दोस्रो नेपाल प्रिमियर लिग : कर्णालीमा भित्रिए थप दुई विदेशी खेलाडी

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण
  • गत वर्षको तुलनामा यसपटक उत्कृष्ट नतिजा निकाल्ने योजना बनाएको कर्णाली याक्समा अफगानिस्तानका नाजिबुल्लाह जद्रान र भारतका प्रियांक किरित अनुबन्ध

पहिलो संस्करणको प्लेअफमा स्थान बनाएको कर्णाली याक्सले आगामी सोमबारदेखि सुरु हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि दुई विदेशी खेलाडीसँग सम्झौता गरेको छ । कर्णालीले बिहीबार अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान नाजिबुल्लाह जद्रान र भारतको रणजी ट्रफी खेल्ने प्रियांक किरितलाई अनुबन्ध गरेको छ । कर्णालीको टोलीमा पाँचजना विदेशी खेलाडी भए । निर्देशक गृहेन्द्र घिमिरेले टोली थप मजबुत बनाउन ब्याटिङ लाइनमा टेस्ट राष्ट्रका जद्रानलाई अनुबन्ध गरेको बताए । 

कर्णालीमा अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका किरितले पहिलोपटक एनपिपएल खेल्दै छन् । ३२ वर्षीय बायाँहाते ब्याट्सम्यान जद्रानले अफगानिस्तानबाट १०७ टी–२० आईमा १ हजार ८३० रन बनाएका छन् । १३७.८० को औसतमा उनले ८ अर्धशतक बनाए । एकदिवसीयमा उनले ९२ खेलमा दुई हजार ६२ रन जोडेका छन् । 

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै मुख्य प्रशिक्षक र कन्सलट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । कर्णालीले अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको हो । 

रणजीका खेलाडी प्रियांक
कर्णालीले मध्यक्रमको ब्याटिङ बलियो पार्न भारतको रणजी ट्रफीका अनुभवी खेलाडी प्रियांंकलाई भित्र्याएको हो । ‘गत वर्षभन्दा यसपटक ब्याटिङ बलियो बनाउन रणजी ट्रफी खेलिसकेका प्रियांकलाई अनुबन्ध गरेका हौँ,’ निर्देशक घिमिरेले भने, ‘उनको आगमनपछि ब्याटिङ बलियो हुने विश्वास छ ।’ ओपनिङ ब्याटिङ गर्ने प्रियांकले पछिल्लोपटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय प्रियांकले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । रणजी ट्रफीमा उनले १२७ खेलमा आठ हजार ५६६ रन बनाउन २९ शतक र ३४ अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले लिस्ट ‘ए’मा ९७ खेलमा आठ शतकसहित तीन हजार ६७२ रन बनाएका छन् । ५९ टी–२० खेलमा नौ अर्धशतकको सहयोगमा उनले एक हजार ५२२ रन बटुलेका छन् । 

कर्णालीको ब्याटिङ लाइनअप बलियो
पहिलो संस्करणमा कर्णालीले भारतीय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गर्दै सनसनी मच्चाएको थियो । धवनले प्लेअफसम्म प्रतिस्पर्धा नगरे पनि एनपिएल चलिरहँदा उनी केन्द्रमा रहे । यसपटक कर्णालीले ब्याटिङ पक्षलाई बढी ध्यान दिएको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले गत वर्ष सातमध्ये चार खेल जित्दै तेस्रो स्थान रक्षा गरेको थियो । कर्णालीले मध्यक्रम बलियो बनाउन अस्ट्रेलियाका यू–१९ टोलीका पूर्वकप्तान विलियम बसिस्टोलाई निरन्तरता दिएको छ । यसपटक कर्णालीले दुईजना मुख्य विदेशी ब्याट्सम्यान र एकजना अलराउन्डर खेलाडी भित्र्याएको छ । एकजना स्पिनर रहेका छन् । घरेलु खेलाडीभन्दा पनि विदेशीले ओपनिङमा मौका पाउने सम्भावना छ । यसपटक कर्णालीका मुख्य स्पिनर खेलाडीका रूपमा विपिनप्रसाद शर्मा रहेका छन् । गत सिजनमा उनले कसैले नपत्याउने गरी १३ विकेट लिएका थिए । ट्यालेन्ट हन्टबाट उदाएका विपिन पहिलो संस्करणमा धेरै विकेट लिने बलरको सूचीको पाँचौँ स्थानमा रहे । अहिले उनी एक अनुभवी खेलाडी बनेका छन् । यसपटक विपिनले आफ्नो जादुमयी बलिङ दोहोर्याउने अपेक्षा छ । 

विराटनगरले पूरा गर्यो विदेशी खेलाडीको कोटा
विराटनगर किंग्सले दोस्रो संस्करणका लागि अमेरिकाका अलराउन्डर शुभम रन्जानेलाई अनुबन्ध गरेको छ । यससँगै विराटनगरले ६ जना विदेशी खेलाडीको कोटा पूरा गरेको छ । शुभमले ४८ टी–२० खेलमा तीन अर्धशतकसहित ६५४ रन बनाउनुका साथै २२ विकेट पनि लिएका छन् । न्युजिल्यान्डका मार्टिन गुप्तिल, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र मर्चेन्ट डी लागे, अस्ट्रेलियाका साम हिजलेट तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई विराटनगरले अनुबन्ध गरेको थियो । 

समीर लुम्बिनीका आइकोनिक खेलाडी
लुम्बिनीले समीर अली मुसलमानलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । लुम्बिनीले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बनेका समीरलाई दोस्रो सिजनको एनपिएलमा आइकोनिक खेलाडी बनाएको हो । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट उत्कृष्ट तीन खेलाडी छनोट गरिएको हो । समीर विकेटकिपर ब्याट्सम्यान हुन् । 

सुदूरपश्चिमलाई सूर्य प्लाईको साथ
सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरका रूपमा निरन्तरता दिएको छ । काठमाडौंमा बिहीबार भएको सम्झौतापत्रमा सरावगी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देवआनन्द सरावगी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिमका सिइओ खड्काले सूर्य प्लाई नम्बर एक संस्था भएको बताए । सूर्य प्लाईका प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपिएलले महत्वपूर्ण भूमिका खेल्ने जनाए । 

सुझावित समाचार