नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घाइघाटमा शनिवार बिहान भएको सवारी दुर्घटनामा घाइतेहरुको पहिचान खुलेको छ । चितवन प्रहरीका अनुसार घाइते २१ जना मध्ये २ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकामध्ये १३ जनाकाे नेशनल सिटी अस्पताल भरतपुरमा, चार जनाकाे चितवन मेडिकल कलेजमा र चार जनाकाे जनता केयर अस्पताल मुग्लिङमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितवनको खैरहनी–८ घर भएकी ४८ वर्षीया जुना तामाङ र रत्ननगर ९ कि २८ वर्षीया सरु चेपाङको अवस्था गम्भीर छ । दुबैजनाको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ । यस्तै अन्य घाइते हुनेमा तनहुँ जिल्ला देवघाट ५ का ५२ वर्षीय युवराज साखी, ४६ वर्षीया सर्मिला साखी र २१ वर्षीया अर्चना साखी रहेका छन् । बसमा सवार उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ८ ख ६६२९ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौँडा ७ का २३ वर्षिय अजय स्याङ्तानको पनि चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।
चितवन प्रहरीका अनुसार नवलपरासी वर्दघाटका ३२ वर्षीय प्रकाश पाण्डे, ३३ वर्षीया पवित्रा पाण्डे, तीन वर्षीया प्रज्ञा पाण्डे, ८ वर्षीयआसुतोष पाण्डे, चार वर्षीय कसल पाण्डे घाइते भएका छन् । यस्तै चितवन खैरहनी २ का १३ वर्षीय कृपा नेपाल, ३३ वर्षीय केदार नेपाल र पाँच् वर्षीया काव्या नेपाल पनि घाइते भएका छन् । काठमाडौंकी १८ वर्षीया कला दुर्लाकोटी, चितवन खैरहनीकी पाँच वर्षीया इस्मिरिका राना मगर र नवलपरासी वर्दघाटकी २९ वर्षीया पुष्पा भण्डारीको अवस्था मध्यम रहेको छ । उनीहरु सबैको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै, नवलपरासीको कावासोती ८ का ४० वर्षीय श्रीराम रानाभाट, ३५ वर्षीया पार्वती रानाभाट, ९ वर्षका निशान रानभाट र ६ वर्षकी विपिन्सा रानाभाट सामान्य घाइते भएका छन् उनीहरुको मुग्लिङमा रहेको जनता केयर अस्पताल मुग्लिङमा उपचार भइरहेको छ ।
दुर्घटना शनिबार बिहान करिब ७: ३० बजे भएको थियो । प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किँदा पछाडिपछि आएका सवारी साधनहरू समेत दुर्घटनामा परेका थिए । बसको पछाडि आएको ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको ईभी माइक्रो, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबी ८४७० नम्बरको कार एकपछि अर्कोसँग ठोक्किँएका थिए ।
दुर्घटनाका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्णरूपमा अबरुद्ध बनेको थियो । दुर्घटनामा परेका सवारीसाधन हटाउने काम भइरहको र अहिले साना सवारीसाधन र मोटरसाइकललाई आवागमन अनुमति दिइएको चितवन प्रहरीले जनाएको छ ।