उदयपुरमा राति ८ बजेपछि देउसीभैलाै खेल्न नपाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दैै दीपावली, नेपाल संवत् र छठ पर्व मर्यादित र सुरक्षित ढंगले मनाउन आग्रह गरी राति ८ बजेपछि देउसीभैलाै खेल्न नपाइने जानकारी दिएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा शुक्रबार जारी सूचनाअनुसार चाडपर्वका अवसरमा सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्दै परम्पराअनुरूप संस्कार र संस्कृतिको संरक्षण गर्न सबैलाई आग्रह गरिएको छ।
सूचनामा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति ८ बजेसम्म मात्र गर्न र धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउन भनिएको छ। साथै, आतिसबाजी, पटाका, भुइँचम्पा, बमजस्ता विस्फोटक पदार्थको खरिद–बिक्री र प्रयोग नगर्न पनि निर्देशन दिइएको छ।
दीपावली र छठ पर्वका वेला दियो तथा बत्ती बाल्दा आगलागी हुन सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले सबैलाई सचेत गराएको छ। साथै, राजमार्ग र अन्य सडक अवरोध नगर्न, उपभोग्य वस्तुमा कालोबजारी, मिसावट वा मूल्यवृद्धि नगर्न र निषेधित जुवा, तास, चिट्ठा, अनलाइन ठगी तथा अवैध कारोबारजस्ता कार्यहरू नगर्न अनुरोध गरिएको छ।
त्यस्तै, मादक पदार्थ सेवन गरी सार्वजनिकस्थलमा होहल्ला नगर्न, ट्राफिक नियमको पालना गर्न, सवारीसाधनमा तोकिएभन्दा बढी यात्रु नबोक्न र नशा सेवन गरी सवारी नचलाउन निर्देशन गरिएको छ।
प्रशासनले रातको समयमा पसल वा कम्पाउन्ड खुला नराख्न, शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ। कुनै व्यक्ति वा समूहले यस्ता कार्यविरुद्धका निर्देशन उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।