दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको शव आज (सोमबार) नेपाल आइपुग्दै छ । इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौं पठाएको छ ।
आइतबार शव पठाउनुअघि तेलअभिभमा आयोजित कार्यक्रममा इजरायली सरकारी अधिकारी, नेपाली दूतावासका प्रतिनिधि, नेपाली समुदाय तथा विपिन बसेको किबुज आलुमिमका बासिन्दाले उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा इजरायलको विदेश मन्त्रालयअन्तर्गत एसिया तथा प्रशान्त मामिला हेर्ने उपमहानिर्देशक अभिभ इजरा, कार्यवाहक नेपाली राजदूत कुमार श्रेष्ठ र स्थानीय समुदायका सदस्य सहभागी थिए ।
‘विपिन जोशीको शव सोमबार अपराह्न नेपाल आइपुग्नेछ,’ कार्यवाहक राजदूत श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘इजरायल सरकारले शव ल्याउने सबै बन्दोबस्त गरेको छ । सोमबार नै शव उनको गृहनगर महेन्द्रनगर पुर्याइनेछ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अपराह्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले विपिनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि शव महेन्द्रनगर पुर्याएर परिवारले अन्तिम संस्कार गर्नेछ ।
विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।
विपिनको मृत्यु दुई वर्षअघि भएको विवरण इजरायली अधिकारीले नेपाललाई दिएका छन् । शनिबार इजरायल सरकारले विपिनको शव नेपाल पठाउन कार्गो कम्पनीलाई हस्तान्तरण गरेको थियो । इजरायलको तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा मंगलबार डिएनए परीक्षण भएको थियो ।
०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको थियो ।