- कोशी सरकारले सेनाको हेलिकोप्टरबाट माङसेबुङमा पुर्यायो त्रिपाल, ब्ल्यांकेट र खाद्यान्न
गत शनिबार रातिको बाढीपहिरोमा विस्थापित भएका इलामका १०६ घरपरिवार छिमेकी र आफन्तका घर तथा विद्यालय र त्रिपालमा बसिरहेका छन् । घर पूर्ण रूपमा क्षतिग्रस्त भएर विस्थापित भएकाको संख्या १०६ रहे पनि आंशिक क्षति पुगेका घरको संख्या संकलन गर्न नसकिएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । गत शनिबारको पहिरोले इलामका १० मध्ये आठ पालिका प्रभावित छन् । इलाम नगरपालिकामा ४४, फाकफोकथुम गाउँपालिकामा १६, माई नगरपालिकामा १३, सन्दकपुर गाउँपालिकामा १२, माङसेबुङ गाउँपालिकामा ११, सूर्योदय नगरपालिकामा पाँच, देउमाई नगरपालिकामा तीन र माईजोगमाई गाउँपालिकामा दुई घरपरिवार विस्थापित भएका छन् ।
‘कतिपय ठाउँमा अझै विद्युत् अवरुद्ध छ । स्थानीय तहमा कर्मचारी दसैँ मनाउन गएर फर्किएका थिएनन् । अहिले विवरण संकलन भइरहेको छ । यो प्रारम्भिक तथ्यांक हो, बढ्न सक्छ,’ उनले भनिन्, ‘विस्थापित परिवारलाई सम्बन्धित पालिकामार्फत अत्यावश्यक राहत गएको छ । तर, सडक अवरुद्ध हुँदा राहत पठाउन समस्या भइरहेको छ ।’
इलाममा पहिरोमा ज्यान गुमाउनको संख्या ३९ पुगेको छ । एकजना अझै बेपत्ता छन् । सन्दकपुर गाउँपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका थिए ।
कोशी सरकारले सेनाको हेलिकोप्टरबाट माङसेबुङमा पुर्यायो त्रिपाल, ब्ल्यांकेट र खाद्यान्न
मंगलबार कोशी प्रदेश सरकारले पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत माङसेबुङ गाउँपालिकामा त्रिपाल, ब्ल्यांकेट तथा खाद्यान्न पुर्याएको छ । त्यहाँ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आफैँ पुगेका थिए ।
मंगलबारसम्म इलाम नगरपालिकाका, माङसेबुङ गाउँपालिका, माई नगरपालिकामा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिएर प्रदेश सरकार तथा विभिन्न संघसंस्थाले राहत दिएका छन् । त्रिपाल, ब्ल्यांकेट तथा खाद्यान्न पुगेको उनले बताइन् ।
तर, अन्य पालिकामा भने राहत पठाउन सकिएको छैन । ‘राहत लिएर जान सकेका छैनौँ, बाटो छैन । राहत सामग्री बोकेर लानुबाहेक विकल्प छैन,’ उनले भनिन्, ‘अहिलेसम्म राहत लैजान नसकेका ठाउँहरूमा स्थानीय सरकारले आवश्यक सहयोग गरिरहेका छन् । त्यहाँ पनि कति स्कट छ र कति धान्छ भन्ने छ ।’ राहतका लागि जिल्ला प्रशासन कार्यालयमार्फत स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । यो प्रक्रियाबाट सबै ठाउँ राहत पुर्याउन सहज हुने ठानिएको छ ।
कहालीलाग्दो विपत्तिबारे कृष्णबहादुरको बयान– बाटो बन्द हुँदा बहिनीलाई अस्पताल लैजान सकिएन, ज्यान गयो
शनिबार रातभर पानी परेपछि ननिदाई बसेका इलाम नगरपालिका– ६ घोसका कृष्णबहादुर तामाङ सुत्ने तरखर गर्दै थिए । तर, छिमेकमा पहिरो गएको खबर पाए । तत्काल त्यहाँ पुगेर छिमेकी परिवारलाई सुरक्षित स्थानमा सार्न सघाए ।
त्यही वेला १० मिनेटको दूरीमा रहेका ठुलोबुवाका छोरा दाइ प्रकाश तामाङको घर पहिरोले लगेको खबर फोनमा आएपछि झस्किए । ‘त्यहाँ पुग्दा घर बगाएको थियो । आफन्त जताततै लडेका थिए । हेर्नै नसकिने दृश्य थियो,’ उनी भन्छन्, ‘घरमा दसैँ मनाउन आएका बहिनीको परिवार, अन्य पाहुना र घरपरिवार गरी १३ जना थिए । एउटै घरमा राति सुतेका ६ जना पहिरोमै बिते ।’
उद्धारका क्रममा चारजनाको मृत्यु भइसकेको थियो । प्रकाश, उनकी बहिनी अनु तामाङ र अनुका चार वर्षीय छोरा भने गम्भीर घाइते अवस्थामा भेटिए । अनु दसैँ मनाउन झापाको अर्जुनधाराबाट माइत गएकी थिइन् । अनु र उनका नाबालक छोरालाई अस्पताल पुर्याउन नपाउँदा मृत्यु भएको त्यो दृश्य सम्झँदा कृष्णबहादुर अझै पनि झस्किन्छन् । ‘बाहिनी र नाति जिउँदैै थिए । बहिनीले बचाउ भन्दै थिइन् । तर, अस्पताल लैजान बाटो थिएन, मेची राजमार्गमा पहिरो खसेको थियो । झन्डै एक घण्टा होल्ड हुँदा बहिनीले पनि ज्यान गुमाइन्,’ कृष्णबहादुरले नयाँ पत्रिकासँग भने, ‘बहिनीले बचाउ भन्दाभन्दै बचाउन सकिएन । निकै दु:ख लाग्यो । भान्जालाई जसोतसो पहिरो छिचोल्दै इलाम अस्पताल पुर्याइयो । त्यहाँ डाक्टरले मृत्यु भएको भने ।’
कृष्णका दाइ प्रकाश परिवारसहित त्रिपालमा बसिरहेका छन् । ‘अब त्यो ठाउँमा बस्ने अवस्था छैन । सरकारले पीडित परिवारलाई पुनस्र्थापनाका लागि सहयोग गरोस्,’ उनले भने ।