विपतले बागमतीमा २२ करोडभन्दा बढीको धानबाली नष्ट, उत्पादन घट्ने

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशमा यो वर्ष धान उत्पादन उल्लेख्य रूपमा घट्ने अनुमान गरिएको छ । प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे प्रारम्भिक तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धानखेती गरिएको क्षेत्रफल र उत्पादकत्व दुवै घटेका छन् । गत आर्थिक वर्ष ०८१/८२ मा बागमती प्रदेशमा एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो, जसबाट चार लाख ४८ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार उक्त वर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ३.९ मेट्रिक टन रहेको थियो ।

तर, चालू आर्थिक वर्ष ०८२/८३ मा धानखेती घटेर एक लाख १२ हजार ४६० हेक्टरमा सीमित हुने अनुमान छ। यसअनुसार कुल धान उत्पादन झरेर चार लाख तीन हजार ६५० मेट्रिक टनमा सीमित हुने देखिएको छ। यस वर्ष उत्पादकत्व पनि घटेर प्रतिहेक्टर ३.६ मेट्रिक टन रहने अनुमान गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष करिब ४४ हजार ८५० मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा बागमती प्रदेशका १० जिल्लामा विपतका कारण धानबालीमा ठुलो क्षति पुगेको मन्त्रालयले जनाएको छ। असोज १८ देखि २० गतेसम्मको अविरल वर्षा र ‘मोन्था चक्रवात’को प्रभावले धानखेतीमा व्यापक असर पुर्याएको हो । मन्त्रालयका अनुसार यस वर्ष कुल पाँच हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ भने करिब १२ हजार २१४.२६ मेट्रिक टन धान नष्ट भएको छ। आर्थिक मूल्यमा रूपान्तरण गर्दा यो क्षति २२ करोड २४ लाख रुपैयाँबराबरको रहेको अनुमान गरिएको छ ।

सबैभन्दा बढी क्षति नुवाकोटमा भएको मन्त्रालयका प्रवक्ता कँडेलले जानकारी दिए । उनका अनुसार नुवाकोटमा मात्रै तीन हजार १२८.५८ हेक्टरमा लगाइएको धानखेती नष्ट हुँदा पाँच हजार ८७.२१ मेट्रिक टन धानबाली नष्ट भएको छ। यसबाट किसानलाई करिब एक करोड ८३ लाख रुपैयाँबराबरको नोक्सानी पुगेको छ । यसैगरी, रामेछापमा १३३.१० हेक्टर धानखेती प्रभावित हुँदा ५१४.१० मेट्रिक टन धान नष्ट भएको र किसानले एक करोड ६८ लाख रुपैयाँबराबरको क्षति व्यहोरेका छन् । सिन्धुलीमा एक हजार ९८ हेक्टर क्षेत्रफलमा धानखेती नष्ट भई तीन हजार ५८० मेट्रिक टन धानबाली क्षति भएको छ। यस जिल्लामा मात्रै एक करोड १७ लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।

यता दोलखामा ८३२.१७ हेक्टरमा लगाइएको धानखेती नष्ट हुँदा दुई हजार ३२४.५१ मेट्रिक टन उत्पादन ह्रास भएको छ। जसबाट ५४ लाख रुपैयाँबराबरको आर्थिक क्षति अनुमान गरिएको छ । यस्तै, धादिङमा ७९ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा २६९.५० मेट्रिक टन धान नष्ट हुँदा ८६ लाख रुपैयाँबराबरको नोक्सानी भएको छ ।

यसैगरी, प्रदेशको सिन्धुपाल्चोकमा १७ हेक्टरमा लगाइएको धानखेती प्रभावित हुँदा ४२.१२ मेट्रिक टन धान नष्ट भएको र १३ लाख ८६ हजार रुपैयाँबराबरको नोक्सानी भएको छ । यस्तै, रसुवा, मकवानपुर, काभ्रे र चितवनमा क्रमशः १५६.३०, १६, १४.५ र २० हेक्टर धानखेतीमा क्षति पुग्दा २५७.५२, ५१.२०, १२.५ र ७५.४० मेट्रिक टन धान नष्ट भएको मन्त्रालयले जनाएको छ ।

यी चार जिल्लामा मात्रै किसानले क्रमशः नाै लाख २७ हजार, १८ लाख १५ हजार, चार लाख १२ हजार र २६ लाख ७३ हजार रुपैयाँबराबरको क्षति व्यहोर्नुपरेको मन्त्रालयले जनाएको छ । प्रदेश कृषि मन्त्रालयका अनुसार लगातारको असिनापानी, पहिरो र बेसिजनको वर्षाका कारण यस वर्ष बाली सुकाउने, भित्र्याउने र भण्डारण गर्ने कार्यमा पनि किसान समस्यामा परेका छन् ।
 

सुझावित समाचार