मधेश प्रदेशभरिका आठ जिल्लाका उत्कृष्ट किसानलाई विशेष समारोहबिच सम्मान गरिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाले बिहीबार आयोजना गरेको कार्यक्रममा आठजना किसानलाई नगद पुरस्कार, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो।
उक्त सम्मान विश्व खाद्य दिवसका अवसरमा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ आयोजना गरिएको थियो। समारोहमा प्रदेशभरिका कृषक, कृषिविज्ञ, सरकारी अधिकारी तथा स्थानीय निकायका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
उत्कृष्ट किसानका रूपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका– १८, बडहर्वाकी मकै किसान विनिता गौतम, पर्साको विन्दवासिनी गाउँपालिका– ४, अमरपट्टीका च्याउ किसान सुजितकुमार चौरसिया, रौतहटको कटहरिया नगरपालिका– ५ का धान किसान रामसिंह राय यादव, सर्लाहीको बागमती नगरपालिका– ११ का मौरी किसान मणिप्रसाद पाण्डे, महोत्तरीको पिपरा गाउँपालिका– ४ का दलहन किसान अरुण ठाकुर, धनुषाको मिथिला नगरपालिका– ८ का तरकारी किसान छविलाल महताे, सिराहा नगरपालिका– २ का बिउ उत्पादक किसान बलराम यादव र सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका– २ का महावीरप्रसाद चौधरी सम्मानित भएका हुन।
उनीहरू सबैले आफ्ना क्षेत्रमा नवीन प्रविधि, उत्पादन वृद्धि, जैविक खेती र समुदायमा कृषक अभिप्रेरणाको उदाहरण प्रस्तुत गरेका कारण उत्कृष्ट किसानको उपाधि पाएका हुन्। कार्यक्रमका प्रमुख अतिथि तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले मधेश प्रदेशलाई अन्न भण्डारका रूपमा विकास गर्ने लक्ष्यसँगै सरकार किसानमैत्री नीतिमा केन्द्रित रहेको बताए।
उनले भने, ‘मधेशको उब्जनी बढाउनु आजको आवश्यकता हो। यहाँको उर्वर भूमि, लगनशील किसान र प्रविधिको संयोजनले मधेश मात्र होइन, देशकै खाद्य सुरक्षामा योगदान पुर्याउनेछ।’ डा. दाहालले किसानको सम्मानलाई मात्र होइन, उनीहरूको सिप र उत्पादनलाई संस्थागत रूपले प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाए।
कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख डा. सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल तथा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, धनुषाका प्रमुख रविलाल शर्माले खाद्य सुरक्षा, पौष्टिकता र उत्पादन सुधारका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए। वक्ताहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौती र नयाँ प्रविधि अपनाएर उत्पादनमा विविधीकरण गर्नुपर्नेमा जोड दिएका थिए।
समारोहमा निर्देशनालयका अधिकृत सुदीप चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए। जसमा प्रदेशका विभिन्न जिल्लामा कृषि उत्पादनको अवस्थाबारे विश्लेषण गरिएको थियो। कार्यक्रममा वरिष्ठ बाली विकास अधिकृत प्रदीपकुमार यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने इन्जिनियर सुमनकुमार साहले कार्यक्रम सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा आठै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुखहरू, विभिन्न कृषि कार्यालयका प्रतिनिधि तथा किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मानित किसानले सरकारले गरेको पहललाई उत्साहजनक बताउँदै अझ बढी प्राविधिक सहयोग र बजार व्यवस्थापनको अपेक्षा व्यक्त गरे। बाराकी मकै किसान विनिता गौतमले भनिन्, ‘कृषकलाई सम्मान मात्र होइन, निरन्तर प्रोत्साहन पनि जरुरी छ। यस्तो सम्मानले हाम्रो आत्मबल बढाउँछ।’ सर्लाहीका मौरी किसान मणिप्रसाद पाण्डेले भने, ‘हामी मिहिनेत गर्छौँ, तर बजार र प्रविधिको पहुँच अझ सुलभ हुन सके मधेशको कृषि उत्पादन दोब्बर हुन्छ।’
विश्व खाद्य दिवसकै अवसरमा बिहीबार गरिएको यो सम्मान कार्यक्रमले मधेश प्रदेशमा कृषि पेसालाई सम्मानजनक र प्रतिष्ठित पेसाको रूपमा स्थापित गर्न सन्देश दिएको छ। सरकार, विज्ञ र किसानबिचको सहकार्यले प्रदेशमा आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने विश्वास सहभागीले व्यक्त गरेका थिए।