मोहन नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

धनकुटा नगरपालिका– ४, छारागाउँमा उत्पादन हुँदै आएको मोहन नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै गएको छ । धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट जो–कोहीले पनि कोसेलीको रूपमा लैजाने गरिएको छ । बाहिर जिल्लाबाट धनकुटा आउने पाहुनाहरूले फर्कने समयमा नरिवल बिस्कुट लैजाने कारण मोहन नरिवल बिस्कुटको बिक्री राम्रो रहेको छ । धनकुटा नगरपालिका– ४, छारागाउँमा उत्पादन हुँदै आएको मोहन बिस्कुट उद्योग २००८ सालमा स्थापना भएको थियो। 

स्वर्गीय विश्वेश्वर श्रेष्ठले मोहन बिस्कुटको स्थापना गरेका थिए। देब्रेबासमा चियापसल सञ्चालन गर्दै आएका श्रेष्ठले ग्राहकको मागअनुसार भारतीय बिस्कुट ल्याएर बेच्ने गरेको र पसलमा चिया पिउन आउने ग्राहकको सल्लाहअनुसार बिस्कुट उत्पादन गर्न थालेको बताइएको छ । ससुराले उद्योग सुरु गरेकै कारण अहिले नरिवल बिस्कुट धनकुटाको कोसेलीको रूपमा परिचित हुँदै आएको मोहन बिस्कुट उद्योगकी सञ्चालिका मीना श्रेष्ठले बताइन्।

स्थानीय स्तरमा नै उत्पादित दूध, घिउ र मैदाबाट बन्ने बिस्कुट काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा उत्पादन गर्ने गरिन्छ। उक्त उद्योगमा नरिवल बिस्कुट, फुल केक, पिस केक, कोको, डोनट, पाउरोटी र बेकरीलगायतका परिकार उत्पादन हुने गर्दछ । धनकुटामा उत्पादित बिस्कुट धनकुटासहित छिमेकी जिल्लाहरूमा खपत हुने गर्दछ ।
   

सुझावित समाचार