सिद्धिचरण लोकमार्गको उदयपुर खण्ड सधैँ जीर्ण

४७ किमि पार गर्न साना सवारीलाई ३ र ठूलालाई ६ घण्टा

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

सिद्धिचरण लोकमार्गको उदयपुरको कटारी–घुर्मी खण्ड सञ्चालनमा आएको तीन दशकसम्म पनि स्तरोन्नति नहुँदा यात्रामा ढिलाई मात्रै होइन, नागरिकले ज्यानै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । कोशी प्रदेशको पश्चिम उदयपुर, खोटाङको पश्चिमी क्षेत्र, ओखलढुंगा र सोलुखुम्बुबासीको मुख्य सडक सधैँ जीर्ण हुँदा पहाडी क्षेत्रको कृषि उत्पादनलाई बजारसँग जोड्न पनि समस्या परेको छ ।मधेशको सिरहा मिर्चैयाबाट सुरु हुने सडकले सोलुखम्बुसम्म जोड्छ । मिर्चैयादेखि कटारी बजारसम्म २६ किलोमिटर पर्छ घने कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर छ । 

दैनिक सयौंको संख्यामा सवारीसाधन आवतजावत गर्ने यो सडक वर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको कटारी नगरपालिका– ११ का पूर्ववडाअध्यक्ष सरोज बुढाथोकीले बताए । ‘धेरैपटक सडक मर्मतको लागि संघीय र प्रदेश सरकारको ध्यान आर्कषण गरायौं, तर सडक जस्ताको तस्तै छ, बनाउने चासो कुनै सरकारले दिएनन्,’ उनले भने । 

बुढाथोकी वडाअध्यक्ष हुँदा मिर्चैया–घुर्मी सडक मर्मतको माग गर्दै आन्दोलनसमेत भएको थियो । ‘सिद्धिचरण लोकमार्ग मर्मतको लागि सहयोग समिति बनाएर तीन दिन सडक बन्द गरेका थियौँ । अनि संघीय सरकारसमक्ष डेलिगेशन पनि गयौँ । त्यो आन्दोलनले ०७८ मा मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालय कटारीमा स्थापना गर्यो । अनि सडकलाई दुईलेनको बनाउने भनेर डिपीआर पनि भयो । तर, अहिलेसम्म सडक बनेको छैन,’ उनले भने । 

०५८ मा सिद्धिचरण लोकमार्गको रुपमा कटारी–घुर्मी सडकमा यातायात सञ्चालन सुरु भएको थियो । त्यसबेला कटारी–घुर्मी कालोपत्रे गरिएको थियो । तर, ०५८ पछि कुनै मर्मत भएको छैन । कटारी–घुर्मी सडक खण्डका सुपरभाइजर कुमार प्याकुरेल यात्रुले निकै सास्ती पाएका बताउँछन् । ‘दुईलेनको बन्छ भन्ने सुनेको थिएँ, अहिलेसम्म बनेको छैन । यो सडकमा ४६ किमि पार गर्न साना र फोरयुल सवारीलाई तीन घण्टा लाग्छ भने ठूलालाई ६ देखि ७ घण्टा लाग्छ,’ उनले भने । 

उदयपुरको ऐतिहासिक पुरानो बजार कटारी हुँदै तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी पैदल सगरमाथा चढ्न गएको भएकाले कटारीलाई सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्छ । भारत, भुटान, बंगलादेश र नेपालकै मध्य र पूर्वी तराईका पर्यटकलाई सगरमाथा क्षेत्र तथा खोटाङको हलेसी जान यही सडक छोटो पर्छ ।

दैनिक सात दर्जनभन्दा बढी चल्ने ट्रकले ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका लागि दैनिक उपभोग्य सामग्री ढुवानी गर्छन् । उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लाकै भौतिक विकासको मेरुदण्डका रूपमा रहेको कटारी–घुर्मी सडक मर्मत नहुँदा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा बजार भाउ बढ्ने उदयपुर उद्योग वाणिज्य संघ कटारी पूर्वउपाध्यक्ष धनबहादुर कटुवाल बताउँछन् ।

सुझावित समाचार