मिटर ब्याजसम्बन्धी गुनासो सुन्ने र लिने जिल्लास्तरीय संयन्त्र सक्रिय बनाउन गृह मन्त्रालयको परिपत्र

बिहिबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं  सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी तीनवटा आयोगहरूको गठन र यसकाे खारेजी भएपछि, मिटरब्याजसम्बन्धी गुनासा र उजुरी दर्ताका लागि जिल्लास्तरीय संयन्त्र (समिति) क्रियाशील गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।  गृह मन्त्रालयका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक र जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रतिनिधि रहेको जिल्ला स्तरीय संयन्त्र (समिति) क्रियाशील गराउने निर्णय गरेको हो। 

आयोगको पदावधि सकिएपछि निष्क्रिय अवस्थामा रहेको अनुचित लेनदेन (मिटरब्याजी) गुनासो तथा उजुरीको कार्य पुनः अघि बढाउन भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालय र यसअन्तर्गतका निकाय (जिप्रका)हरूलाई जिल्लास्तरीय संयन्त्र गठन गरी क्रियाशील गराउन निर्देशन दिएका छन्। तीनवटा आयोगमध्ये पछिल्लो तीन सदस्यीय जाँचबुझ आयोगको अध्यक्षता बाबुराम रेग्मीले गरेका थिए। आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई थिए। रेग्मी नेतृत्वको आयोग ०८१ फागुन २६ गते गठन भई चैत १३ गतेबाट कार्य प्रारम्भ गरेको थियो । 

गृह मन्त्रालयका उपसचिव प्रेमप्रसाद दाहालद्वारा जारी परिपत्रमा भनिएको छ, ‘केही जिल्लाहरूमा आयोगको पदावधि सकिएसँगै  निष्क्रिय हुने गरेको देखिएकाले उक्त जिल्ला समितिले निरन्तर रूपमा प्रभावकारी ढंगले कार्यसम्पादन गर्न–गराउन हुन निर्णयअनुसार अनुरोध गरिएको छ।’ ०८० साउन १२ गते संघीय संसदबाट मुलुकी अपराध संहिता, २०७४ मा दफा २४९ ‘क’ थप गरी कानुनी व्यवस्थाअनुसार मिटर ब्याज कारोबारलाई कसुर जन्य अपराध कायम गरिसकेको छ। 

रेग्मी आयोगमा प्राप्त पछिल्लो उजुरी (२०८२ असार १२ गते सम्म) मा, ४३ जिल्लाबाट कुल प्राप्त ४१ हजार ४०९ उजुरी दर्ता भएकोमा, ६ हजार ३९३ उजुरी तथा गुनासो फर्स्याेट गरिएको छ भने अझै ३५ हजार १६ उजुरी फर्स्याेट हुन बाँकी रहेको रेग्मी प्रतिवेदनमा उल्लेख छ।
 

सुझावित समाचार