राजनीतिक सुझबुझले छोटो समयमा तेजस्वी यादव बिहारमा महागठबन्धनबाट मुख्यमन्त्री उम्मेदवार बन्ने अवस्थामा पुगेका छन्
‘विराट कोहलीले समेत मेरो कप्तानीमा खेलेका थिए । मैले क्रिकेट खेल्नका लागि मेरो पढाइ छाडेको थिएँ,’ राष्ट्रिय जनता दल (आरेजेडी) का नेता तेजस्वी यादवको केही महिनाअघिको यो भनाइ भाइरल भएको थियो । त्यसक्रममा तेजस्वीले आफ्नो पढाइलाई लिएर प्रश्न उठाउने आलोचकलाई मात्र जवाफ दिएनन्, आफ्नो क्रिकेट अनुभव पनि प्रकाश पारेका थिए । कोहलीले ‘दिल्ली अन्डर–१७’ टोलीमा पनि तेजस्वीको कप्तानीमा खेलेका थिए ।
सन् २०१५ देखि २०२५ सम्म, तेजस्वीको राजनीतिक यात्रामा धेरै उतारचढाव देखिए । अहिले आएर उनीसँग आफूलाई प्रमाणित गर्ने महŒवपूर्ण अवसर आएको छ । किनकि, महागठबन्धनले औपचारिक रूपमा उनलाई आफ्नो मुख्यमन्त्रीको अनुहार घोषित गरेको छ । उसो त राजनीति कहिल्यै तेजस्वीको पहिलो रोजाइ थिएन । उनले दिल्लीको आरके पुरममा रहेको दिल्ली पब्लिक स्कुलमा पढेका थिए । स्कुलमा उनी क्रिकेटतर्फ आकर्षित भए । र, सोही खेलमा पूर्ण रूपमा सरिक हुन दसौँ कक्षा पढ्दापढ्दै पढाइ छाडे ।
क्रिकेट करिअरमा उनी एक प्रतिभाशाली मध्यम–क्रमका ब्याट्सम्यानका रूपमा आफ्नो उत्कृष्ट कभर ड्राइभका लागि परिचित थिए । तेजस्वीले विराट कोहलीको समयमा दिल्ली अन्डर–१९ टोलीको प्रतिनिधित्व गरे । उनले रणजी ट्रफीमा झारखण्डका लागि एक सिजनसमेत खेलेका थिए । त्यसपछि आइपिएलमा दिल्ली डेयरडेभिल्सले छानेपछि सन् २००८ देखि २०१२ सम्म उनले चार सिजन रिजर्भ बेन्चमै बिताए । सन् २०१३ सम्ममा, चोटपटक र अवसरको अभावका कारण उनले क्रिकेट छाडेर पूर्ण रूपमा राजनीतिमा ध्यान केन्द्रित गरे ।
सन् २०१० देखि नै चुनावी र्यालीमा हिँड्न थालेका तेजस्वीले सन् २०१५ मा २५ वर्षको उमेरमा पहिलो चुनाव लडेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरे । चुनावपछि नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड (जेडियु) र आरजेडीले गठबन्धन सरकार बनाए, जुन सरकारमा तेजस्वी २६ वर्षको उमेरमा उपमुख्यमन्त्री बनेका थिए । गठबन्धन टुट्नुभन्दा केही अघि ‘होटलसम्बन्धी जग्गा’ घोटालामा राज्य सरकारको सहमतिमा तेजस्वीविरुद्ध सिबिआईमा मुद्दा दायर गरिएको थियो ।
सन् २०२० को बिहार विधानसभा चुनावमा आरजेडीका भेट्रान नेता लालुप्रसाद यादव जेलमा हुँदा तेजस्वीले आफ्नै बलमा बलियो चुनावी अभियान सञ्चालन गरे । तर, त्यसपटक पनि आरजेडी–कांग्रेस–वामपन्थी गठबन्धनले बहुमतभन्दा थोरै कम सिट मात्र जित्न सक्यो । यससँगै तेजस्वीले बिहारको सबैभन्दा कान्छो मुख्यमन्त्री बन्ने अवसर गुमाए । उनको राजनीतिक सुरुवात उत्साहजनक थियो, तर त्यसपछिको यात्रा उतारचढावले भरिन पुग्यो । तैपनि, आफ्नो करियरको पछिल्लो भागमा उनी बिहार राजनीतिको केन्द्रमा रहे ।
पछिल्ला वर्षमा तेजस्वीले कुर्मी, कुशसवाह र कोयरीजस्ता गैर–यादव समुदायका मानिसलाई बढी टिकट र संगठनात्मक पद दिएर आफ्नो सामाजिक आधार विस्तार गरेका छन् । उनले महागठबन्धनमा साना दललाई समेत समावेश गरेका छन् । विगतमा पिछडिएका, दलित, अल्पसंख्यकका नारा उरालेका थिएनन् । तर, सन् २०२० को चुनावमा भएको हारपछि भने त्यसतर्फ कदम चाल्न थालेका छन् । जस्तो, महिला मत आकर्षित गर्न नितिशकुमारको रणनीतिको प्रतिक्रियामा तेजस्वीले राज्यका एक करोड २५ लाख श्रमिक महिलालाई मद्दत गर्ने कैयौँ वाचा गरे । तिनमा स्थायी जागिर (मासिक तलब ३० हजार (भारु), दुई वर्षको ऋण ब्याज माफी र प्रतिकामदार पाँच लाख रुपैयाँको बिमासम्मका वाचा छन् ।
अन्य प्रमुख घोषणामा एमएए (मकान अर्थात् आवास, अन्न अर्थात् खाना र आय) र बिइटिआई (लाभ, शिक्षा, तालिम, आय) लगायत योजना समावेश छन् । उल्लिखित नारा महागठबन्धनको ‘मैं–बहन योजना’को विस्तार हो, जसले महिलालाई मासिक दुई हजार ५०० भारु सहयोग गर्ने वाचा गरिएको छ । युवा भोट बैंकलाई आकर्षित गर्न तेजस्वीले प्रत्येक घरपरिवारका लागि रोजगारीको वाचा गरेका छन् । यसका लागि सत्तामा आएको २० दिनभित्र विधेयक पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भनेका छन्, ‘अहिलेको एनडिए सरकारले २० वर्षमा पनि युवालाई रोजगारी दिन सकेन । तर, हामी सत्तामा आएको २० दिनभित्रै यससम्बन्धी ऐन लागू गर्नेछौँ र २० महिनाभित्र यसलाई कार्यान्वयन गर्नेछौँ ।’
तेजस्वीले सफलतापूर्वक पार गरेको अर्को चुनौती हो, कांग्रेसलाई पछि हट्न बाध्य पार्नु । त्यसबाट मात्र उनले महागठबन्धनको मुख्यमन्त्री अनुहार बन्ने अधिकार सुरक्षित गर्न सकेका हुन् । तिहारअघि, आरजेडी र कांग्रेसबिचको गठबन्धन अनिश्चित देखिएको थियो । तैपनि, तेजस्वी पछि हटेनन् र कांग्रेसलाई औपचारिक रूपमा आफूलाई मुख्यमन्त्री उम्मेदवार घोषणा गर्न बाध्य पारे । राजनीतिक सुझबुझले एक दशकको छोटो समयमा तेजस्वी बिहारमा महागठबन्धनका तर्फबाट मुख्यमन्त्रीका अनुहार बन्ने अवस्थामा पुगेका छन् । अब उनले आफूलाई प्रमाणित गरेर देखाउने अवस्था आएको छ ।
(पत्रकार श्रीवास्तव राजनीति, नीति र अपराधमाथि कलम चलाउँछन्)
द प्रिन्टबाट