रुखबाट लडेकी ७२ वर्षीया वृद्धाको उपचारको क्रममा निधन

मंगलबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

घाँस झार्ने क्रममा घरनजिकैको धनुकाठको रुखबाट चिप्लिएर लडेकी एक वृद्धाको उपचारको क्रममा साेमबार निधन भएको छ। निधन हुनेमा रामेछाप नगरपालिका– ६, ओख्रेनीस्थित धमिनीछापकी ७२ वर्षीया पोक्चीमाया मगर रहेकी छिन्।

मगर वस्तुलाई घाँस झार्न हँसिया लिएर बारीको कान्लामा रहेको धनुकाठको रुखमा चढेर घाँस झार्ने क्रममा शनिबार दिउँसो लडेकी थिइन् । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि रामेछाप अस्पताल लगेका थिए। 

रामेछाप अस्पतालमा मगरको उपचार सम्भव नभएपछि धुलिखेल अस्पताल काभ्रेमा रेफर गरिएको थियो। वृद्धा मगरको धुलिखेल अस्पतालमा समेत उपचार सम्भव नभएपछि केएमसी अस्पताल सिनामंगल रेफर गरिएको थियो।

केएमसीमा भर्ना भएकी मगरको सो अस्पतालका चिकित्सकहरूले पनि उपचार सम्भव नहुने बताएपछि उनका परिवारका सदस्यहरूले पुनः रामेछाप ल्याएर अस्पतालमा भर्ना गरेका थिए । वृद्धा मगरको सोही अस्पतालमा सोमबार दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

सुझावित समाचार