मानिसका विचार तथा व्यवहार निर्माणमा सामाजिक सञ्जाल प्रमुख माध्यम बनेको छ । यतिवेला संसारका बहुसंख्यक मानिसलाई सञ्जालले निकै व्यस्त बनाएको पनि छ । तर, सञ्जालको एल्गोरिदमले कुराकानीलाई हाइज्याक गर्न सक्ने, सूचनालाई अस्वाभाविक हेरफेर गरी प्रयोगकर्ताको निर्णय प्रकृयालाई समेत प्रभावित गर्न सक्ने हुँदा निकै आलोचित पनि हुँदै आएको छ । खासगरी, भ्रामक सूचनाको प्रसारका कारण राजनीतिक तथा सामाजिक क्षेत्रमा भएका उथलपुथलले यसको उपयोगप्रति गम्भीर बहस हुनुपर्ने देखिन्छ ।
एल्गोरिदम र मनोविज्ञानको सम्बन्ध : सामाजिक सञ्जालका एल्गोरिदम मानिसको मनोविज्ञानका आधारमा निर्माण गरिएका हुन्छन् । अधिक मानिसलाई अधिकतम रूपमा सञ्जालमा व्यस्त गराउने मुख्य व्यापारिक उद्देश्यका साथ एल्गोरिदम डिजाइन गरिएको हुन्छ । अहिलेको युगको बिजनेस मोडेल नै ध्यानको अर्थतन्त्र हो । अर्थात्, जहाँ मानिसको ध्यानलाई मूल्यवान् स्रोत मानेर त्यसलाई आकर्षित गर्न र उपयोग गर्न प्रतिस्पर्धा गरिन्छ । एल्गोरिदमले व्यक्तिका हरेक गतिविधिको रेकर्ड लिन्छ । तिनीहरूलाई सूक्ष्म रूपले विश्लेषण गर्छ । पूर्ववत् क्रियाकलापका आधारमा व्यक्तिका रुचि, संवेग, छनोट, सम्बन्ध आदिलाई गहिरो गरी विश्लेषण गर्छ । मनोवैज्ञानिक धरातल पत्ता लगाउँछ । जुन कुराले त्यो व्यक्तिको ध्यान आफूतर्फ खिच्न र टिकाउन सघाउँछ, त्यसैलाई प्रयोग गर्छ । अर्थात्, जुन कन्टेन्टले त्यो व्यक्तिलाई सन्तुष्ट वा आकर्षित गर्छ, त्यस्तै सूचना दिन थाल्छ । अनि व्यक्ति त्यसैमा रमाउन थाल्छ ।
त्यसैगरी, एल्गोरिदममा इको चेम्बर्स र बबल फिल्टरको डिजाइन पनि हुन्छ, जसले गर्दा एउटै विचार, विश्वास र मत मात्रै दोहोर्याएर पठाउने गर्छ । रुचि र अघिल्लो गतिविधिका आधारमा फरक विचार लुकाएर केवल मनपर्ने सामग्री मात्रै देखाउने गर्छ । जस्तै– कसैले आक्रामक भाषण सुन्ने गरेको छ भने एल्गोरिदमले खोजी–खोजी त्यस्तै भिडियो पठाउँछ । शान्त र सन्तुलित भाषण लुकाउँछ । जब व्यक्ति कुनै अतिवादी कन्टेन्टसँग बढी सम्पर्कमा आउँछ, एल्गोरिदमले त्यस्तै सूचना मात्रै दिँदै जान्छ । अनि, उसलाई सबैले यस्तै सोच्छन् भन्ने लाग्न थाल्छ । यसको अर्को डिजाइन भनेको व्यस्तताको गति, अर्थात् कुनै विषयमा जति छिटो लाइक, कमेन्ट र सेयर गरिन्छ, त्यति छिटो फैलिन्छ । जुन कन्टेन्टले छिटो धेरैको ध्यान खिच्न सक्छ, त्यसलाई एल्गोरिदमले महत्व दिन्छ र ‘अटो बुस्ट’ गर्दै जान्छ ।
उद्विकासीय हिसाबले पनि खतरा र नकारात्मक जानकारीतर्फ छिटो ध्यान जाने गरी मानिसको मस्तिष्क विकसित भएको हुन्छ । किनभने, बाँच्नका लागि त्यो अत्यन्तै आवश्यक थियो । खतरा र नकारात्मक सूचनामा छिटो ध्यान जाने हुँदा एल्गोरिदमले पनि सत्यभन्दा गलत सूचनालाई प्राथमिकता दिन्छ । एमआइटीले सन् २०१८ मा गरेको अनुसन्धानले सत्यभन्दा भ्रामक सूचना ६ गुना छिटो फैलन्छ भन्ने देखाएको छ । इतिहासविद् युवल नोवा हरारीले लोभ, डर र घृणा जगाउने सूचनाले मानिसको ध्यान छिटो खिच्छ भनेका छन् । तथ्य नजाँची व्यस्तताको मात्रै मापन गर्ने हुँदा, आक्रामक र भ्रामक सूचनालाई एल्गोरिदमले प्रवद्र्धन गर्छ । ‘रिकोमेन्ड’ गर्छ, ‘अटो प्ले’ गर्छ र धेरै मानिससामु पुर्याउँछ ।
हामीले ज्ञानेन्द्रियमार्फत सूचना प्राप्त गर्छौं । त्यो सूचना एउटा प्रक्रियाबाट उच्च संवेगात्मक कार्यहरू, जस्तै– निर्णय लिने, संवेग नियन्त्रण गर्ने मस्तिष्कका ‘प्रिफ्रन्टल कर्टेक्स’ र ‘एन्टेरिअर कर्टेक्स’मा जान्छन् । मस्तिष्कमा एउटा ‘एमिथ्डेला’ भन्ने भाग हुन्छ, जुन संवेदनात्मक सूचनाप्रति प्रतिक्रियात्मक देखिन्छ । यसले रिस, आवेग र उत्तेजनायुक्त सूचनाप्रति प्रतिक्रियात्मक व्यवहार गर्न निर्देशन दिन्छ । जब यो भाग आवेगप्रेरित सूचनासँग बढी एक्स्पोजर हुँदै जान्छ, तब यसले यस्ता सूचनालाई थप बुझाइका लागि अगाडि नबढाएर आफैँले भाग्न वा लड्नका लागि निर्देशित गर्छ । परिणामस्वरूप मानिसले कुनै उत्तेजनाप्रति आक्रामक व्यवहार गर्दै जान्छ । यस्तो अवस्थालाई ‘एमिग्डेला हाइज्याक’ भनिन्छ । सञ्जालका भ्रामक सूचनाले मानिसको एमिग्डेला हाइज्याक गर्न प्रेरित गर्छ, जहाँ विवेक वा समालोचना कमजोर हुन्छ ।
सञ्जालका भ्रामक सूचनाले रुसको इन्टरनेट रिसर्च एजेन्सीका माध्यमबाट सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा व्यापक प्रभाव पारेको तथ्य मुलर तृतीयको रिपोर्ट, २०१९ ले प्रस्ट पार्छ । जहाँ रुसी सरकारको सहयोगमा उक्त संस्थाले डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनको ‘क्याम्पेन’का इमेल र अन्य सूचना ‘ह्याक’ गरी उनलाई कमजोर बनाउने र ती सूचना ट्रम्पको क्याम्पेनलाई सहयोग गर्ने गरी प्रसार गरेको देखियो । हिलारी क्लिन्टनको उनले विदेशमन्त्री हुँदा प्रयोग गरेको इमेल ह्याक गरी उल्टो उनले सूचना बाहिर पठाएको भनी भ्रमपूर्ण जानकारी प्रसारित गरेर जनमत भड्काइयो । त्यो तथ्यहीन थियो भन्ने पछि प्रमाणित भयो । तर, त्यतिन्जेल नतिजा उल्टिसकेको थियो । त्यसपछिको सामाजिक सञ्जालको युगलाई ‘पोस्ट ट्रुथ’ युग पनि भनेर चिनिन्छ ।
त्यसैगरी, सन् २०१६–२०१७ मा म्यानमारमा त्यहाँका अल्पसंख्यक रोहिंग्या समुदायविरुद्ध केही बौद्ध अतिवादी समूहले सुरुमा आक्रामक भिडियो बनाई फेसबुकमा राखे । त्यो छिटो फैलियो । बौद्ध समुदायलाई आक्रामक बनाइयो । रोहिंग्यामाथि आक्रमण सुरु भयो । सात हजारभन्दा बढीको मृत्यु भयो, लाखौँ विस्थापित भए । पछि अध्ययन हुँदा संयुक्त राष्ट्र संघको ‘फ्याक्ट फाइन्डिङ मिसन’ले त्यस घटनाका पछाडि फेसबुकको एल्गोरिदमले घृणित सूचना फैलाउन सघाएको निष्कर्ष निकाल्यो । फेसबुक आफैँले पनि आन्तरिक अनुसन्धान गरी त्यो घटनामा ७० प्रतिशत भिडियो ‘अटो प्ले’ भएको भेट्टायो । त्यस्तै बंगलादेश र श्रीलंकाका हिंसात्मक घटना सामाजिक सञ्जालको एल्गोरिदमकै कारण भड्किएको प्रमाणित भइसकेको छ । यी घटनाले एल्गोरिदमले अतिवादी र भ्रामक सूचनालाई बढावा दिन्छ भन्ने पुष्टि गर्छ । नेपालको जेन–जी आन्दोलनमा भएका हिंसाको एउटा प्रमुख कारण सामाजिक सञ्जालको एल्गोरिदम थियो भन्न सकिन्छ । जब समाजका निम्न तीन अवस्थासँग सामाजिक सञ्जालको मिलान हुन्छ, तब भ्रामक सूचनाले समाजमा गहिरो प्रभाव पार्छ ।
कमजोर डिजिटल साक्षरता : सुरजातमोर्गोलगायतको २०२४ को रिभ्यु अनुसन्धानले ७० प्रतिशत अनुसन्धानले कमजोर डिजिटल साक्षरता भएको समाजमा सामाजिक सञ्जालबाट भ्रामक सूचना फैलने देखाएका छन् । नेपालजस्तो डिजिटल साक्षरता र समालोचनात्मक चेतनाको अवस्था कमजोर भएको देशमा सामाजिक सञ्जाल भ्रामक सूचना फैलाउने मुख्य माध्यम बन्नु अनौठो होइन । अझ भोसोग्हीलगायतको २०१८ को अनुसन्धानले ७० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्तामा सत्य र गलत सूचना छुट्याउने सामर्थ्य नभएको देखाएको छ । जति बढी अशिक्षा त्यति नै बढी यस्तो सामर्थ्य कमजोर हुने हुँदा नेपालमा ठुलो जनसंख्याले भ्रामक सूचनाको बलमा आफ्नो विचार र व्यवहार निर्माण गर्ने गरेको देखिनु सोचनीय विषय हो ।
राजनीतिक तथा सामाजिक ध्रुवीकरण : राजनीतिक तथा सामाजिक ध्रुवीकरण बढी भएको समाजमा सामाजिक सञ्जालबाट भ्रामक सूचना फैलाउने सम्भावना अत्यधिक हुने अनुसन्धानले देखाउँछन् । सुरजातमोर्गोलगायतको अनुसन्धानले ६७ प्रतिशत भ्रामक र गलत सूचनाका आधारमा दलहरूले चुनावमा मतदाताको विचारलाई प्रभावित गर्ने गरेको देखाएको छ । नेपालमा बहुसंख्यक मानिसमा राजनीतिक तटस्थताभन्दा आबद्धता बढी छ । वैचारिकभन्दा बढी दलगत ध्रुवीकरण छ, जहाँ कुनै दलले अरू दलको घृणा गरी जनतालाई आफ्नो ध्रुवमा पार्ने र व्यक्ति पनि आफ्नो आबद्धताको पुष्टि गर्न त्यही खेलमा लाग्ने हुन्छ । अझ प्रियतावादी सस्ता कुराले मानिसलाई छिटो प्रभावित गर्छ । समाजमा बहुसंख्यामा रहेका मानिसका अति सतही तथा अन्धविश्वासका जगमा निर्मित चेतना सतहमा आउने र अल्पसंख्यकको आवाजलाई दबाउने काममा सञ्जालको एल्गोरिदमले सघाएको हुन्छ । यसो हुँदा सञ्जालका सूचना र मत समाजको वास्तिवक प्रतिनिधिमूलक आवाज नभएर निश्चित कुलीनहरूको स्वार्थ, लोभ र आवेगप्रेरित दूषित सूचना हुन सक्छन् ।
राज्य र संस्थाप्रतिको विश्वासमा कमी : जुन देशमा जनताको विश्वास राज्यसत्ता वा संस्थाप्रति कम हुन्छ, त्यहाँ भ्रामक सूचना फैलाउने सम्भावना बढी हुन्छ । अनुसन्धानको रिभ्युअनुसार सञ्जालबाट प्रेषित भ्रामक सूचनाका कारण ७३ प्रतिशतले राज्य र संस्थाप्रतिको जनविश्वास कमजोर भएको देखाएका छन् । अहिले नेपालमा पनि राज्य संयन्त्र वा संस्थालाई कमजोर बनाउने गरी भ्रामक सूचनाले गहिरो प्रभाव पारेका छन् । जेन–जी आन्दोलनपछि संस्थागत विश्वास झन् कमजोर हुँदै गएको छ । एकातिर संस्थाप्रतिको कमजोर जनविश्वासका कारण गलत सूचना फैलिएका छन् भने अर्कातिर भ्रामक सूचनाका कारण संस्था कमजोर हुँदै गएका छन् ।
समालोचनात्मक चेतको ह्रास र चुपको संस्कृति : समालोचना भनेको विरोध, समर्थन वा दुवैको मिश्रण मात्रै होइन, बरु घटनालाई द्वन्द्वात्मक रूपमा हेर्नु हो । अथवा, कुनै घटना वा परिणामका कारण हुन्छन्, ती कारण तात्कालिक मात्रै नभएर मूलत: ऐतिहासिक हुन्छन् । घटनाका परिणाम सामान्य आँखाले पनि देख्न सकिन्छ । तर, त्यसको ऐतिहासिक कारक बुझ्न समालोचनात्मक चेत चाहिन्छ । यसका लागि गहन अध्ययनका साथै धैर्य र बहुकोणबाट विश्लेषण चाहिन्छ । सूचनाको बाढी र गलत सूचनाको बलमा विकसित भएको सतही बुझाइ, र सामाजिक सञ्लाजको अति प्रयोगको कारण ‘एमिग्डेला हाइज्याक’ भई आवेगप्रेरित तीव्र प्रतिक्रियात्मक बन्ने भएपछि मानिसमा समालोचनात्मक चेत कुण्ठित हुँदै जान्छ । समाजका बहुसंख्यक मानिसमा समालोचनात्मक चेतभन्दा सीधै विश्वास गर्ने प्रवृत्ति हुन्छ । किनकि, विश्वास गर्न सजिलो हुन्छ, सत्य बुझ्न गाह्रो हुन्छ । त्यसैले धेरै मानिसले सजिलो बाटो रोज्छन् ।
अर्कातिर सत्यमा आधारित समालोचनात्मक चेतनामूलक सूचना किन कम आउँछन् वा किन बौद्धिकहरू चुप लाग्छन् सञ्जालमा भन्ने प्रश्न उठ्छ । यसो हुनुमा पहिलो सत्य सूचनाले मानिसको ध्यान कम खिच्ने हुँदा एल्गोरिदमले त्यस्ता सूचनालाई लुकाउँदै, कमजोर बनाउँदै जान्छ । दोस्रो, सत्य सूचनामा अतिवादी भ्रामक सूचनाको प्रहार भएपछि समालोचकहरू पछि हट्छन् । यहाँ व्यवहारवादी मनोविज्ञानले काम गर्छ । मतलब पुरस्कारले प्रतिक्रियाको दरलाई बढाउँछ भने दण्डले घटाउँछ । यहाँ सामाजिक सञ्जालका सकारात्मक ‘कमेन्ट’ पुरस्कार हुन्, जसले मानिसको प्रतिक्रियाको दर बढाउँछ । नकारात्मक कमेन्ट दण्ड हुन् जसले प्रतिक्रियाको दरलाई घटाउँछ । अब हाईहाई पाएपछि सतही तर अतिवादी प्रतिक्रियाको दर बढ्ने र गाली खाएपछि समालोचनात्मक क्रिया वा प्रतिक्रियाको दर घट्ने हुन्छ । अथवा, चुप लाग्ने हुन्छ । जब सत्य चुप हुन्छ, तब अराजकता, अस्थिरता र तरलताले थप स्पेस लिन्छ । सामाजिक सञ्जाललाई समाज र राष्ट्रहितमा उपयोग गर्ने र सत्यको आवाज बुलन्द गर्ने गरी अगाडि बढाउन ढिला गर्नु हुँदैन ।
(आचार्य त्रिविका उपप्राध्यापक हुन्)