नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को ड्राफ्टका लागि ५१२ जना नेपाली खेलाडी दर्ता भएका छन्। यसअघि पहिलो संस्करणका लागि २७८ खेलाडी दर्ता भएका थिए।
सोमबार आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘पहिलो सिजनको ड्राफ्टमा २७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए। दोस्रो सिजनका लागि खोलिएको आवेदनबाट ५१२ स्वदेशी खेलाडी दर्ता भएका छन्।’
एनकेएल सिजन २ का लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्वाधिक १५५ जना छन्। त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन्। गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो।
‘विदेशी खेलाडीको आकर्षण पनि अत्यधिक बढेको छ। धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन्। हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना विदेशी खेलाडी लिनेछौँ। उनीहरू पक्कै पनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले भने। पहिलो सिजनमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडी एनकेएलमा आएका थिए।
नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रूपमा एनकेएलको सिजन १ गत जनवरीमा भएको थियो। फ्रेन्चाइज टिममा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो। पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो. कबड्डी लिग (पिकेएल) सिजन १२ खेल्न व्यस्त छन्।