बुधबारदेखि परेको वर्षाले संखुवासभाको विभिन्न ठाउँमा पाकेको धानबालीमा क्षति पुगेको छ। बुधबार दिउँसो र राति सामान्य वर्षा भए पनि बिहीबार बिहानैदेखि बाक्लो वर्षा हुँदा पाकेको धान बालीमा क्षति पुगेको पाइन्छ ।
१० वटा स्थानीय तह रहेको संखुवासभाको प्रायजसो सबै ठाउँहरूमा निरन्तर वर्षा भइरहेको छ। बिहीबार भएको वर्षा र हुरीले जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहा क्षेत्रमा पहेलपुर भएर पाक्न लागेको धानमा क्षति पुगेको स्थानीय कृषक मानबहादुर गुरुङले बताए ।
केही दिनअगाडि आएको हुरीबतास र निरन्तर परेको वर्षाले धानको बोट सबै लडाएको उनले बताए। ‘धानको बोट लडेपछि धान सबै भुइँमा झर्छ, पछि परालसमेत कालो हुन्छ। गाईवस्तुले खाँदैन । जताबाट पनि कृषकलाई घाटा हुन्छ,’ उनले दुःखेसो सुनाए।
जिल्लाको माथिल्लो क्षेत्र भोटखोलाको तल्लो भाग र मकालु, चिचिला र सिलिचोङ गाउँपालिकालगायतका पहाडी क्षेत्रहरूमा धान पहेलपुर भएर पाक्न थालेको छ। त्यसैगरी, जिल्लाको तल्लो औल क्षेत्रमा रोपाइँसमेत ढिलो हुने हुँदा मंसिर दोस्रो सातातिर मात्रै धान पाक्छ। जिल्लाको विभिन्न ठाउँमा पाक्न लागेको धान बालीमा क्षति पुगे पनि कति क्षति भयो भन्ने यकिन तथ्यांक कृषि ज्ञान केन्द्रमा समेत नभएको जनाएको छ।
कृषि ज्ञान केन्द्र संखुवासभाको तथ्यांक जिल्लामा ३१ हजार ५ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जिल्लाको खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, हेलुवाबेँसी, चन्दनपुर, चेवा, कलचेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसीलगायतका ठाउँमा धानखेती गरिँदै आएको छ।
१० वटा स्थानीय तह रहेको संखुवासभामा हेदांगना, चैनपुर, मादी र धुपूलगायतका स्थान धान उत्पादन हुने मुख्य क्षेत्र हुन्। विशेषः यो जिल्लामा अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना र कालधानलगायत जातका धान उत्पादन हुने गर्दछ। पूर्वमा नै धान उत्पादनमा संखुवासभालाई राम्रो जिल्लाको रूपमा गनिँदै आएको छ।