- द्वन्द्वपछिको समाजमा महिलालाई सहभागी गराउँदा औसतमा द्वन्द्व पुनरावृत्तिको सम्भावना ११ प्रतिशतले घटेको अनुसन्धानले देखाएको छ
२५ वर्षअघि अक्टोबर ३१, २००० मा राष्ट्र संघले महिला, शान्ति र सुरक्षा (डब्लुपिएस)सम्बन्धी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव १३२५ अंगीकार गरेको थियो । प्रस्तावले ‘द्वन्द्वको रोकथाम र समाधान, शान्ति वार्ता, शान्ति स्थापना, मानवीय प्रतिक्रिया र द्वन्द्वपछि पुनर्निर्माणमा महिलाको महत्वपूर्ण भूमिका’लाई पुन: पुष्टि गर्यो । यसले ‘शान्ति सुरक्षा कायम राख्न र प्रवद्र्धनका लागि सबै प्रयासमा उनीहरूको समान सहभागिता र पूर्ण संलग्नताको महत्व’लाई पनि जोड दियो ।
दिगो शान्ति निर्माणमा महिलाहरूको महत्व निर्विवाद छ । शान्ति सम्झौतामा द्वन्द्वपछिको समाजमा महिलालाई समावेश गर्ने कदमले औसतमा द्वन्द्व पुनरावृत्तिको सम्भावना ११ प्रतिशतले घटेको हाम्रो अनुसन्धानले पत्ता लगाएको छ । अझ महत्वपूर्ण कुरा यदि यो प्रक्रिया संयुक्त राष्ट्र संघको नेतृत्वसँगै हुन्छ भने द्वन्द्व पुनरावृत्तिको सम्भावना ३७ प्रतिशतले घट्छ ।
तसर्थ, डब्लुपिएस १३२५ को वार्षिकोत्सव मनाउने एउटा कारण हुनुपर्छ । बरु, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर ६ मा महिला, शान्ति र सुरक्षासम्बन्धी सुरक्षा परिषद्को वार्षिक बहसमा आफ्नो प्रतिवेदन चेतावनीका साथ सार्वजनिक गरेका थिए । ‘द्वन्द्वमा परेका महिला र किशोरीहरूको जीवनमा वास्तविक परिवर्तनको कुरा आउँदा संयुक्त राष्ट्र संघ प्राय: चुक्छ,’ उनले भनेका थिए । उनले विशेषगरी शान्ति वार्तामा महिलाको समावेशीकरणको अभाव, यौन हिंसाबाट महिला र किशोरीलाई जोगाउनमा असफलता र महिला शान्ति निर्माणकर्ताको न्यून रकमबारे उल्लेख गरे ।
विगत २५ वर्षमा सुरक्षा परिषद्ले डब्लुपिएस १३२५ सँग सम्बन्धित लगभग एक हजार प्रस्ताव अंगीकार गरेको छ । सन् २०१५ मा प्रस्ताव २२४२ ले ‘सुरक्षा परिषद्को एजेन्डामा रहेका सबै देश–विशिष्ट परिस्थितिमा’ महिला, शान्ति र सुरक्षा एजेन्डाको थप व्यवस्थित एकीकरणको उद्देश्य राखेको थियो । यसलाई सहज बनाउन विज्ञहरूको अनौपचारिक समूह स्थापना गर्यो ।
महिला, शान्ति र सुरक्षा एजेन्डाले दिगो शान्ति स्थापनामा सकारात्मक प्रभाव पारेको कुरामा कुनै शंका छैन । ‘शान्ति सम्झौतामा लैंगिक प्रावधान बढी सामान्य भएको गुटेरेसले उल्लेख गरे । उनका अनुसार महिला संगठनले विश्वव्यापी समुदायमा द्वन्द्वपछिको मेलमिलापलाई रूपान्तरण गर्न सहयोग गरेका छन् ।’ महिला नेतृत्वको नागरिक समाज र महिला शान्ति निर्माता समग्र र दिगो शान्तिको पक्षमा रहेको उनको भनाइ छ । यद्यपि, २०२५ को सुरुमा संयुक्त राष्ट्र संघको महिला सर्वेक्षणअनुसार विदेशी सहायता बजेटमा विश्वव्यापी कटौतीले महिलालाई शान्ति र सुरक्षामा यी महत्वपूर्ण योगदान गर्न जटिल बनाउँछ ।
संयुक्त राष्ट्र शान्ति सेनाका लागि पनि यो अवस्था उत्तिकै चुनौतीपूर्ण छ । २०२५ को मध्यमा सञ्चयी बजेट घाटा लगभग २.७ अर्ब अमेरिकी डलर (२.०४ अर्ब युरो) थियो, जसमा अमेरिका, चीन र रुस तीन ठुला ऋणी थिए । विगत एक दशकमा शान्ति सेनाको बजेटमा २०१४–१५ मा ८.४ अर्ब अमेरिकी डलरबाट २०२४–२५ मा ५.२ अर्ब अमेरिकी डलरमा उल्लेखनीय कमी आए पनि सोही अवधिमा भुक्तानी नगरिएको योगदानको हिस्सा १३ प्रतिशतबाट ४१ प्रतिशतमा तीन गुणा बढी पुगेको छ । यी दुई प्रवृत्ति जारी रहे भने दिगो द्वन्द्व समाधानको सम्भावना नाटकीय रूपमा घट्नेछ ।
शान्ति पहलकर्ताको रूपमा महिला
गृहयुद्ध दोहोरिनबाट कसरी रोक्ने भन्ने कुरा खोजी गर्ने उद्देश्यले हामीले बारम्बारका गृहयुद्धमा १४ वटा लामो शान्ति प्रक्रियाको विश्लेषण गर्याैँ । यस विश्लेषणले पत्ता लगायो कि संयुक्त राष्ट्र संघले स्थानीय महिला संगठनसँग काम गर्दै शान्ति सम्झौता सम्पन्न गर्न र कार्यान्वयन गर्न प्रतिबद्ध बहुस्तरीय गठबन्धन सिर्जना गर्न र कायम राख्न सक्षम थियो । हामीले त्यसपछि यी निष्कर्षलाई विश्वव्यापी रूपमा भएका हिंसात्मक द्वन्द्वपछि सम्पन्न २८६ सम्झौताविरुद्ध तथ्यांकीय रूपमा परीक्षण गर्याैँ । यसले पुष्टि गर्यो कि संयुक्त राष्ट्र नेतृत्व र द्वन्द्वोत्तर समाजमा महिलाहरूको समावेशीकरणले पाँच वर्षभन्दा बढी समयसम्म शान्ति सम्झौता कायम रहने सम्भावनालाई उल्लेखनीय रूपमा बढाउँछ ।
अन्तमा, हामीले फिलिपिन्सको बांगसामोरो क्षेत्रका साथै बुरुन्डी, कोट डिआइवर, लाइबेरिया र सियरा लियोनमा शान्ति प्रक्रियाको गहन केस स्टडी गर्याैँ । त्यहाँ संयुक्त राष्ट्र संघ र महिला नेतृत्वमा रहेका संस्थाले गृहयुद्धहरू दोहोरिनबाट रोक्न कसरी सहयोग गर्न सक्छन् भनेर स्थापित गर्न सक्षम बनायो ।
महिलाको सहभागिताले पहिले सीमान्तकृत समूहको आवश्यकता र अनुभवलाई दृश्यात्मक बनाउन र शान्ति सम्झौतालाई सम्बोधन गर्न सहज बनाएको हामीले पायौँ । उदाहरणका लागि महिलाका लागि संयुक्त राष्ट्रसंघीय विकास कोष युनिफेमले २००० मा बुरुन्डीमा अरुशा शान्ति वार्ताको किनारमा सर्वदलीय महिला सम्मेलनलाई प्रायोजन गर्यो । त्यसपछिको शान्ति सम्झौतामा द्वन्द्वोत्तर समाजमा महिलाको सामाजिक–आर्थिक समावेशीकरण बढाउन व्यापक प्रावधान रहेका यसले सुनिश्चित गर्यो ।
संयुक्त राष्ट्र संघ र महिला नेतृत्वमा रहेका संस्थाले मिलेर काम गर्दा शान्ति प्रक्रियाबाट बाहिर रहेका व्यक्तिलाई यसको कार्यान्वयनमा संलग्न गराउन सकिन्छ । महिलाले शान्ति दिगो बनाउन कसरी योगदान पुर्याउन सक्छन् भन्ने विषय लाइबेरियाका शान्ति कुटीहरू (राष्ट्रसंघीय महिलाद्वारा समर्थित) केबल उदाहरण हुन् । परम्परागत लाइबेरियाली पलाभा कुटी प्रणालीबाट अनुकूलित शान्ति कुटीहरूले संवाद, विवादहरूको मध्यस्थता र जानकारीको साझेदारीका लागि स्थान प्रदान गर्छ । संयुक्त राष्ट्र संघ र महिला नेतृत्वमा रहेका संस्थाबिचको सहकार्यले दिगो शान्ति स्थापनामा महत्वपूर्ण योगदान गर्न सक्छ । यसले नयाँ हिंसात्मक द्वन्द्व बढ्नबाट रोक्न सक्छ । हामीले जाँच गरेका सबै शान्ति प्रक्रियामा सम्झौता हस्ताक्षर हुनुअघि हस्ताक्षरको समयमा र पछि संवादका लागि संयन्त्र सिर्जना गर्न महिला नेतृत्वमा रहेका नागरिक समाज संगठनहरू (प्राय: संयुक्त राष्ट्र संघद्वारा समर्थित) द्वारा खेलिएको प्रमुख भूमिकामा यो गतिशीलता स्पष्ट थियो ।
यसरी हाम्रो अनुसन्धान निष्कर्षले संयुक्त राष्ट्र संघको महिला, शान्ति र सुरक्षा एजेन्डाका धेरै आकांक्षाका लागि अनुभवजन्य समर्थन प्रदान गर्छ । तर, तिनीहरूले निष्क्रियताको कमजोर प्रगतिलाई पछाडि धकेल्ने जोखिम पनि देखाउँछ । संयुक्त राष्ट्र संघले असंख्य आलोचना सामना गरेको छ । तर, यो सम्भवत: शान्ति सम्झौताहरूको निष्कर्ष र दिगो कार्यान्वयनमा सहयोग गर्न कूटनीतिक, वित्तीय र सैन्य स्रोतहरूको उपयोग गर्न एक मात्र सक्षम संस्था हो भन्ने हाम्रो निष्कर्षले सुझाव दिन्छ ।
हाम्रो मुख्य निष्कर्ष यो हो कि गृहयुद्ध दोहोरिनबाट रोक्न सकिन्छ । तर, यदि दिगो शान्ति र पालनपोषण गर्न सक्ने मानिसलाई नै अशक्त बनाइयो भने यो हुनेछैन । सेप्टेम्बरमा वार्षिक संयुक्त राष्ट्र संघको महासभाको बहसमा विश्व नेताहरू शान्ति र द्वन्द्व समाधानप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिन लाइनमा उभिएका थिए । तर, यो प्रतिबद्धता प्रदर्शन गर्न उनीहरूले अटल कूटनीतिक र आर्थिक सहयोगमार्फत शान्ति प्रक्रियामा निर्णायक नेतृत्व प्रयोग गर्न संयुक्त राष्ट्रसंघलाई सक्षम बनाउन आवश्यक छ । र, उनीहरूले स्थानीय महिला संस्थाहरूमा लगानी गर्न आवश्यक छ, जसले भूमिमा दिगो र वैध शान्तिलाई सहज बनाउन सक्छ ।
– द कन्भर्सेसनबाट