भीमफेदी कारागारबाट फरार १५७ कैदीबन्दी अझै सम्पर्कविहीन

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको वेला मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १५७ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । कारागार प्रशासनले पटक–पटक सम्पर्कमा आउन आग्रह गरे पनि भागेका कैदीबन्दीहरूमध्ये अझै धेरैको अवस्था थाहा पाउन नसकिएको कारागार व्यवस्थापक सुवास पौडेलले बताए । उनका अनुसार भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर ४४० जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म २८३ जना कैदीबन्दी सम्पर्कमा आइसकेका छन् भने बाँकी १५७ जना फरार नै छन्। 

फरारमध्ये ३२ जना जबर्जस्ती करणी, १३ जना कर्तव्यज्यान, ७५ जना लागुऔषध मुद्दा र २६ जना विदेशी नागरिक रहेको व्यवस्थापक पौडेलले जानकारी दिए। ‘फरार कैदीबन्दीहरू पारिवारिक सम्पर्कमा पनि छैनन्,’ पौडेलले भने, ‘कतिपयले अन्य ठाउँबाट कहिलेकाहीँ सम्पर्क गरे पनि उनीहरूलाई कारागार फर्काउन सकिएको छैन।’ उनका अनुसार फरार कैदीबन्दीलाई पक्राउ गरी कारागार फर्काउने उद्देश्यले जिल्ला सुरक्षा समितिसहितको कार्यदल सक्रिय रूपमा काम गरिरहेको छ।

थप सजायको कानुनी व्यवस्था कार्यान्वयनमा चुनौती
कारागार व्यवस्थापक पौडेलका अनुसार कारागार तोडफोड गरी भागेका कैदीबन्दीलाई थप सजाय दिने कानुनी व्यवस्था भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । कारागार ऐन, २०७९ को दफा ४९ अनुसार कारागारको पर्खाल, ढोका वा झ्याल भत्काएमा १० वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । त्यसैगरी, कारागारबाट भागेमा वा भाग्ने प्रयास गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

तर, पौडेलका अनुसार, हालसम्म देशभरका २८ वटै कारागारबाट भागेका कैदीबन्दीमध्ये कसैको विरुद्ध पनि थप सजायका लागि फाइल दर्ता गरिएको छैन। ‘निर्देशन स्पष्ट नआएकाले कार्यान्वयनमा समस्या भएको छ,’ उनले भने।पौडेलले सुरक्षा चुनौतीका बिच आन्दोलनका समयमा भागेका र सामान्य अवस्थामा भागेका कैदीबन्दीलाई फरक रूपमा हेरी कानुनी उपचारको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए।

सुझावित समाचार