क्रेडिट कार्डमार्फत हुने कर्जा प्रवाह घट्यो

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण
  • वाणिज्य बैंकहरूले तीन लाख १७ हजार नौ सय ३० वटा क्रेडिट कार्ड जारी गरिसकेका छन्, उपभोगमुखी खर्चमा कमी आएका कारण एक महिनामा क्रेडिट कार्डमार्फत हुने कर्जा १८ करोड घट्यो

पछिल्ला तीन वर्षदेखि निरन्तर बढ्दै आएको क्रेडिट कार्डमार्फत हुने कर्जा प्रवाह चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो दुई महिनामा भने घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनासम्म क्रेडिट कार्डमार्फत कर्जा प्रवाह ६ अर्ब ६६ करोड ४१ लाख ३६ हजार दुई सय ८८ रुपैयाँ पुगेको थियो । तर, भदौ महिनामा यो घटेर ६ अर्ब ४८ करोड १० लाख २१ हजार तीन रुपैयाँमा सीमित भएको छ ।

यसरी एक महिनामै झन्डै १८ करोड रुपैयाँबराबरको कर्जा प्रवाह घटेको देखिन्छ । अघिल्ला वर्षहरूमा सहरी उपभोक्ताबिच क्रेडिट कार्डको प्रयोग तीव्र रूपमा बढे पनि हाल उपभोगमुखी खर्चमा कमी आएपछि यसको प्रत्यक्ष प्रभाव कर्जा प्रवाहमा देखिन थालेको हो । हालसम्म वाणिज्य बैंकहरूले तीन लाख १७ हजार नौ सय ३० वटा क्रेडिट कार्ड जारी गरिसकेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्म (असार मसान्तसम्म) क्रेडिट कार्ड कर्जा प्रवाह पाँच अर्ब ६६ करोड २२ लाख १६ हजार पाँच सय ५९ रुपैयाँ पुगेको थियो । त्यसअघि ०८०/८१ मा यो चार अर्ब ५२ करोड ४१ लाख ३१ हजार तीन सय ४४ र ०७९/८० मा तीन अर्ब ५२ करोड ११ लाख ९५ हजार ४१ रुपैयाँ मात्र थियो ।

नबिल बैंकले क्रेडिट कार्डमार्फत एक अर्ब २१ करोड ७७ लाख ४४ हजारको कर्जा प्रवाह गरेको छ । यसपछि दोस्रो स्थानमा सिद्धार्थ बैंकले ८७ करोड ५६ लाख १२ हजार कर्जा प्रवाह गरेको छ । 

तेस्रो स्थानमा रहेको कुमारी बैंकको कर्जा प्रवाह ७८ करोड ७४ लाख ४८ हजार, ग्लोबल आइएमई बैंकले ५९ करोड ६४ लाख ७० हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३५ करोड ६९ लाख ७० हजार र हिमालयन बैंकले ३५ करोड ६२ लाख पाँच हजारबराबरको कर्जा प्रवाह गरेका छन् ।

एनआइसी एसिया बैंकले २४ करोड ४८ लाख, माछापुच्छ«े बैंकले ३२ करोड ८७ लाख र लक्ष्मी सन्राइज बैंकले ३२ करोड ३० लाखबराबरको क्रेडिट कार्ड कर्जा प्रवाह गरेका छन् । यस अवधिमा एभरेष्ट बैंक, सिटिजन्स, प्राइम कमर्सियल, एनएमबि, प्रभु र सानिमा बैंकलगायतले पनि उल्लेखनीय परिमाणमा क्रेडिट कार्ड कर्जा वितरण गरेका छन् । तर, नेपाल बैंक र कृषि विकास बैंकको कर्जा प्रवाह नगण्य रहेको देखिन्छ ।

सुझावित समाचार