एनआइएमबि तुलसीपुरको खाताबाट पैसा हराएपछि...

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका– ९, बेलुवा स्थित छवि भण्डारीको सामाजिक सुरक्षा भत्ता आउने खातामा एक्कासि पैसा काटेको म्यासेज आयो । भाइटीकाको भोलिपल्ट कात्तिक ७ गते दिउँसो ३ बजेतिर म्यासेज आएपछि उनी झस्किए। नेपाल इन्भेष्टमेन्ट मेघा बैंक (एनआइएमबि)  बैंकमा रहेको उनको खाताबाट १८ हजार १० रुपैयाँ काट्यो । न त उनले मोबाइल बैंकिङबाट कहीँ पैसा पठाएका थिए, न त चेक नै काटेका थिए ।  तर, एक्कासि पैसा काटेपछि उनले बैंकमा फोन गरे । बैंकको फोन उठेन । बैंकको फोन नउठेपछि ग्राहक सुरक्षा केन्द्रमा फोन गरे । त्यहाँ फोन गर्दा फोनमा केही पनि भन्न नमिल्ने भनेपछि बैंक खुलेपछि ९ कात्तिकमा बैंकमै पुगे । ‘मैले कस्टमर केयर सेन्टरमा फोन गरेँ,’ उनले भने, ‘तर, त्यहाँबाट केही भन्न मिल्दैन भनेपछि ९ गते बैंकमा पुगेँ ।’

बैंकले उनको खाताको रकम प्रभु बैंकमा खाता रहेका दोलखाका उत्सव फुयाँलको खातामा रकम ट्रान्सफर भएको पाइएको थियो । ती व्यक्तिसँग भण्डारीको कुनै सम्बन्ध, सम्पर्क थिएन । उनले आफ्नो खातामा पैसा राखेर पनि एटिएममार्फत पैसा निकालिसकेको पाइएको थियो । त्यसपछि उनको खाता रोक्का गर्नका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिए ।

सोहीअनुसार प्रहरीले प्रभु बैंकलाई चिठी लेखिदियो । प्रहरीले चिठी लेखेपछि खाता रोक्का भएको छ । तर, उनको रकम भने अझै पनि फिर्ता आएको छैन । उनको अपांगता भएको सामाजिक सुरक्षा भत्ता सोही बैंकको खातामा आउने गर्छ । उपमहानगरपालिकाले विभिन्न बैंकमा सामाजिक सुरक्षा भत्ताको खाता खोलिदिएको छ। बैंकका तुलसीपुर शाखा प्रबन्धक शरद अधिकारीले भने ओटिपीको माध्यमबाट वा मोबाइलमा अन्य लिंक खोल्दा यसरी पैसा हराउने समस्या हुने गरेको बताए ।

पछिल्लो समय सोही बैंकबाट यसरी पैसा हराउने गरेको छ । अन्य सेवाग्राहीहरूले पनि पैसा हराएको भनी गुनासो गर्ने गरेको प्रबन्धक अधिकारीले बताए ।

सुझावित समाचार