- भेप छुटाउन तत्कालीन भन्सार प्रशासक अरुण पोखरेललाई पटक–पटक गरेको फोन सम्पर्क र छोरा राहुलले प्रहरीसमक्ष दिएको बयानका आधारमा महरा थुनामा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इ–सिगरेट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेलन चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो ।
अदालतको आदेशपछि महरालाई सुन्धारास्थित केन्द्रीय कारागार लगिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले महरालाई भन्सार चोरी पैठारी तथा संगठित अपराधमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको बताए । ‘पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको छ । उनीविरुद्ध भन्सार चोरी–पैठारी तथा संगठित कसुरअन्तर्गत मुद्दा दर्ता भएको छ । सोहीअनुसार उनलाई जेल चलान गर्ने आदेश भएको हो,’ उनले भने ।
अदालतले महरालाई जेल पठाउनुको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रशासक अरुण पोखरेललाई भेप छुटाउन पटक–पटक गरेको फोन सम्पर्क, छोरा राहुल भनिने रेशम महराले अदालत तथा अनुुन्धानका क्रममा गरेको बयान आदिलाई आधार मानेको छ ।
‘तत्काल प्राप्त प्रमाणका आधारमा महरा अहिले नै आरोपित कसुरमा निर्दोष रहे भएको अवस्थाको विद्यमानता नदेखिई कसुरदार देखिने आधार भएको र निजलाई लागेको अभियोगसमेतबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल निजलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरी दिएको छ,’ अदालतको आदेशमा भनिएको छ । महराविरुद्ध २६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालयले आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
विमानस्थलका भन्सार अधिकृत पोखरेलका अलावा महराले सुन तस्करका मुख्य नाइके चिनियाँ नागरिक दावाजिन वाङसँग पनि १८ पटक फोन सम्पर्क गरेका थिए । त्यसमध्ये १२ पटक दुई पक्षबिच संवाद भएको अनुसन्धानबाट खुलेको छ ।
दावाजिन महराका छोरा राहुलका साथी हुन् । सन् ०११ मा चीनमा चिनियाँ भाषा अध्ययन गर्ने क्रममा राहुलको दावाजिनसँग चिनजान भएको थियो । सोही सम्बन्धलाई उपयोग गर्दै दावाजिनले तत्कालीन सञ्चारमन्त्रीसमेत रहेका महरासँगको सम्बन्धलाई बलियो बनाएका थिए । दावाजिनको नेक्ससमा काम गर्ने अर्का चिनियाँ तस्कर ली हाङसोङले फ्लाई दुबईको फ्लाइटबाट १० पुस ०७९ मा भेपका सिलिन्डरभित्र सुन लुकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका थिए । शंका लागेपछि भन्सार कार्यालयले ठुलो परिमाणमा विद्युतीय चुरोट ल्याएको भन्दै भन्सारले ‘आरसी ट्याग’ लगाएर दुवै सुटकेस नियन्त्रणमा लिएको थियो ।