयारी पूरा भएको जनाएको छ । हाल खेल हुने एक मात्रै त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइट जडान भएको छ । यस्तै, स्थायी १० हजार र तीन अस्थायी गरी कुल १३ हजार सिट जडान भएका छन् । यता, क्यानले यसपटक पुरस्कार राशि भने वृद्धि गरेको छैन । क्यान सचिव पारस खड्काले पुरस्कार वृद्धि नहुने घोषणा गरेका हुन् । गत वर्ष च्याम्पियन भएको जनकपुरले एक करोड १० लाख पाएको थियो । उपविजेता भएको सुदूरपश्चिमले ५१ लाख प्राप्त गरेको हो । त्यस्तै, तेस्रो भएको कर्णाली याक्सले २५ लाख तथा चौथो भएको चितवनले १५ लाख प्राप्त गरेका थिए ।
इंग्ल्यान्डलाई विश्वकप जिताएका जेसन रोय पोखरामा
इंग्ल्यान्डलाई सन् २०१९ मा आइसिसी एकदिवसीय विश्वकप जिताएका जेसन रोय पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । शनिबार पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि ३५ वर्षीय इंग्लिस ब्याटर अनुबन्ध गरेको हो । विश्वकप फाइनलमा इंग्ल्यान्डले बाउन्ड्री आधारमा न्युजिल्यान्डलाई हराउँदा रोय मुख्य खेलाडी थिए ।
त्यस फाइनल खेलमा ओपनर रोयले २० बलमा १७ रन जोडेका थिए । रोय पोखरा अनुबन्ध हुने पाँचाैँ विदेशी खेलाडी हुन् । यसअघि टोलीले न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमलाई अनुबन्ध गरेको थियो । निसम सन् २०१९ कै विश्वकपमा न्युजिल्यान्ड उपविजेता हुँदाको मुख्य खेलाडी हुन् । फाइनलमा निसमले १९ रन बनाएका थिए । तेस्रो खेलाडी भिœयाउँदासम्म कमजोर देखिएको पोखरा रोय र निसमलाई अनुबन्ध गरेसँगै प्रतियोगिताकै मुख्य दाबेदार देखिएको छ । निसमले पछिल्लोपटक जनकपुर बोल्ट्सलाई उपाधि जिताउँदा मुख्य भूमिका खेलेका थिए । यसअघि पोखराले इंग्ल्यान्डकै विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको छ ।
कर्णालीबाट खेल्न आइपुगे पाँच खेलाडी
कर्णाली याक्स स्पोर्टस् प्रालिमा अनुबन्ध भएका चार खेलाडी नेपाल आइपुगेका छन् । अफगानिस्तान पूर्वकप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डाबड, भारतका जयकिसन कोल्सावाला र स्कटल्यान्डमा मार्क वाट दोस्रो एनपिएल खेल्न नेपाल आएका हुन् । भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन् । उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेलगायत प्रतिनिधिहरूले स्वागत गरेका थिए । अब, अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आबद्ध हुन बाँकी छन् । यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौंको होटेल याक एन्ड यती, सहप्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।
आइपुगे विराटनगरका रन्जने
विराटनगर किंग्सबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न अमेरिकाका अलराउन्डर शुभम रन्जने नेपाल आइपुगेका छन् । ३१ वर्षीय उनलाई शनिबार विराटनगरका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय स्वागत गरे । उनले ४८ टी खेल खेल्दा तीन अर्धशतकसहित ६ सय ५४ रन बनाउनुका साथै २२ विकेट पनि लिएका छन् ।
उनी विराटनगरमा अनुबन्ध हुने छैटौँ खेलाडी हुन् । टोलीले न्युजिल्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मर्चेन्ट डी लाङ, अस्ट्रेलियाका साम हिजलेट तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको थियो ।