नोबेल शान्ति समितिको निर्णयले असन्तुष्ट हुनुपर्दैन ट्रम्प

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण
  • मचाडोलाई पुरस्कार दिएर नोबेल समितिले ट्रम्पलाई ल्याटिन अमेरिकामा सैन्य हस्तक्षेप गर्न र बन्दुक कूटनीति जारी राख्न खुला निम्तो प्रदान गरेको छ । भेनेजुएलाको हकमा मात्र कुरा गर्ने हो भने अब त्यहाँको शासन ढाल्न जुनसुकै वेला हिंसात्मक आक्रमण सुरु हुने अवस्था छ । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति पुरस्कार प्रदान नगरिएपछि अमेरिकी राष्ट्रपति कार्यालय (ह्वाइट हाउस)ले नोबेल समितिलाई ‘शान्तिमाथि राजनीति’ गरेको भन्दै लिखित असन्तुष्टि जनाएको थियो । तथापि, ट्रम्प प्रशासन यो पुरस्कार भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई प्रदान गरिएकोप्रति खुसी नै हुनुपर्छ । ट्रम्प र मचाडो खासमा एउटै दक्षिणपन्थी अधिनायकवादी विचार बोक्ने नेता हुन् । यो कुरा पुरस्कार घोषणालगत्तै राष्ट्रपति ट्रम्पले मचाडोलाई दिएको बधाई र मचाडोले पुरस्कार ट्रम्पलाई समर्पित गरेको तथ्यले नै देखाउँछ ।

भेनेजुएलाको उग्र–दक्षिणपन्थी विपक्षी नेताको रूपमा मचाडो शान्तिको त्यस्तो ब्रान्डप्रति प्रतिबद्ध छिन्, जसले करिब २५ वर्षदेखि भेनेजुएलाको लोकतन्त्र र सार्वभौमिकतालाई कमजोर पार्न खोजेको छ । सन् २००२ मा उनले त्यतिवेलाका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति ह्युगो चाभेजविरुद्ध ‘कु’ गर्न सघाएकी थिइन् । त्यस असफलताबाट निरुत्साहित नभई मचाडोले पछि एउटा बलियो विपक्षी गुट निर्माण सक्रियताका साथ लागिन् । यसको प्राथमिक लक्ष्य भेनेजुएलाको निर्वाचित सरकारलाई कमजोर बनाउने र देशलाई कुलीन शासनमा फर्काउन आवश्यक राजनीतिक र आर्थिक अराजकता सिर्जना गर्नु देखिन्छ ।

मचाडोको ‘शान्ति’प्रतिको अथक प्रयासअन्तर्गत केही समयअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेनेजुएलामाथि आक्रमणको निमन्त्रणसमेत पर्छ । त्यति मात्र होइन, मचाडो स्वयंम नेतन्याहुले गाजामाथि मच्चाएको नरसंहारकी मुखर समर्थक रहँदै आएकी छिन् ।

मचाडोको अन्तर्राष्ट्रिय प्रसिद्धिमा लामो समयदेखि पश्चिमी मिडिया र राजनीतिक अभिजात वर्गले सहयोग गर्दै आएका छन् । तिनिहरूले उनलाई अस्थिर शक्तिको सट्टा स्वतन्त्रता सेनानीको रूपमा प्रस्तुत गर्दै आएका छन् । उनको छवि अमेरिकी र युरोपेली नागरिकलाई समेत आकर्षक लाग्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ । अहिले उनैलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेर नोबेल समितिले त्यो छविलाई थप चम्काउन सघाएको छ । पुरस्कारमार्फत वैध लोकतन्त्र के हो भनेर परिभाषित पश्चिमले मात्र गर्न सक्छ भन्ने भाष्यलाई समेत जोड दिन खोजिएको छ ।

मचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेर नोबेल समितिले ‘गलत गर्यो’ भन्ने होइन, जुन उसले पहिले धेरैपटक गरिसकेको इतिहास छ । वा, पुरस्कार घोषणापछि मूलधाराका मिडियामा धेरै हदसम्म प्रशंसायुक्त रिपोर्टिङ मात्र पनि चिन्ताजनक कुरा होइन । मुख्य चिन्ता मचाडोलाई पुरस्कार दिएर नोबेल समितिले ट्रम्पलाई ल्याटिन अमेरिकामा सैन्य हस्तक्षेप गर्न र बन्दुक कूटनीति जारी राख्न खुला निमन्त्रणा प्रदान गरेको छ । भेनेजुएलाको हकमा मात्र कुरा गर्ने हो भने अब त्यहाँको शासन ढाल्न जुनसुकै वेला हिंसात्मक आक्रमण सुरु हुने अवस्था छ ।

वास्तवमा, मचाडो आफैँले नोबेल शान्ति पुरस्कारले विश्वको ध्यान तानेका वेला भेनेजुएलामाथि अन्तर्राष्ट्रिय हस्तक्षेप हुनुपर्ने संकेत गरेकी छिन् । त्यस अर्थमा मचाडोले ‘लागुऔषध तस्करीविरुद्धको संघर्ष’को नाममा ट्रम्पको भेनेजुएली जहाजमाथि चलाइरहेको अवैध आक्रमणलाई प्रोत्साहित गर्नु कुनै आश्चर्यको कुरा होइन । ट्रम्पले पटक–पटक भेनेजुएलाभित्रै आक्रमणको धम्की दिन थालेका छन्, जसलाई मचाडोले समर्थन गरेकी छन् । उनले वर्षौंदेखि भेनेजुएलाको अर्थतन्त्रमाथिको प्रतिबन्धको समेत समर्थन गर्छिन्, जो लाखौँ भेनेजुएली नागरिकको मृत्युको कारण भएको अध्ययनले देखाएका छन् ।

गत बुधबार मात्र, ट्रम्प प्रशासनले भेनेजुएलाको सरकारलाई अस्थिर बनाउने उद्देश्यले गोप्य सिआइए अप्रेसनलाई स्वीकृति दिएको खुलेको छ । यो खुलासाले ‘शान्ति’को नाममा मचाडो पुरस्कृत भएपछि वासिंटनलाइ भिन्न माध्यमबाट शासन परिवर्तनमा लाग्न प्रोत्साहन मिलेको आशंकालाई  बल दिन्छ । यस अर्थमा नोबेल समितिले जुन हस्तक्षेपविरुद्ध पुरस्कार दिएको भनेको छ, त्यसैलाई अघि बढाउन नैतिक आवरण प्रदान गरेको छ ।

अर्को तरिकाले भन्दा मचाडोलाई दिइएको नोबेल शान्ति पुरस्कारको मूल समस्या केवल यसले शान्तिबारे कुनै पनि अर्थपूर्ण बुझाइको मजाक बनायो भन्ने होइन । बरु, त्यस प्रक्रियामा, यसले हिंसा भनेकै शान्ति हो भन्ने ट्रम्पको कुटिलतालाई अनुमोदन गर्दै अधिनायकवादलाई लोकतन्त्रको रूपमा पुन: प्याकेज गरेर पेस गर्न सघाएको छ । अब विश्वभर फरक विचार राख्नेहरूलाई निर्मूल पारिनुपर्ने भाष्य बनाइएको छ । यो किन गरिँदै छ भने प्रतिरोधी शक्तिको विनाशले मात्र धनाढ्यहरूको हित गर्ने फराकिलो परियोजनाका लागि मार्गप्रशस्त हुन्छ । र, यस क्रममा श्रमिक वर्ग भने दु:खमै छाडिन्छन् । 

यस अर्थमा भेनेजुएलाको सार्वभौमिकता र लोकतन्त्र मचाडोका लागि पनि ट्रम्पको जत्ति नै अर्थहीन छ भन्ने दोहोर्याइरहनुपर्दैन । आखिरमा दक्षिणपन्थी अधिनायकवादको लक्ष्य र अभ्यास दुवै अमेरिकी महादेशभरि उस्तै छ । तिनको उद्देश्य मुख्यत: राजनीतिक शक्तिमाथि धनाढ्य अभिजात वर्गको नियन्त्रित होस् भन्ने सुनिश्चित गर्नु हो । त्यसो भए मात्र श्रमिकहरूको हितमा प्रयोग हुन सक्ने प्राकृतिक स्रोत र सार्वजनिक वस्तुमाथिको सरकारी नियमन घट्छ र ती स्रोत सीमित व्यक्तिको हातमा पुर्याउन सकिन्छ । 

स्ट्रिफलर ‘लेबर रिसोर्स सेन्टर’का निर्देशक तथा युनिभर्स अफ मासाचुसेट बोस्टनका मानवशास्त्रका प्राध्यापक हुन्

–कन्भर्सेसनबाट

See More On

सुझावित समाचार