नेपालले इन्जुरी समयमा बंगलादेशलाई रोक्यो

शुक्रबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

खेलको अन्तिम इन्जुरी समयमा अनन्त तामाङको उत्कृष्ट गोलको सहयोगमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार बंगलादेशलाई मैत्रीपूर्ण फुटबल प्रतियोगितामा २–२ को बराबरीमा रोक्न सफल भएको छ । फिफाको मान्यताप्राप्त एक मात्र मैत्रीपूर्ण खेलको निर्धारित समयसम्म नेपाल २–१ ले पछाडि थियो । ढाकास्थित ढाका नेसनल रंगशालामा हारतर्फ उन्मुख भइरहेको नेपालका लागि अनन्तले उत्कृष्ट कर्नर किकमा गोल गर्दै बंगलादेशलाई २–२ को बराबरी रोकेका हुन् । 

बंगलादेशको घरेलु मैदानमा नेपालले खेलको २९औँ मिनेटमा १–० को अग्रता लिएको थियो । नेपालका अनुभवी खेलाडी रोहित चन्दले डिबक्सबाहिरबाट सशक्त प्रहार गर्दै नेपाललाई अग्रता दिलाए । उनको करिअरको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । खेलको पहिलो हाफमा अग्रता लिएको नेपाल दोस्रो हाफको सुरुवातमै २–१ ले पछि पर्यो । 

खेलको ४६औँ मिनेटमा बंगलादेशका स्टार खेलाडी हम्जा चौधरीले एक्रोब्याटिकमा गोल गर्दै बंगलादेशलाई १–१ को बराबरीमा ल्याए । खेलको ४९औँ मिनेटमा हम्जाले पेनाल्टीमा गोल गर्दा बंगलादेश २–१ को स्थितिमा पुग्यो । डिबक्सभित्र नेपालका खेलाडीले बंगलादेशी खेलाडीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा हम्जाले नेपालका गोलरक्षक तथा कप्तान किरण चेम्जोङलाई विपरीत दिशामा डाइभ गराउँदै गोल गरेका हुन् । 

टोली जित्ने लगभग निश्चित भइसकेपछि बंगलादेशका मुख्य स्ट्राइकर हम्जाले अन्तिम समयमा मैदान छाडेका थिए । नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपालले अब १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दै छ । एसियन कपको छनोट चरणबाट बाहिरिसकेको नेपालले आफ्नो समूहमा जित निकाल्न सकेको छैन । नेपालले मलेसिया, लाओस र भियतनामसँग यसअघिका खेल गुमाएको थियो ।

See More On

सुझावित समाचार