सर्लाहीको बागमतीमा खुल्यो अत्याधुनिक आँखा अस्पताल

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

सर्लाहीको बागमतीमा अत्याधुनिक आँखा अस्पताल सञ्चालनमा आएको छ । बागमती नगरपालिका–१२ मा रहेको कर्मैया स्वास्थ्य चौकी भवनमा रहेको आँखा अस्पतालको बिहीबार उद्घाटन भएको हो ।

क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती सुरु गरेको बागमती नगरपालिका शिक्षा शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए । अब यस क्षेत्रका नागरिकले आँखा उपचारको लागि टाढा धाउनु नपर्ने उनको भनाइ छ । एक करोड ३० लाख लागतमा सञ्चालनमा आएको केन्द्रमा कम्प्युटर विधिबाट आँखा जाँच गर्नेदेखि चश्मा बनाएर वितरण गर्ने तथा मोतिया बिन्दुको शल्यक्रिया गर्नेसम्मको सुविधा रहेको सहयोगी संस्थाकी नेपाल डाइरेक्टर पुनम भण्डारीले बताइन् ।
केन्द्र सञ्चालनको लागि स्वास्थ्य चौकीले एउटा ओपिडि, एउटा औषधि तथा चश्मा पसल र एउटा शल्यक्रिया कोठा उपलब्ध गराएको छ । 

यसैबिच आँखा उपचार केन्द्र उद्घाटनको अवसरमा भएको निःशुल्क शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया समेत गरिएको छ । बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताए । गत १५ असोजबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटको चन्द्रपुर लगायतका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए । 

नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो । शिविरमा तिलगंगा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए । 

सुझावित समाचार