कोटेश्वरमा प्रहरीको हत्या गर्ने ‘क्रिकेटर’, अदालतको आदेशपछि जेल चलान

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

२४ भदौको आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी युवक जेल चलान भएका छन्। कैलालीको लम्किचुहा नगरपालिका ४ घर भई कोटेश्वर बस्ने १९ वर्षीय अनुपम भण्डारीलाई मंगलबार जिल्ला अदालत, काठमाडौंले जेल चलानको आदेश दिएको हो। 

पक्राउ परेका भण्डारीले बयानको क्रममा प्रहरी हत्याको अभियोग स्वीकार गरेका छन्। उनीसहितका व्यक्तिले सहायक हवल्दार गुरुङलाई कार्यालयभित्रै नियन्त्रणमा लिई सडकमा ल्याएर चक्कु हानी हत्या गरेका थिए। त्यस्तै, प्रहरी सहायक हवल्दार मनीषसिंह ठगुन्नालाई हत्या प्रयास गरेका थिए। 

उनले बयानमा भनेका छन्, ‘कोटेश्वरको प्रहरी कार्यालय आगोमा दनदनी जलिरहेको थियो भने केही प्रहरीहरू घरको छतैछतमा एक घरबाट अर्को घरमा हाम फाल्दै भाग्दै गरेको र पछाडिबाट जेन-जी आन्दोलनकारीहरूले लखेट्दै गइरहेका देखी मसमेत त्यसतर्फ गएको हुँ। पछि मसमेत भई प्रहरी लाई एक घरदेखि अर्को घरमा लखेट्दै जाने क्रममा म पुगेको घरको तेस्रो तलामा पुग्दा सोही घरको पाँचौँ तलामा अन्य आन्दोलनकारीहरूले एकजना प्रहरीलाई भेट्टाई नियन्त्रणमा लिई कुट्दै घिसार्दै म भएको तेस्रो तलामा ल्याई पुर्‍याउँदा मैले समेत निज प्रहरीलाई कुटपिट गर्दै चक्कुले प्रहार गर्दा निज प्रहरीको दाहिनेतर्फ पाखुरामा चोट लाग्न गएको हो। तत्कालै मैले नचिनेका २ जना पुरुष व्यक्तिले निजलाई कुट्दै गरेको अवस्थाबाट तानी बाथरुममा हाली ढोका लगाएका हुन। त्यहाँ रहेका अन्य आन्दोलनकारीहरूले निज प्रहरीलाई पेट्रोल बम हानी आगो लगाई जलाई मार्नुपर्छ भन्दै गरेका थिए। सोपश्चात् अर्को प्रहरीलाई रगताम्य अवस्थामा केही आन्दोलनकारीहरूले कुटपिट गर्दै खुट्टा समाती घिसार्दै ल्याउँदै गरेको अवस्थामा मैले समेत निजको खुट्टामा समाती घिसार्दै बाहिर सडकमा ल्याई महादेव मन्दिरतर्फ जाने मेन सडकमा पुर्‍याई चक्कुले प्रहार गरेको हुँ।’ 

उनी मेगा कलेजबाट हालै १२ कक्षा उत्तीर्ण गरेका युवक हुन्। आफूले बैंग्लोरमा गएर २ हप्ता क्रिकेटको तालिम लिएको र शान्तिनगरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भर्ना भई क्रिकेट सिकिरहेको बताएका छन्। 

प्रहरीले उनलाई १३ असोजमा कैलालीबाटै पक्राउ गरेको हो। उनीविरुद्ध मृतक सहायक हवल्दार गुरुङकी श्रीमती तथा घाइते भएका हवल्दार मनीषसिंह ठगुन्नाले जाहेरी दिएका छन्। उनीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको छ । 

यस्तो छ उनको बयानः

सुझावित समाचार