दाउन्नेको बाटो प्रयोग नगर्न प्रहरीको आग्रह

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको  दाउन्नेमा पानी पर्न छाडेको दुई दिन भयो । तर, अझै पनि बाटो उस्तै हिलो र चिप्लो रहेको छ । दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारीसाधनको लामो लाइन लागेको छ । पश्चिम  नेपालबाट पूर्व जाने अर्थात् बर्दघाटबाट दुम्कीबास आउने सवारीसाधन हल्का पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधन पास हुन सकेको छैन । 

बाटो हिलो र चिप्लोले उकालोमा सवारीसाधन उक्लन नसक्दा ठाउँठाउँमा सवारीसाधन बिग्रिएर बसेका छन् जसले गर्दा दाउन्ने सडकखण्डमा लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ठाउँठाउँमा सवारीसाधन बिग्रिएका कारण सडक एकतर्फी भएको छ। जसले  गर्दा सवारीसाधनको लामो लाइन लागेको छ । १० किलोमिटरभन्दा बढी सवारीसाधनको लाम लागेको छ । 

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा विगत पाँच दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ। यसैबिच, जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार एक सूचना जारी गरी दाउन्ने सडकको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। 

दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको हो। दुम्कीबासका स्थानीय बासिन्दाका अनुसार अहिले दाउन्नेदेखि होङ्सी सिमेन्ट गेटसम्म सवारीसाधनको लामो लाइन लागेको छ । करिब १० किलोमिटर खडकखण्डमा सवारीसाधनको लामो लाइन लागेको स्थानीयले बताएका छन् । दाउन्नेमा सवारीसाधनको अत्यधिक चाप बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोलालगायतका क्षेत्रमै सवारीसाधनलाई होल्ड गराएर राख्न  सुरु गरेको छ । दाउन्नेको उकालोमा अहिले आधा दर्जनभन्दा बढी सवारीसाधन बिग्रिएर बसेका छन् जसलाई तत्काल हटाउन सक्ने सम्भावना छैन । 

सडकमा अहिले हजारौँको संख्यामा सवारीसाधनहरू जाममा लागेको छ ।यहाँ दैनिकजसो हिलो र चिप्लोले सवारीसाधन बिग्रने तथा फस्ने गरेको छ । जसले गर्दा यात्रुहरू घण्टौँ जाममा पर्ने गरेका छन् । सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दसैँअगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडकखण्ड मध्यपश्चिम खण्डको तीन किलोमिटर मात्र पूर्ण रूपमा कालो पत्रे भएको छ भने केही ठाउँमा ढलानको काम सकिएको छ। बाँकी अधिकांश क्षेत्र कच्ची र खाल्टाखुल्टी रहेको छ ।

दाउन्नेको चार ठाउँमा कल्भर्ट निर्माणको काम नसकिएकाले सडक एकतर्फी रहेको छ भने ढलानको काम भइरहेका ठाउँहरूमा पनि सडक एकतर्फी रहेका छन् । जसले गर्दा दाउन्नेमा सामान्य पानी पर्ना साथ यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

See More On

सुझावित समाचार