सांसदको स्वकीयसचिवको सुविधा खारेज गर्ने तथा मन्त्री र राजनीतिक पदाधिकारीको स्वकीय सचिवालय कटौती गर्ने संघीय सरकारको निर्णय सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन भएको छैन । प्रदेश सांसद, प्रदेश सभाका पदाधिकारी, प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्रीसहित राजनीतिक पदाधिकारीको सचिवालय यथावत् छ ।
जेन–जी आन्दोलनका बलमा गठन भएको सरकारले गत ५ असोजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीयसचिवको सुविधा खारेज गर्ने निर्णय गरेको थियो । त्यस्तै, संघ र प्रदेश सरकारका मन्त्री तथा प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीनजना नियुक्त गर्न सक्ने संघीय सरकारले निर्णय गरेको छ ।
सुदूरपश्चिममा भने प्रदेश सांसदको स्वकीयसचिवको सुविधा खारेज भएको छैन । मुख्यमन्त्री, मन्त्रीसहित राजनीतिक पदाधिकारीको सचिवालय संख्या पनि यथावत् छ । संघीय सरकारले निर्णयको परिपत्र पठाए पनि स्वकीय सचिवालय सुविधा कटौतीसम्बन्धी निर्णय कार्यान्वयनमा गइनसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनअनुसार प्रदेश सांसदले नासु स्तरको स्वकीयसचिव नियुक्त गरेका छन् । प्रदेश सभामा हाल कायम ५२ सदस्यमध्ये प्रदेश सरकारमा मन्त्री रहेका नौजनाबाहेक अन्य सांसदले सचिवालयबाट स्वकीयसचिवको सुविधा लिइरहेका छन् । सभामुखको सचिवालय चालकसहित पाँचजनाको, उपसभामुखको सविचालय चालकसहित चारजना तथा विपक्षी दलको नेताको सचिवालय चालक, कार्यालय सहयोगी र एकजना अधिकृतसहित तीनजनाको छ ।
संघीय सरकारको निर्णय कार्यान्वयनलाई लिएर प्रदेशमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबिच मतभेद देखिएको छ । राजनीतिक नेतृत्व प्रदेश सभाले बनाएको ऐनअनुसार दिँइदै आएको सचिवालय सुविधा खारेज गर्न नहुने पक्षमा छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार गत साता मुख्यमन्त्री, मन्त्री र सचिवहरूको बैठकमा पनि संघको निर्णय कार्यान्वयनबारे छलफल भएको थियो । मुख्यमन्त्री र मन्त्रीहरूले स्वकीय सचिवालय कटौतीको निर्णय प्रदेशमा कार्यान्वयन गर्न नसकिने बताएका थिए ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार संघीय अर्थ मन्त्रालयको पत्र कार्यान्वयन गर्नु भनेर मुख्यमन्त्री कार्यालयले गत २४ असोजमा प्रदेश सभालाई परिपत्र गरेको छ । तर, राजनीतिक नेतृत्वको दबाबमा प्रदेश सभा सचिवालयले स्वकीय सचिवालयको सुविधा खारेज गरेको छैन । ‘सांसदको तलब सुविधा पठायौँ । मुख्यमन्त्री कार्यालयबाट पत्र आएकाले स्वकीयसचिवको सुविधा त रोकेका छौँ,’ उनले भने, ‘तर अहिले तलब–सुविधा रोके पनि सचिवालय खारेज भएको छैन ।’