पहिरोको ‘इपिसेन्टर’ इलाम : १२ घरका ३६ जना निद्रामै पुरिए

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण
पहिरोको ‘इपिसेन्टर’ इलाम : १२ घरका ३६ जना निद्रामै पुरिए

माङसेबुङ– १ गजुरमुखीमा देउमाई खोलाले क्षतविक्षत बनाएको घर । तस्बिर : नयाँ पत्रिका

शनिबार रातिको पहिरोको ‘इपिसेन्टर’ बनेको इलाममा ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । पहिरोमा पुरिएका एकजना अझै बेपत्ता छन् । पहिरोमा परेका ३९ जनामध्ये ३६ जना घरभित्रै सुतिरहेका वेला पुरिएको पाइएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मध्यरातमा भएको भीषण वर्षाका कारण एक्कासि पहिरो खसेपछि १२ घरमा सुतिरहेका ३६ जना निद्रामै पुरिएको विवरण प्राप्त भएको बताइन् । ‘इलाम नगरपालिकामा एकै घरभित्र सुतेका ६ जनाको मृत्यु भएको छ । चार परिवारका सदस्य भए पनि उहाँहरू एकै घरमा सुतिरहनुभएको रहेछ । सूर्याेदयमा पनि एकै घरमा चारजना पर्नुभएछ । राति पहिरो खसेकाले भाग्न पनि पाएनन्, निद्रामै रहेका वेला पहिरो खस्यो,’ नेपालले भनिन्, ‘इलाम हाराहारीकै पानी मधेशका जिल्लामा पनि परेको थियो । तर, यहाँ पहाडी भूगोल, त्यसमा पनि लगातार चारपाँच घण्टा पानी परेकाले पहिरो गयो ।’ इलामको हिमाली गाउँमा ३३२.६ र इलाम टी–इस्टेट केन्द्रमा २८०.२ मिलिमिटर वर्षा मापन भएको थियो, जुन त्यहाँका लागि रेकर्ड–ब्रेक हो ।

शनिबार रातिको पहिरोमा परेका ३९ जनामध्ये ३६ जना घरभित्रै पहिरोमा परेका हुन् भने दुईजना सडकमा रहेका वेला पहिरोमा परेका थिए । एकजनाको शव भने खोलाले बगाएको अवस्थामा सोमबार फेला परेको हो ।

बाढीपहिरोमा २० जना घाइते भएका छन् । जसमध्ये सन्दकपुर गाउँपालिकामा आइतबार उद्धार गर्न नसकिएका पाँचजनाको सोमबार उद्धार गरिएको छ । उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल ल्याइएको उनले बताइन् । घाइतेमध्ये दुईजनालाई एम्बुलेन्स र तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

कम्तीमा १०६ घर विस्थापित
पहिरोले इलाममा कम्तीमा एक सय ६ घर विस्थापित भएका छन् । हालसम्म प्राप्त विवरणअनुसार माङसेबुङ गाउँपालिका ११, इलाम नगरपालिका– १० मा ३८, फाकफोकथुम गाउँपालिका १६ र माई नगरपालिकामा ४१ घर बाढीपहिरोमा परेका छन् । ‘इलाममा मात्र २६ घर पहिरोले बगेका छन् । अरू पालिकाको पनि तथ्यांक आउने क्रममा छ, कति क्षति भयो भनेर तथ्यांक संकलन भइरहेको छ,’ सिडिओ नेपालले बताइन् ।

माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले माइजोगमाइमा ठुलो मात्रामा क्षति भए पनि यकिन भन्न सकिने अवस्था नरहेको बताए । ‘ एउटा घरमा पाँच र अर्काे घरमा तीन गरी दुई घरमा आठजनाको मृत्यु भएको छ, पहिरोले घर बगाएको भत्काएको हिसाब निकाल्न सकिएको छैन,’ उनले भने, ‘गाउँ जाने सडक पनि भत्किएका छन् । ट्र्याक खोल्दै छौँ ।’ 

विस्थापितहरू विद्यालय, आफन्त र छिमेकीको घरमा बसिरहेका छन् । प्रशासनबाट राहत वितरणको काम मंगलबारबाट सुरु हुने जनाइएको छ । ‘अहिले स्थानीय तहले सहजीकरण गरिरहेका छन् । मंगलबार प्रदेश सरकारले पनि राहत वितरण गर्ने खबर आएको छ । संघ–संस्थालाई पनि हामी आह्वान गर्दै छौँ । प्रभावित क्षेत्रमा यातायातका साधन पुग्न सक्ने अवस्था छैन । त्यहीकारण पनि हामी तत्काल राहत लिएर जान सकेका छैनौँ,’ उनले भनिन् ।

सडक सञ्जाल टुट्यो, धेरै ठाउँमा विद्युत् र टेलिफोन पनि अवरुद्ध
पहिरोले बगाउँदा, सडक भासिँदा इलाम सदरमुकाम जोड्ने मेची राजमार्ग र भित्री सडक पनि अवरुद्ध छन् । माइखोलानजिकै राजदुवालीमा सडक भासिदा झापाबाट इलामलाई जोड्ने मार्ग ठप्प छ । यसबाहेक जिल्लाका कैयौँ ठाउँमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । इलाम नगरपालिका क्षेत्रमा भने सोमबार साँझ मात्र आंशिक रूपमा विद्युत् आपूर्ति सुरु भएको छ । ‘मुख्य सडक र भित्री सडक ठप्प छन् । तीन–चारवटा घुम्ती सोहरेर एउटै बनेका छन् । सडक डिभिजनले मुख्य सडक खुलाउन प्रयास गरिरहेको छ । तर, लेदो भएकाले पन्छाउन कठिनाइ भइरहेको छ । अब पानी नपरेमा बाटो खुलाउन सजिलो हुनेछ,’ उनले भनिन्, ‘पालिकाहरूले पनि भित्री सडक खोल्ने प्रयास गरिरहेका छन् ।’ सडक डिभिजन कार्यालय इलामले पाँच दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको नेपालको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक एकनारायण कोइलालाले खोज र उद्धारको काम सकिएकाले अब क्षतिको विवरण संकलन हुने बताए । ‘सडक धेरै ठाउँ अवरुद्ध छ । इलाम सदरमुकाम अहिले सडक सञ्जालबाट टुटेको छ । सदरमुकामसम्म सवारीसाधन आउन अझै केही दिन लाग्छ,’ उनले भने, ‘विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा वैकल्पिक सडक खोज्न पनि समस्या भएको छ । पालिकाहरूले पहिरो सफा गरेर सडक खोल्ने काम पनि सुरु गरेका छन् ।’

घर बगेपछि छिमेकीको शरणमा
इलाम माङसेबुङ-१ गजुरमुखीका सन्तकुमार राई शनिबारदेखि निदाउन सकेका छैनन् । उनी भाडामा बस्दै आएको घर देउमाई खोलाले बगायो । घरबाट केही सामान निकाल्न पाएनन् । ‘सामान र घर त बचेन । मानवीय क्षति नहोस् भनेर मान्छे बचाउनतिर लाग्यौँ,’ उनी भन्छन्, ‘देउमाई उर्लिएपछि छिनभरमै सडकमा आइयो । अहिले छिमेकीको शरणमा छु ।’

शनिबार राति ३ बजे एक्कासी गड्याङ गर्दै चट्याङ परेजस्तो भएपछि माईजोगमाई-३ काफ्ले गाउँका पारसमणि काफ्ले निद्राबाट ब्युँझिए । श्रीमती आफन्तको घरमा थिइन् । घरमा उनीसँगै साढे तीन वर्षको नातिनी, छोरा र बुहारी थिए । ‘छोराबुहारीलाई बोलाएँ । झ्यालबाट बाहिर निस्किन भनेँ र सानो नातिलाई बाहिर झिकेँ,’ पारसमणि त्यो कहालीलाग्दो रात सम्झन्छन्,‘पानी परिरहेको थियो । घरदेखि केही पर कटेरो थियो त्यहाँ गयौँ । धन्न बुहारीले फोन बोकेकी रहिछन् । त्यो फोनबाट दाइको छोरालाई फोन गरेर बोलाएँ । उसको घर गएर बस्यौँ ।’ उनको परिवार अहिले दाइको घरमा छ । काफ्ले गाउँमा ६ घर थिए । पारसमणिको घर पहिरोले पुर्‍यो । अन्य घर पनि बस्नै नमिल्ने गरी थिलथिलो भएका छन् ।

इलाम माङसेबुङ– १ खगेन्द्र योञ्जन शनिबार राति सुत्ने तरखरमा थिए । केही घण्टा जोडले पानी परेका कारण मनमा त्रास भने थियो । देउमाई खोलानजिकै घर भएका सन्तकुमार निदाउन सकेका थिएनन् । राति करिब ११ बजे देउमाई उर्लिएर आयो । देउमाई बस्तीमा पस्ने सम्भावना देखेपछि उनीसहित स्थानीय घरका सामान सार्न थाले । तर, छिनभरमै देउमाई कटान गर्दै बस्तीमा पस्यो । न त सामान नै रह्यो । न त घर नै ।

देउमाईले घर नै बगाएपछि अहिले उनीसँग लगाएको कपडाबाहेक केही पनि रहेन । शनिबार रातभर जागराम बसेर नै बित्यो । अहिले उनी छिमेकीको शरणमा छन् । गजुरमुखीमा व्यापार–व्यवसाय गर्दै आएका योञ्जनको पक्की घर नै बगायो । ‘हाम्रो करिब डेढ करोडको क्षति भएको छ,’ उनी भन्छन्, ‘अहिले हामी छिमेकीको शरणमा छौँ । गजुरमुखीमा ठुलो क्षति भयो ।’ ०७८ सालदेखि नै देउमाई खोलाले कटान सुरु गरेको थियो । सरकारको बेवास्ताका कारणले क्षति हुन पुगेको उनी बताउँछन् । ‘०७८ सालदेखि नै कटान सुरु भएको थियो । हामीले स्थानीय तहदेखि संघसम्मका मान्छेलाई देखायौँ,’ उनी भन्छन्, ‘कसैले वास्ता नगर्दा अहिले सबै बगायो । यहाँ तटबन्ध गरिदिएको भए अहिले हामी घरविहीन हुने थिएनौँ ।’

बाढीपहिरो र दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६१ पुग्यो
विषम मौसमी अवस्थाका वेला पाँचथरमा भएको सवारी दुर्घटनासहित बाढीपहिरो र चट्याङमा परी ज्यान गुमाउनेको संख्या ६१ पुगेको छ । सशस्त्र प्रहरी बलका अनुसार गत शनिबार यता मात्र इलाममा ३८ र पाँचथरमा आठजनाको मृत्यु भएको छ । त्यस्तै,  उदयपुर र रौतहटमा तीन–तीन तथा खोटाङ र काभ्रेमा दुई–दुईजनाको ज्यान गएको छ । सुनसरी, मोरङ, महोत्तरी सिन्धुपाल्चोक र सिन्धुलीमा एक–एकजनाको मृत्यु भएको छ । 

See More On

सुझावित समाचार