कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

कर्णाली याक्स स्पोर्टस् प्रालिले भारतीय खेलाडी जयकिसन कोल्सावाललाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णाली याक्सले छैटौँ विदेशी खेलाडी अनुबन्ध गरेको हो । योसँगै कर्णालीको विदेशी कोटा पूूरा भएको छ । 

कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिस्टाेसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड,  भारतका प्रियाङ्क किरित पन्चाल र अफगानिस्तानका नाजिबुल्लाह जाद्रनले पहिलोपटक कर्णालीबाट खेल्दै छन् । 

३६ वर्षीय भारतीय आक्रामक ब्याटरले दोस्रोपटक कर्णाली याक्सबाट खेल्न लागेका हुन् । विकेटकिपरसमेत रहेका कोल्सावालले दुई खेल खेल्दा चितवनविरुद्ध अर्धसतक बनाएका थिए । उनी नेपाली क्रिकेटका लागि परिचित खेलाडीसमेत हुन् । यसअघि धनगढी प्रिमियर लिग पनि खेलेका थिए । 

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटेल याक एन्ड यती, सहप्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ । 

०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
 

सुझावित समाचार