दोस्रो नेपाल प्रिमियर लिग : चन्द्रपाउलको आगमनले जनकपुर उत्साहित

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण
  • वेस्ट इन्डिजको टेस्ट टोलीबाट ११ हजारमाथि रन बटुलेका शिवनारायण चन्द्रपाउलको प्रशिक्षणमा डे«सिङ रुम थप बलियो हुने साविक विजेता जनकपुर बोल्ट्सको अपेक्षा

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा नाम चलेका विदेशी ब्याट्सम्यान र बलरले त्रिवि क्रिकेट मैदानमा आफ्नो अनुभव प्रस्तुत गर्नेछन् । त्यही नै वेस्ट इन्डिजका पूर्वदिग्गज ब्याट्सम्यान शिवनारायण चन्द्रपाउल भने फरक भूमिकामा बाउन्ड्री लाइनमा देखिनेछन् । कुनै वेला वेस्ट इन्डिजको एकदिवसीय र टेस्ट फर्म्याटका प्रमुख ब्याट्सम्यान रहिसकेका चन्द्रपाउल अहिले एनपिएलको साविक विजेता जनकपुर बोल्ट्ससँग मुख्य प्रशिक्षकको भूमिकामा जोडिएका छन् । 

चन्द्रपाउलले वेस्ट इन्डिजको टेस्ट टोलीबाट ३० शतक तथा ६६ अर्धशतकको सहयोगमा ११ हजार आठ सय ६७ रन तथा एकदिवसीय खेलमा ११ शतक र ५९ अर्धशतकीय इनिङ्सको मद्दतमा आठ हजार सात सय ७८ रन बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी चन्द्रपाउलले प्रशिक्षकका रूपमा जनकपुरका खेलाडीसँग अनुभव सेयर गर्नेछन् । जनकपुरले चन्द्रपाउलको आगमनसँगै टोलीको रणनीति बलियो हुने विश्वास राखेको छ । 

जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले एजेन्टको माध्यमबाट चन्द्रपाउलसँग सम्झौता गर्न सजिलो भएको बताए । ‘हामीले सहजै वेस्ट इन्डिजका पूर्वखेलाडी चन्द्रपाउलसँग सम्झौता गरेका छौँ,’ खतिवडाले भने, ‘उहाँको आगमनले हाम्रो डे«सिङ रुम बलियो भएको महसुस गरेको छु ।’ गत वर्ष जनकपुरले नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा उपाधि जितेको थियो । अहिले पुबुदु अर्काे एनपिएल फ्रेन्चाइज टोली विराटनगर किंग्समा पुगेका छन् । 

चन्द्रपाउलले यसै महिना सारजहाँमा भएको नेपाल र वेस्ट इन्डिजबिचको तीनवटा टी–२० आई सिरिज नजिकबाट नियालेको स्मरण गरे । उनले टी–२० फर्म्याटकै बलियो राष्ट्र वेस्ट इन्डिजलाई हराउनु नेपालको ऐतिहासिक प्रदर्शन भएको बताए ।

‘मैले वेस्ट इन्डिजविरुद्ध नेपालले सारजहाँमा खेलेको टी–२० खेल हेरेको थिएँ । त्यो सिरिज जित्नु नेपालको ठुलो सफलता हो,’ उनले भने, ‘नेपालको एकदिवसीय खेल पनि हेरेको छु ।’ बायाँहाते ब्याट्सम्यान चन्द्रपाउलले वेस्ट इन्डिजबाट एक सय ६४ टेस्ट र दुई सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । दुई दशकको अन्तर्राष्ट्रिय करिअरमा उनले क्यारेबियन प्रिमियर लिग भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेका थिए ।

सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन
एम्पायर इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसले सुदूरपश्चिम रोयल्ससँग स्टडी अब्रोड पार्टनरका रूपमा सम्झौता गरेको छ । एम्पायरकी अप्रेसन हेड आकृति केसी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सुदूरपश्चिमका सिइओ खड्काले एम्पायर इमा जोडिन पाउँदा खुसी लागेको बताए । अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतजस्ता प्रमुख गन्तव्यमा उच्च शिक्षा र भिसा आवेदन प्रक्रियामा सघाउने एम्पायर एजुकेसन एक परामर्शदाता कम्पनी हो । साविक उपविजेता सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी, हिक्मत महरालाई आइकोनिक खेलाडीका रूपमा सुदूरपश्चिमले छनोट गरेको छ । 

सौगत चितवनका आइकोनिक खेलाडी 
एनपिएलको फ्रेन्चाइज टोली चितवन राइनोजले दायाँहाते लेग स्पिनर सौगात ढकाललाई आइकोनिक खेलाडीका रूपमा चयन गरेको छ । चितवनले ट्यालेन्ट हन्टअन्तर्गत हेटौँडा, टाँडी र भरतपुरमा क्याम्प राखेको थियो । टोलीले अन्तिम छनोट भने गौतम बुद्ध रंगशालास्थित नमुना क्रिकेट मैदानमा गरेको हो । ट्यालेन्ट हन्टले नेपालका विभिन्न स्थानबाट उदाउँदा प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्य बोकेको चितवनले जनाएको छ । यसैगरी, दायाँहाते फास्ट बलर सक्रिया कार्की र नरेश प्रधानलाई डेभलपमेन्ट स्क्वाड खेलाडीका रूपमा चयन गरिएको छ । 

लुम्बिनीले यादवको स्थानमा सुमितलाई भित्र्यायो
लुम्बिनी लायन्सले मंगलबार ब्याट्सम्यान सुमित महर्जनलाई अनुबन्ध गरेको छ । यसअघि अक्सनमार्फत भित्रिएका विवेककुमार यादव घाइते भएपछि लुम्बिनीले सुमितलाई स्थान दिएको हो । 

सुमितले पहिलो संस्करणमा काठमाडौं गोर्खाजबाट खेलेका थिए । दोस्रो एनपिएलमा लुम्बिनीले आफ्नो पहिलो खेल ४ मंसिरमा चितवन राइनोजविरुद्ध खेल्नेछ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले सोमबारै मात्र अफगानिस्तानका गुल्वदिन नैवलाई भित्र्याएको थियो ।

See More On

सुझावित समाचार