युवा खेलाडीलाई कर्णाली याक्ससँग जोडिने अवसर

कर्णाली याक्स स्पोर्टस् प्रालीले ट्यालेन्ट हन्ट आयोजना गर्ने

बुधबार, ६ कार्तिक, २०८२
डिजिटल संस्करण

कर्णाली याक्स स्पोर्टस् प्रालिले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराए । ‘पहिलो संस्करणमा झैँ हामीले दोस्रो संस्करणमा पनि ट्यालेन्ट हन्ट आयोजना गर्दै छौँ । यसपटक पनि हामी विपिन शर्माजस्तै नयाँ स्टार खोज्ने प्रयासमा हुन्छौँ,’ निर्देशक गृहेन्द्र घिमिरेले भनेका छन् ।

कर्णाली याक्सले आगामी नोभेम्बर ३ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्यालेन्ट हन्ट हुने जानकारी गराएको छ । इच्छुक खेलाडीलाई नाम दर्ता गर्न पनि कर्णाली याक्सले अनुरोध गरेको छ । 

दोस्रो संस्करणका लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । ०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदाएका स्टार हुन् । 

१६ वर्षीय स्पिनरले आठ खेलाडीमा १३ विकेट लिएका थिए । उनी एनपिएलमा सर्वाधिक धेरै विकेट लिने पाँचौँ खेलाडीसमेत बनेका थिए । यसपछि उनले नेपालको यू–१६ टिमको कप्तानी गरेका थिए ।

सुझावित समाचार