हेर्दा चिल्लो र सेतो देखिने नेपाली कागज । जसको प्रयोग सबैजसो सरकारी कामकाजमा अनिवार्यजस्तै हुन्छ । अत्यावश्यक काममा नभई नहुने नेपाली कागज तयार पार्ने काममा दोलखा चरिकोटका पुष्कर थामी र ज्ञानबहादुर थामीसँग लामो अनुभव छ । चार वर्षदेखि उनीहरूले भक्तपुरको झौखेलमा ६ रोपनी जग्गा लिजमा लिएर कागज कारखाना चलाउँदै आएका छन् ।
हेर्दा चिल्लो र सुकिलो देखिने नेपाली कागजका ती खाली पानाहरूमा मसी नभरिए पनि यी दुई युवाको दु:ख भने भरिएको छ । कारखाना चलाएर उनीहरू आफू मात्रै उद्यमी बनेका छैनन्, १३ जनालाई रोजगारीसमेत दिएका छन् । आफ्नो र कामदारको रोजीरोटीका लागि उनीहरू बिहानैदेखि कारखानामा खटिन्छन् । ‘आठ वर्ष विभिन्न खाडी मुलुकमा काम गरेँ, तर कमाएको पैसा परिवारको दैनिक खर्चमै सकियो, कुनै टुंगो लागेन, विदेश कतिपटक आउजाउ गर्ने भन्ने लागेर यो काममा हात हालेँ,’ पुष्करले भने, ‘अरूको काम गरेर भन्दा आफ्नै काम गरेर फाइदा हुने रहेछ, खान–लाउन दु:ख छैन, केहीलाई रोजगारीसमेत दिएका छौँ, पछिल्लो समय नेपाली कागजको माग ठिकै छ ।’
थामीका अनुसार पछिल्लो समय नेपाली कागज धुप बाट्न बढी प्रयोग हुन्छ । उनीहरूको कारखानाले बजारको मागअनुसार कागज तयार पार्छ । दैनिक एक हजारभन्दा बढी थान कागज उत्पादन हुन्छ । कतिपय सरकारी कार्यालयले सिधै सम्पर्क गरेर आफूलाई चाहिएको कागज पनि माग गर्छन् । जस्तो क्वालिटीको माग हुन्छ, उस्तै उत्पादन गरिन्छ । चिल्लो र बाक्लो कागज महँगो हुन्छ । तर, अधिकांश सरकारी कार्यालय र धुप बाट्न पातलो कागज नै प्रयोग हुन्छ ।
‘कागज उत्पादनका लागि पूर्वी पहाडी जिल्लाबाट कच्चा पदार्थ ल्याउँछौँ, मुख्यत: अर्घेली लोक्ता र बाबियो चाहिन्छ, कुन क्वालिटीको कागज चाहिएको छ, त्यहीअनुसारको बनाउँछौँ,’ थामीले भने, ‘अब आफ्नै देशमा केही गर्नुपर्छ भनेर चार वर्षअघि नेपाल फर्किएको थिएँ, अहिले यो कामबाट खुसी छु । विदेशमा अर्काको खटनमा ५५ डिग्रीको तापक्रममा बसेर काम गर्नुभन्दा आफ्नै देशमा दु:ख गर्दा आनन्द आउने रहेछ ।’
पुष्करसँगै साझेदारीमा कारखाना चलाउँदै आएका ज्ञानबहादुर थामी पनि यो व्यवसायमा रमाएका छन् । उनका अनुसार धुप बनाउन पाँच ग्रामको कागज तयार पारिन्छ । त्यस्तै रातो रङको एमसेट बनाउन प्रयोग हुन्छ । ‘रातो, सेतो, पहेँलो र निलो कागज मागअनुसार उत्पादन हुन्छ, अर्डरअनुसार नेपाली कागज तयार पारेर बजारमा पठाउने गर्छौँ,’ उनले भने, ‘वैदेशिक रोजगारमा जानुभन्दा आफैँले काम गर्दा फाइदा हुने रहेछ । स्वदेशमै काम गर्दा आफू पनि रोजगार हुने र आम्दानी पनि राम्रै हुने रहेछ ।’
यसरी तयार हुन्छ कागज
ज्ञानबहादुरका अनुसार विभिन्न जंगलबाट ल्याएको कच्चा पदार्थ (लोक्ता, रुखका बोक्रा, बाबियो) घाममा सुकाइन्छ । मेसिनमा पेलेर धुलाइन्छ । त्यसपछि पानीमा घोलिन्छ । पानीमा घोलिएपछि मेसिनमा फिटिन्छ । त्यसलाई सेतो बनाउन सेतो रङको केमिकल प्रयोग गरिन्छ । जसले पेलेर घोलिएको लेदोलाई सेतो बनाउँछ । पातलो जाली र काठबाट बनाइएको फर्मा लेदोमा डुबाइन्छ । त्यसपछि फर्मामा एक प्रकारको लेयर जम्छ । त्यसलाई २० मिनेटजति घाममा सुकाइन्छ । त्यसपछि बिस्तारै निकालिन्छ । सुकाएर निकाल्दा कागज बनिसकेको हुन्छ । कुन साइजको माग भएको छ, कटिङ गरेर बजार पठाउने गरिन्छ । कतिपय कागज रातो, पहेँलो र निलो बनाउनुपर्यो भने रङहरूको प्रयोग गरिन्छ ।