निर्वाचनका लागि आयोगलाई चार अर्ब ९६ करोड बजेट

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण
  • सात अर्ब ८१ करोड माग गरिएकोमा सरकारले पाँच अर्बको मात्रै सहमति दिएपछि निर्वाचन आयोग असन्तुष्ट, आवश्यकताका आधारमा बजेट थप्न सकिने अर्थ मन्त्रालयको भनाइ

सरकारले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई चार अर्ब ९६ करोड बजेट दिने भएको छ । यसमा निर्वाचन आयोगले भने असन्तुष्टि जनाएको छ ।  

आयोगले चुनावका लागि सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरे पनि अर्थ मन्त्रालयले मागको दुई अर्ब ८५ करोड रुपैयाँ कम बजेट खर्च गर्न आयोगलाई सहमति दिएको हो । 

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले हाललाई चार अर्ब ९६ करोड रुपैयाँ बजेट खर्च गर्न सहमति दिइए पनि आवश्यकताअनुसार थप हुन सक्ने बताए । ‘हामीले खर्च गर्न सहमति दिएको चार अर्ब ९६ करोड बजेट अन्तिम होइन, पहिलो चरणको मात्रै सहमति हो,’ उनले भने, ‘चुनावलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि आवश्यकताअनुसार थप बजेट अर्थ मन्त्रालयले व्यवस्थापन गर्न सक्छ । हामी आयोगसँग निरन्तर छलफलमा हुनेछौँ,’ उनले भने ।

आयोगले गृहमन्त्री ओमप्रकाश अर्याललाई शुक्रबार बोलाएर कर्मचारीको अतिरिक्त समयको खाना–खाजा खर्च कटौती गरिएको, मतदाता शिक्षाको पाँच गुणा बजेट कटौती गरिएको भन्दै असन्तुष्टि जनाएको छ । आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधरले यसरी निर्वाचन गराउन चुुनौतीपूर्ण हुने भन्दै मन्त्री अर्यालकोे ध्यानाकर्षण गराएका थिए । मन्त्री अर्यालले आयोगको चासो सम्बोेधन गरिने र आवश्यक बजेटको कमी हुन नदिइने प्रतिबद्धता जनाए । यद्यपि, पारदर्शी खर्च हुनुपर्नेमा जोड दिए । 

तर, अर्थका प्रवक्ता पाण्डेयले आयोगबाट थप नयाँ कार्यक्रम आएमा अर्थ मन्त्रालयले आवश्यकताका आधारमा निर्णय गर्ने उनले बताए । निर्वाचन सचेतना कार्यक्रम, मतपत्र छपाइ, कर्मचारी परिचालनलगायतका कार्यमा यो बजेट खर्च हुने बताइएको छ । यसैगरी, ढुवानीमा पनि बजेट खर्च हुनेछ ।

यसबाहेक गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरीमार्फत खर्चको व्यवस्थापन बजेट छुट्टै हुनेछ । गृहले चुनावमा म्यादी प्रहरीसहित सुरक्षामा बजेट खर्च गर्ने गर्छ । गृह र रक्षा मन्त्रालयले छुट्टै बजेट विनियोजन गर्नेछन् । 

सरकारले चुनाव र पुनर्निर्माणका लागि पुँजीगत र चालू बजेट रोक्का गरेर एक खर्ब १९ अर्ब स्रोतको जोहो गरिसकेको छ । त्यसैले निर्वाचनका लागि स्रोत अपुग नहुने अर्थ मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्ष ०८१/८२ मा सरकारले निर्वाचन आयोगलाई नियमित खर्चबापत ६१ करोड २३ लाख मात्रै बजेट विनियोजन गरेको छ । जेन–जी आन्दोलनपछि संसद् विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि आयोगलाई निर्वाचनका लागि अतिरिक्त खर्च व्यवस्थापन भइरहेको हो । 

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेर बनेको सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चुनाव हुन लागेको हो ।

बजेट कटौती गरिएकोमा गृहमन्त्रीसँग आयुक्तहरूको गुनासो
निर्वाचन आयोगले शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याललाई बोलाएर कर्मचारीको अतिरिक्त समयको खाना–खाजा खर्च कटौती गरिएको तथा मतदाता शिक्षाको पाँच गुणा बजेट कटौती गरिएको भन्दै असन्तुष्टि जनाएको छ । मन्त्री अर्यालले आयोगको चासो सम्बोेधन गरिने र आवश्यक बजेटको कमी हुन नदिइने प्रतिबद्धता जनाए । यद्यपि, पारदर्शी खर्च हुनुपर्नेमा जोड दिए ।

०६४ यता कुन चुनावमा कति खर्च ? 
निर्वाचन आयोगले ०७९ को प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा पाँच अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको थियो । त्यसअघि भएको स्थानीय तह निर्वाचनमा पनि पाँच अर्ब चार करोड रुपैयाँ खर्च भएको थियो । यसपटक भने प्रतिनिधिसभाको मात्रै निर्वाचन हुन लागेको हो । ०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आयोगबाट सात अर्ब ५९ करोड खर्च भएको थियो । सोही वर्ष तीन चरणको निर्वाचनमा थप ६ अर्ब ९७ करोड ९२ लाख रुपैयाँ खर्च भएको थियो । यस्तै, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तीन अर्ब ६ करोड ३० लाख र ०६४ संविधानसभा निर्वाचनमा दुई अर्ब ८० करोड ९५ लाख रुपैयाँ खर्च भएको थियो ।

मतदाता नामावली दर्ताको समय थप, अब ५ मंसिरसम्म
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय ५ मंसिरसम्मका लागि थपेको छ । प्रधानमन्त्री सुशीला कार्कीको चासो र गृहमन्त्री ओमप्रकाश अर्यालको पत्राचार तथा जेन–जी युवाको अनुरोधबमोजिम आयोगले पाँच दिन समय थप्ने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । अन्तिम समयमा मतदाता दर्ता गर्नेको चाप बढेकोे, सर्भरमा समस्या देखिएको, धेरैले नाम दर्ता गर्न नपाएको गुनासो आएपछि समय थप भएको हो ।

२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यसअघि ९ असोजदेखि ३० कात्तिकसम्म मतदाता नामावली संकलन खुला गरेको थियो । तर, एक महिनासम्म ८५ हजारले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराएकामा पछिल्लो १५ दिनमै थप डेढ लाख मतदाता थपिएका छन् । समय घर्किँदै गर्दा मतदाता नामावलीमा नाम दर्ता गर्नेेको घुइँचो लागेपछि सरकार र आयोग समय बढाउने निष्कर्षमा पुगेका हुन् ।

बिहीबार मात्रै ३७ हजार मतदाता थपिएका थिए । २७ कात्तिकदेखि आयोगले राष्ट्रिय परिचयपत्रको विवरण बायोमेट्रिकका आधारमा मतदाता नामावली दर्ता सुरु गरेको छ ।

यसैबिच निर्वाचन घोषणापछि नयाँ दल दर्ताका लागि शुक्रबारसम्म ३६ निवेदन दर्ता भएका छन् । निर्वाचन आयोग, कानुन तथा राजनीतिक महाशाखाका अनुसार शुक्रबार मात्रै चार दल दर्ताका लागि निवेदन प्राप्त भएको छ । शुक्रबार दल दर्ताका लागि  निवेदन दिनेमा नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण पार्टी रहेका छन् । 

सुझावित समाचार