कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचनअघि नै महाधिवेशनमा जानुपर्ने अधिकांश सदस्यहरूको मत

बिहिबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

कांग्रेसमा निर्वाचनभन्दा पहिला महाधिवेशनमा जानुपर्ने मत बलियो बन्दै गएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा यसअघि र बुधबार बोल्ने अधिकांश नेताले निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशनमा जोड दिएका छन् । 

मंगलबार पार्टी महामन्त्री गगनकुमार थापाले प्रस्ताव गरेको १६–१९ पुसमा महाधिवेशन गर्ने प्रस्ताव तथा व्यक्तिगत तवरले सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता महाधिवेशन गर्ने धारणाबारे पदाधिकारीसहित २२ जनाले बोलेका थिए । नेताहरूले महामन्त्री थापा र सहमहामन्त्री यादवले राखेको प्रस्तावको पक्ष–विपक्षमा रहेर धारणा राखेपछि महाधिवेशनको विषय पेचिलो बनेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारको बैठकमा सहमहामन्त्री फर्मुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङगेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर केसी, अब्दुल सत्तार, उदयशमशेर राणा, अञ्जनी श्रेष्ठ, जाबेदा खातुन जागा, डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, चम्पादेवी खड्का, सुशीला ढकाल (आचार्य), गंगा शाही र सीतादेवी देवकोटाले बोलेका थिए । 

बैठकमा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र केन्द्रीय सदस्य तारामान गुरुङले महामन्त्री थापालाई पार्टी सभापति बनाउनुपर्ने र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् । संस्थापननिकट मानिने सहमहामन्त्री मन्सुरले महामन्त्री थापालाई देशले खोजेको व्यक्ति भन्दै सभापति बनाउनुपर्ने बताए । ‘देशले, युवा पुस्ताले खोजेका महामन्त्री गगन थापालाई अबको महाधिवेशनबाट पार्टी सभापति बनाउँ, त्यसपछि उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा जाऊँ,’ मन्सुरको भनाइ उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने । 

केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टी महाधिवेशन तत्कालै हुनुपर्ने र सबै मुद्दा टुंग्याएर चुनावमा जानुपर्ने बताए । ‘चुनावमा यत्तिकै जान सकिन्छ ? यथास्थितिमा जाँदा जनताले भोट दिन्छन् ?’ शेर्पाले प्रश्न गर्दै भने । 

अर्का केन्द्रीय सदस्य उदयशमशेर राणाले सभापति शेरबहादुर देउवाले भनिसकेकाले समयमै नियमित महाधिवशेन गर्नुपर्ने बताए । ‘सभापतिले भनेअनुसार समयमै महाधिवेशन गरौँ । सबै तहका अधिवेशन गरौँ,’ राणाले भने । यद्यपि, उनले विशेष महाधिवेशनको मागमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । 

केन्द्रीय सदस्य मदन अमात्यले सभापति देउवालाई मान्छु, परिवार (श्रीमती)लाई मान्दिनँ भन्दै देउवापत्नी आरजुको आलोचना गरेका थिए । ‘पार्टीमा विद्रोहलाई कसैले रोक्न सक्दैन । मंसिरमा महाधिवेशन गर्न तपाईंहरू किन डराउने ? अझै पनि टिकट बाँडेर पैसा उठाउने नियत राखेको ? होइन भने महाधिवेशन किन सुरु नगर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो महाधिवेशनबाट प्रचण्ड र ओली नेतृत्वमा आउने होइन, हाम्रै नेता आउने हो । किन डराउनुपर्ने ?’ 

केन्द्रीय सदस्य तारामान गुरुङले आफू कृष्णप्रसाद सिटौलाको कार्यकर्ता भएको, तर अहिले उनको लाइनमा नभएको उद्घोष गरे । ‘गगन थापाजीलाई अघि बढाउने मागको पक्षमा छु । गगनलाई पार्टी सभापति बनाएर अघि बढ्नुपर्छ भन्नेमा समर्थन गर्छु,’ उनले भने ।

केन्द्रीय सदस्य अब्दुल सत्तारले नेता कृष्णप्रसाद सिटौलाको आलोचना गरे । सिटौलाले मंगलबार महामन्त्री थापाको आलोचना गरेकोमा सत्तारले उनलाई लक्षित गर्दै भने, ‘महाधिवेशन गर्छु भन्ने महामन्त्रीलाई सघाउने कि रोक्ने हो ? महाधिवेशन गर्न सक्छु भनिरहेका महामन्त्रीलाई सघाउने पो हो त, हुँदैन भनेर रोक्न खोज्ने?’ 

केन्द्रीय सदस्य शंकर भण्डारीले विशेष राजनीतिक प्रस्ताव भन्दै हिन्दु राष्ट्रको पक्षमा अडान राखे । उनले पूर्वराजासहितको बृहत् राजनीतिक छलफलबाट देशलाई निकास दिनुपर्ने बताए । उनले देशको राजनीति तरल र जटिल भएको उल्लेख गर्दै देश बचाउन, प्रजातन्त्रलाई गति दिन मेलमिलापको नीतिअनुसार अघि बढ्नुपर्ने बताए । 

बिपी, सुवर्णशमशेर, किसुनजीलगायत नेतालाई स्मरण गर्दै राष्ट्रिय एकता र मेलमिलापको अधीनमा रहेर प्रजातान्त्रिक, राष्ट्रिय शक्ति र पुरानो राजसंस्थालाई समेत एकै ठाउँमा ल्याउनुपर्ने उनले प्रस्ताव गरेका छन् । केही दिनअघि पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि यही प्रस्ताव राखेको उनले स्मरण गराएका थिए । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनि उमेर समूहका व्यक्तिलाई ठाउँ दिनुपर्ने बताए । उनले पार्टी कार्यकर्ताको भावनाअनुसार मंसिरभित्रै नियमित वा विशेष महाधिवेशनमा जानुको विकल्प नभएको स्मरण गराएका थिए । 

नेता जीवनबहादुर शाहीले पार्टीका पूर्वपदाधिकारीहरू समयअनुसार चल्न नसकेको भन्दै आपत्ति जनाए । उनले समय र जेन–जीको मागअनुसार पार्टी चल्नुपर्ने भन्दै निर्वाचनअघि नै महाधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्ने धारणा राखे । 

सीतादेवी देवकोटा, अञ्जनी पोखरेलले विशेष महाधिवेशनको विरोध गरेका थिए । केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले महाधिवेशनको मितिबारे मौनता साँधेर धारणा राखेका थिए । केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्नेछ । केन्द्रीय समिति बैठक अझै दुई–तीनसम्म लम्बिने नेता जितजंग बस्नेतले जानकारी दिए । ‘नेताहरूले बोल्ने क्रम सकिएको छैन । त्यही भएर अझै दुई–तीन दिन बैठक लम्बिन सक्छ,’ उनले भने ।

महाधिवेशनका लागि बढ्दो दबाब
कांग्रेसमा समयमै महाधिवेशन गर्न दबाब बढ्दो छ । मंगलबार विशेष महाधिवेशनका पक्षधरले नयाँबानेश्वरमा भेला गरी केन्द्रीय समिति बैठकले चाँडो निर्णय गर्न दबाब दिएका थिए । विशेष महाधिवेशनको माग गर्दै २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले प्रतिनिधिको विचारको अवमूल्यन नगर्न चेतावनी दिएका थिए । भेलामा केन्द्रीय सदस्यहरू, काठमाडौं, ललितपुर, सिन्धुपाल्चोकका कांग्रेस सभापति, लुम्बिनी प्रदेशका सभापतिलगायतको उपस्थिति थियो । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा समयमै महाधिवेशनका लागि दबाब दिन कांग्रेसको एक समूहले भेला आयोजना गरेको छ । ‘समयमै महाधिवेशन गराउन भन्दै दबाब दिन भेला आयोजना गरेका हौँ,’ कांग्रेस बागलुङका सभापति जित शेरचनले भने ।

सुझावित समाचार