इजरायलद्वारा विपिनको मृत्युको औपचारिक जानकारी

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

इजराययलले हमासको कब्जामा दुई वर्षदेखि रहेका विपिन जोशीको मृत्युका बारेमा औपचारिक जानकारी दिएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईलाई  इजरायलको परराष्ट्र मन्त्रालयका डाइरेक्टर जनरल एडेन बार तालले आज अपराह्न टेलिफोन वार्तामा औपचारिक जानकारी दिएका हुन्।

उनले नेपाली नागरिक विपिन जोशीको दुःखद निधन भएको औपचारिक जानकारी गराउँदै मृतकप्रति इजरायल सरकारको तर्फबाट श्रद्धाञ्जली प्रकट गरेका छन्। साथै, उनले जोशीका परिवार, नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

हमासले विपिन जोशीको शव हिजो रेड क्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपछि उनको शवको पहिचान भइसकेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासका प्रतिनिधिले आज तेल अविभस्थित नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनको भ्रमण गरी थप पुष्टि गरेका छन्। 

नेपाली राजदूतावासले सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गर्दै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको परराष्ट्र मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा जनाएको छ।

७ अक्टोबर २०२३ देखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका इजरायलको लर्न एण्ड अर्न कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहमा यथासम्भव सबै प्रयासहरू गर्दै आएको थियो।

शव नेपाल ल्याइसकेपछि पनि जोशीको मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन, न्याय सुनिश्चित गर्न तथा परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा र अन्य सुविधाका लागि नेपाल सरकारले सम्बन्धित निकायहरूसँगको समन्वयमा आवश्यक पहल जारी राख्ने जनाएको छ।

सुझावित समाचार