आसन्न महाधिवेशनको मिति र प्रक्रियालाई लिएर सिर्जित विवादले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रभावित भएको छ । महामन्त्री गगन थापाले मंसिरभित्र नियमित र सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गर्न अनुमति नपाएपछि शुक्रबार तय बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।
प्रस्ताव पेस गर्ने सहमति नजुटेपछि महामन्त्री थापा बिहीबार बैठकमा सहभागी भएका थिएनन् । शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग महामन्त्री थापाले छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेपछि थप सहमतिका लागि बैठक सारिएको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक आइतबार बस्ने सूचना सार्वजनिक गरेका छन् ।
सहमति खोज्न शुक्रबार कार्यवाहक सभापति खड्काले नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । तर, महामन्त्रीको प्रस्ताव पेसबारे सहमति जुट्न सकेन । कोइरालाले महाधिवेशन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
महामन्त्री थापा र अर्का महामन्त्री शर्मा पार्टीको नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने पक्षमा छन् । थापाले २७–२९ मंसिरसम्म पार्टीको महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा राख्न लागेको, तर कार्यवाहक सभापति खड्काले अनुमति नदिएको कांग्रेस नेताहरूले बताउँदै आएका छन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मंसिरमा पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने मागसहितको हस्ताक्षर पार्टीलाई बुझाइसकेका छन् । कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षले भने पार्टीको महाधिवेशन आगामी वैशाखमा गर्नुपर्ने भन्दै आएको छ । कांग्रेस नेता डा. कोइरालाले भने संस्थापनसहित सबै पक्ष मिलेर नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्दै आएका छन् ।
बिहीबार केन्द्रीय समिति बैठकमा बोल्ने धेरैजसो नेताले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपूर्व महाधिवेशन सम्भव नहुने धारणा राखेका थिए । बिहीबार बोल्ने अधिकांश संस्थापन पक्षनिकट थिए । गत १ कात्तिकमा रोकिएको बैठक बिहीबारबाट पुन: सुरु भएको थियो । बिहीबार बोलेका १५ जनामध्ये अधिकांशले २१ फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नभएको बताएका थिए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने विषयमा पार्टीमा विवाद नभएको, तर कहिले गर्ने भन्नेबारे छलफलबाट निष्कर्ष निस्किने बताए ।
आइतबार विशेष महाधिवेशन पक्षधरको भेला
पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले आइतबार भेला बोलाएको छ । यो अभियानको अगुवाइ गरेका कांग्रेस नेता गुुरुराज घिमिरेले पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छन् । मंसिरभित्र नियमित वा विशेष महाधिवेशनका लागि दबाब दिन उक्त समूहले भेला बोलाएको छ ।