- संविधानको मूल संरचना नै संसदीय भएकाले यसलाई परिवर्तन नगरी अहिले नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नु सम्भव देखिँदैन
नेपालमा पछिल्ला वर्षमा राजनीतिक अस्थिरता र बारम्बार सरकार परिवर्तनले नागरिकमा निराशा बढाएको छ । प्रत्येक केही वर्षमै प्रधानमन्त्री फेरिने र नीति निरन्तरता नहुने अवस्थाले सुशासन र स्थायित्वप्रति प्रश्न उठाएको छ । यस्तो पृष्ठभूमिमा ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली’, अर्थात् जनताले सीधै प्रधानमन्त्री चुन्ने व्यवस्थाको चर्चा फेरि जीवित बनेको छ । तर, यस्तो प्रणाली नेपालको वर्तमान संविधान र राजनीतिक ढाँचाभित्र कत्तिको सम्भव छ भन्ने प्रश्न गम्भीर रूपमा उठिरहेको छ ।
नेपालको संविधान २०७२ ले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणालीलाई नै मुख्य आधार बनाएको छ । संविधानको धारा ७४ ले स्पष्ट रूपमा नेपालको शासन प्रणाली संसदीय हुनेछ भनी व्यवस्था गरेको छ । कार्यपालिका संसद्बाट बन्छ र त्यसकै विश्वासमा चल्छ । यही व्यवस्था प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको मूल अवरोध हो, किनभने त्यसमा प्रधानमन्त्री संसद्बाट होइन, जनताबाट सीधै चुनिन्छ । संविधानको धारा ७५ अनुसार संघीय कार्यपालिकाको प्रमुख प्रधानमन्त्री हुन्, जो प्रतिनिधिसभाका सदस्यबाट बहुमतका आधारमा चयन गरिन्छ । प्रधानमन्त्री बन्न संसद्को सदस्य हुन अनिवार्य हुन्छ, तर प्रत्यक्ष निर्वाचित प्रणालीमा प्रधानमन्त्री संसद्को सदस्य नहुन पनि सक्छ । यसैले, यो धारा संशोधन नगरी यस्तो प्रणाली लागू गर्न सम्भव छैन ।
त्यसैगरी, संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रियाको व्यवस्था गरेको छ, जसअनुसार प्रधानमन्त्री संसद्को गणित र बहुमतमा निर्भर हुन्छन् । प्रत्यक्ष निर्वाचित प्रणालीमा भने प्रधानमन्त्री जनताबाट सीधै निर्वाचित हुने भएकाले यो प्रावधान पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ । संविधानको धारा १०० अनुसार प्रधानमन्त्रीले संसद्को विश्वास लिनुपर्छ, र यदि विश्वास गुमे उनको पद समाप्त हुन्छ । यसले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउँछ, तर प्रत्यक्ष निर्वाचित प्रणालीमा प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुने भएकाले संसद्को विश्वास आवश्यक रहनेछैन, त्यसैले यो प्रावधान पनि असंगत बन्छ ।
त्यस्तै, ऐ.ऐ. धाराको उप–धारा ४ ले संसद्लाई प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अधिकार दिएको छ । यसले प्रधानमन्त्री संसद्को नियन्त्रणमा रहोस् भन्ने सुनिश्चित गर्छ । तर, प्रत्यक्ष निर्वाचित प्रणालीमा प्रधानमन्त्री जनताबाट सीधै निर्वाचित हुने भएकाले संसद्को यस्तो अविश्वास प्रस्ताव प्रभावहीन हुनेछ ।
अन्तत: धारा २७४ ले संविधान संशोधनका लागि आवश्यक प्रक्रियाको व्यवस्था गरेको छ, जसमा संसद्को दुईतिहाइ बहुमत र सातै प्रदेश सभाको सहमति आवश्यक हुन्छ । त्यसैले, यस्तो प्रणाली लागू गर्न राजनीतिक रूपमा अत्यन्त कठिन र समयसाध्य प्रक्रिया हुनेछ ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीका केही सम्भावित फाइदा पनि छन् । यस्तो प्रणालीले दीर्घकालीन राजनीतिक स्थायित्व ल्याउन सक्छ, किनभने प्रधानमन्त्री निश्चित कार्यकालका लागि रहन्छन् । बारम्बार सरकार ढल्ने समस्या अन्त्य भई नीति र योजनाले निरन्तरता पाउन सक्छ । साथै, जनताले सीधै प्रधानमन्त्री छान्ने भएकाले नेतृत्व जनताप्रति बढी जवाफदेही हुन्छ र सरकारको वैधानिकता बलियो बन्छ । यसले निर्णय क्षमतामा पनि स्पष्टता ल्याउँछ, किनभने गठबन्धन र दलगत विवाद घट्न सक्छ । तर, यस प्रणालीसँग ठुला चुनौती पनि छन् । प्रधानमन्त्री सीधै जनताबाट निर्वाचित भएपछि संसद्मा बहुमत नपाए शासन सञ्चालनमा द्वन्द्व उत्पन्न हुन सक्छ । यसले कार्यपालिका र विधायिकाबिच टकराव निम्त्याउन सक्छ । त्यस्तै, संसद्ले प्रधानमन्त्रीलाई नियन्त्रण गर्न नसक्ने हुँदा लोकतान्त्रिक सन्तुलन कमजोर हुन सक्छ । प्रधानमन्त्रीले ‘जनताको म्यान्डेट’ भन्दै संसद्का निर्णय बेवास्ता गर्न सक्छन्, जसले शक्ति सन्तुलनको संकट ल्याउन सक्छ । साथै, अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदा शक्ति केन्द्रीकरणको जोखिम बढ्छ, जुन लोकतन्त्रका लागि खतरनाक हुन सक्छ ।
अन्तर्राष्ट्रिय अनुभवले पनि देखाउँछ कि यस्तो प्रणाली सजिलो छैन । इजरायलले सन् १९९६ देखि २००१ सम्म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागू गरेको थियो । यस प्रणालीमा जनताले अलग–अलग रूपमा प्रधानमन्त्री र संसद्का सदस्यलाई मतदान गर्थे । तर, यसले दलगत विखण्डन बढाउँदै लग्यो, जसका कारण सरकारहरू कमजोर र अस्थिर बन्दै गए । अन्तत: सन् २००१ पछि उक्त प्रणाली खारेज गरी इजरायल पुन: परम्परागत संसदीय प्रणालीमा फर्कियो ।
नेपालका सन्दर्भमा अहिले यस्तो प्रणाली लागू गर्नु व्यावहारिक रूपमा सम्भव देखिँदैन । संविधानको मूल संरचना संसदीय भएकाले यसलाई परिवर्तन गर्न राजनीतिक दलहरूको सर्वसम्मति आवश्यक छ । संविधान संशोधन प्रक्रिया कठिन छ, जसका लागि दुईतिहाइ बहुमत मात्र होइन, सातै प्रदेश सभाको अनुमोदन पनि अनिवार्य छ । दलगत विभाजन र अस्थिर राजनीतिक वातावरणमा यस्तो सहमति सम्भव देखिँदैन । साथै, संविधान अझै स्थायित्वको चरणमै भएकाले अहिले शासन प्रणालीमा आमूल परिवर्तन गर्नु उचित देखिँदैन । तर, दीर्घकालीन दृष्टिमा राजनीतिक स्थायित्व र उत्तरदायित्व सन्तुलनमा राख्ने उपायका रूपमा अर्ध–राष्ट्रपतीय प्रणालीजस्ता वैकल्पिक बहस अघि बढ्न सक्छन् । यसले प्रधानमन्त्री र राष्ट्रपतिबिच शक्ति बाँडफाँड गर्ने र जनताको प्रत्यक्ष सहभागिता कायम राख्ने अवसर दिन सक्छ । अन्तत: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली स्थायित्व र जनप्रतिनिधित्वका दृष्टिले आकर्षक देखिए पनि नेपालको संवैधानिक र राजनीतिक यथार्थले तत्काल यसको बाटो बन्दजस्तै बनाएको छ । स्थायित्वको खोजी लोकतन्त्रको मूल्य र शक्ति सन्तुलन गुमाएर गर्न नहुने भएकाले अहिलेको सन्दर्भमा यस्तो प्रणाली लागू गर्नु संवैधानिक रूपमा कठिन र राजनीतिक रूपमा असम्भव देखिन्छ ।
(न्यौपाने अधिवक्ता हुन्)