एमाले केन्द्रीय कमिटी बैठक : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको निर्णय गराउने इतर समूहको रणनीति

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले बुधबारबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलनपछिको विकसित घटनाक्रम र अबको कार्यभार समेटेर राजनीतिक प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

२५ र २६ असोजमा बसेको केन्द्रीय सचिवालय बैठकले अन्तरिम सरकार चुनावको पक्षमा निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी र संवैधानिक बाटोसँगै जनपरिचालन र आन्दोलनको समानान्तर नीति अख्तियार गर्ने प्रस्ताव पास गरेको थियो । बैठकमा ओलीले सोही निष्कर्षसहितको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । 

मंगलबार सर्वोच्च अदालतमा केही जेन–जी युवासहित अन्य विभिन्न व्यक्तिहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि हालेको रिटका विषयलाई पनि एमालेले बैठकमा छलफल गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडले क्षतिग्रस्त बनेकाले जावलाखेलस्थित एक क्याफेमा केन्द्रीय कमिटी बैठक डाकिएको छ । 

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टसहित पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट केन्द्रीय सदस्यहरूले उनको सदस्यता नवीकरण गर्नुपर्ने विषयलाई जोडदार रूपमा उठाउने तयारी गरेका छन् । अध्यक्ष ओलीले राजनीतिक प्रस्तावमा भण्डारीको सदस्यता नवीकरण छलफल गर्ने पछिल्लो सचिवालय बैठक र विधान महाधिवेशनको सहमतिअनुसार नल्याए केन्द्रीय कमिटी बैठकमा उठाउने उनीहरूले तयारी गरेका हुन् । ‘सहमतिअनुसारकै प्रस्ताव बैठकमा आउँछ होला, तर आएन भने पनि केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणलगायतका विषय उठान गर्नुहुन्छ,’ सचिव योगेश भट्टराईले भने । 

बैठकमा नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने कि नगर्ने विषय पार्टीकै छलफलको विषय भए पनि अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न लगाएर कानुनी परीक्षण गराउन खोजेको, तर अदालतले नै त्यसरी सदस्यता रोक्न नहुने गरी बाटो खुला गरेको विषय पनि उठाउने तयारी गरेका छन् । 

See More On

सुझावित समाचार