नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा काभ्रेपलाञ्चोक जिल्लामा पनि हस्ताक्षर अभियान सम्पन्न भएको छ । विशेष महाधिवेशनको पक्षमा ७० प्रतिशत नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर बुझाएका हुन् ।
स्रोतका अनुसार जिल्लामा दुई निर्वाचन क्षेत्रमा ५० जना महाधिवेशन प्रतिनिधि रहेकोमा ३५ जनाले अर्थात् ७० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेर केन्द्रीय समितिलाई बुझाएका छन् ।
स्रोतका अनुसार दुई केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं र गणेश लामालगायतले हस्ताक्षर गरेका छैनन् भने एक केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र जिल्ला सभापति तीर्थ लामालगायतले हस्ताक्षर गरेर केन्द्रीय समितिमा बुझाएका छन् ।
स्रोतका अनुसार काभ्रे कांग्रेसमा ५० जना निर्वाचित महाधिवेशन प्रतिनिधि भए पनि काभ्रेका अन्य संगठनबाट निर्वाचित तथा मनोनीत महाधिवेशन प्रतिनिधिहरूले पनि हस्ताक्षर गरेका छन् ।
विशेष महाधिवेशन आयोजना गर्न दबाबस्वरूप नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा हस्ताक्षर प्रस्तुत गर्ने तयारी छ । आज आइतबार दिउँसो हुन लागेको बैठक २८ गतेका लागि सरिएको छ ।