चितवनको गाईघाटमा सातवटा सवारी एक–आपसमा ठोक्किँदा २१ जना घाइते

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ गाईघाटमा शनिबार बिहान भएको दुर्घटनामा २१ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिङ सडकखण्डमा आज बिहान साढे सात बजे ट्रक, बस, टेलर, माइक्रो, बोलेरो र कार गरी सातवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एक–आपसमा ठोक्किँदा पछाडिपट्टिबाट आएका अन्य सवारीहरू पनि एकपछि अर्को गरी ठोक्किँदा दुर्घटना भएको हो। 

दुर्घटनामा बसको पछाडि आएको ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको इभी माइक्रो, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बोलेरो र बिएबी ८४७० नम्बरको कारसमेत एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परेका २१ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। घाइतेमध्ये १३ जना नेसनल सिटी अस्पतालमा, चारजना नयाँ मेडिकल कलेज भरतपुरमा र चारजना जनता केयर अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। ट्राफिक प्रहरी र स्थानीयहरूको सहयोगमा सवारीसाधन हटाउँदै सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार