कांग्रेसका विभिन्न समूह भावी नेतृत्व कब्जा गर्ने रणनीतिअनुसार महाधिवेशन कार्यतालिका बनाउन लागेपछि नेताहरूबिचको विवाद अझै टुंगिएको छैन । शीर्ष नेताबिच आगामी महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा लगातार केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुँदै गएको छ । केन्द्रीय कार्यसमिति बैठक मंगलबारका लागि सारिएको छ ।
मिति र कार्यतालिका खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ बैंकेटमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक राखेका थिए । तर, भिन्दाभिन्दै समूहले फरक–फरक मिति र कार्यतालिका अगाडि सार्दा सहमति जुट्न सकेन ।
कांग्रेस पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूबिच पुसको मध्यतिर महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेस गर्नेलगायतका विकल्पमा सहमतिको प्रयास भइरहेको छ । उनीहरूबिच चरणबद्ध छलफल भए पनि सोमबारसम्म निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् । ‘विभिन्न विकल्पमा छलफल चलिरहेको छ । सहमतिको प्रयास भइरहेको छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।
कांग्रेस बैठक २८ असोजदेखि सुरु भएको थियो । बैठकको सुरुवातमा सभापति शेरबहादुर देउवाले नेता पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए । त्यसयता पार्टी महाधिवेशनका लागि कुन मिति प्रस्ताव गर्ने भन्नेमा महामन्त्री गगन थापा र पार्टी नेतृत्वबिच सहमति हुन नसक्दा केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।
महामन्त्री थापाले मंसिरभित्रै नियमित महाधिवेशन वा महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेस गर्ने चाहना राखेका छन् । तर, कार्यवाहक सभापति खड्काले महामन्त्री थापालाई उक्त प्रस्ताव पेस गर्न अनुमति दिएका छैनन् ।
संस्थापन पक्षले आगामी २१ फागुनको निर्वाचनपछि वैशाखतिर महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राख्दै आएको छ । यो धारणालाई पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलालगायतले साथ दिँदै आएका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले १६ देखि १९ पुससम्म पार्टीको नियमित महाधिवेशनमा जानुपर्ने वा महासमिति सदस्यहरूको भर्चुअल मतदानबाट यसको टुंगो लगाउनुपर्ने मत राख्दै आएका छन् । कतिपय केन्द्रीय सदस्यले भने केन्द्रीय कार्यसमितिलाई नै महाधिवेशनको मितिबारे निर्णय गर्न दिनुपर्ने दबाब दिँदै आएका छन् । केन्द्रीय कार्यसमितिमा संस्थापन पक्ष बहुमतमा छ ।
विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले दर्ता गरेको हस्ताक्षरअनुसार कार्यतालिका ल्याउन दबाब दिइरहेका छन् ।
कांग्रेसका ४० वर्षमुनिका युवा नेताहरूको एउटा समूहले केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएर महाधिवेशनका लागि दबाब दिइरहेको छ । उनीहरूले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् भने पार्टीका हरेक निकायमा अबदेखि ४० वर्षमुनिका नेताका लागि कम्तीमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न माग पनि गरेका छन् ।
सोमबार विशेष महाधिवेशनको अभियान चलाइरहेको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ । गुरुराज घिमिरेको अगुवाइमा युवा नेताहरूले कोइरालालाई विशेष महाधिवेशनको कार्यतालिका ल्याउन ध्यानाकर्षण गराएका थिए । मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका पक्षमा उभिन कोइरालालाई अनुरोध गरिएको सहभागी एक नेताले बताए ।
कोइरालाले पार्टीमा सहमतिका आधारमा महाधिवेशन गर्नुपर्ने र एकताको सन्देश दिनुपर्नेमा जोड दिएको छलफलमा सहभागी एक नेताले बताए । महाधिवेशन प्रतिनिधिको निर्णयविपरीत अघि बढे पार्टीका लागि यो प्रत्युत्पादक हुने पनि कोइरालालाई युवा नेताहरूले बताएका थिए ।
उक्त समूहले मंगलबार राजधानीमा भेला आयोजना गरेको छ । ‘पार्टी विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन गर्न माग गर्दै दर्ता गरेको हस्ताक्षरसहितको निवेदनका विषयमा छलफल गर्न भेला बोलाइएको हो । पार्टीले यो माग सम्बोधन गर्नुपर्छ भन्नेमा हामी दृढ छौँ’ विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानमा सहभागी अर्का अगुवा कांग्रेस नेता उज्ज्वल बरालले भने ।