उन्मुक्ति पाइरहेका पूर्वमन्त्री अधिकारी पनि अब अनुसन्धानको दायरामा

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

३२ लाख खुस खाएको दाबीसहितको अडियो सार्वजनिक हुँदा पनि सत्ताशक्तिको आडमा अनुसन्धानबाहिरै राखिएका पूर्वभूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि पनि अब अनुसन्धान हुने भएको छ ।

एमाले नेतासमेत रहेका मन्त्री अधिकारीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीकै आडमा अनुसन्धानबाट उन्मुक्ति पाउँदै आएका थिए । जेन–जी आन्दोलनले ओलीलाई सत्ताच्युत गरेपछि अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार छ भने जेन–जी अगुवा, सहिदका परिवार र घाइतेहरूले अख्तियार प्रमुख प्रेम राईसहित सबै आयुक्तहरूले राजीनामा दिनुपर्ने दबाब बढाइरहेका छन् ।

यसैवेला अख्तियारले पूर्वमन्त्रीद्वयसहित सातजनालाई मुद्दा दायर गर्दै अर्का पूर्वमन्त्री अधिकारीसहित तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेल (हाल अवकाश)लाई अनुसन्धानमा तान्ने जनाएको हो ।

बिचौलिया सुजनसँग पूर्वमन्त्री अधिकारीले ३२ लाख घुस लिएको आरोप छ । त्यस्तै, पोखरेलले पाँच लाख नगदसहित १० हजार मूल्यका सामान, रक्सी र दुई वनकुखुरा लिएको आरोप छ । यी विषयका सम्बन्धमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकी थप अनुुसन्धान गर्ने निर्णय भएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । घुस प्रकरणमा संलग्न बिचौलियाले अधिकारीलाई पनि घुस दिएको आरोप लगाएका थिए । मुद्दा दायर भएका पूर्वमन्त्री गुप्ताले समेत अधिकारीलाई पोलेका थिए ।

अधिकारीमाथि छानबिन चलिरहेको, उनीविरुद्ध मुद्दा जाने प्रमाणहरू भेटिएको र दोस्रोचरणमा उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गर्ने अख्तियार स्रोतले बतायो । ‘अधिकारी पनि छानबिनको दायरामा छन्,’ स्रोत भन्छ, ‘थप प्रमाणहरूसमेत हेरेर उहाँविरुद्धसमेत दोस्रो मुद्दा दायर गर्ने तयारी छ ।’ 

सुझावित समाचार