२९ घाइते अझै अस्पतालमै उपचाररत
जेन–जी आन्दोलनमा गोली खाएर घाइते भएका युवाहरूले आफ्नो रगत, पीडा र बलिदानमाथि राजनीति गरिएको, सरकारले अपेक्षाअनुसार काम नगरेको भन्दै तीव्र असन्तुष्टि र गहिरो आक्रोश पोखेका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा घाइतेहरूले आन्दोलनको म्यान्डेट र न्यायका माग बेवास्ता भएको आरोप लगाउँदै प्रश्न गरेका छन्, ‘हामीलाई गोली हान्ने र आदेश दिने कहाँ छन् ? उनीहरू किन पक्राउ पर्दैनन्, किन कारबाही हुँदैन ? सरकार किन मौन छ ?’
अहिलेको सरकारले आफूहरूको पीडा र मागप्रति उदासीनता देखाएको गुनासो पोख्दै उनीहरूले उपचार, पुनस्र्थापना र दीर्घकालीन सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले जेन–जी आन्दोलनका वास्तविक पीडितहरूका अनुभव र तिनले सामना गरेका चुनौतीलाई उपेक्षा गर्न नहुनेमा जोड दिए ।
रिस, पीडा र निराशा मिश्रित अभिव्यक्तिमा घाइतेहरूले सबैभन्दा पहिला सरकारले गोली चलाउन आदेश दिने र गोली हान्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । आन्दोलनपछिको वातावरणले जन्माएको असुरक्षाप्रति उनीहरूले तीव्र असन्तुष्टि जनाए । जेन–जीको नाममा ‘असम्बिन्धित’ व्यक्तिहरूले राजनीति गरिरहेको पनि घाइतेहरूको टिप्पणी छ ।
घाइतेहरूले आफूहरूले राखेका माग र आन्दोलनको अपेक्षाअनुसार सरकारले काम नगरेको गुनासोसमेत गरेका छन् । उनीहरूले जेन–जीको आवरणमा केही टाठाबाठा र अवसरवादीले राजनीतिक खेल खेल्न थालेको भन्दै घाइतेको भावनाअनुसार काम गर्न र यसमा सरकार जिम्मेवार हुन आग्रह गरेका छन् । सरकारले संवेदनशील भएर घाइतेहरूको पीडा र आक्रोश सम्बोधन नगरे जटिलता बढ्ने उनीहरूले चेतावनी दिएका छन् ।
सूत्रबद्ध रूपमा उनीहरूले गोली हान्नेलाई कारबाही गर्नुपर्ने, सहिद र घाइतेका परिवारलाई दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सेप्टेम्बर ८ लाई जनआन्दोलन घोषणा गर्नुपर्ने र युवा दिवसको रूपमा मनाउनुपर्ने माग राखे । यस्तै, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्ने, भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने, प्रदेशको पुनर्संरचना हुनुपर्ने, स्थानीय तहलाई स्वायत्तता दिनुपर्ने, शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने र रोजगारीको ग्यारेन्टी गरिनुपर्ने पनि उनीहरूको माग छ । यसबाहेक ती घाइतेले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल पक्राउ गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, राजनीतिक दलहरूको गठबन्धन अन्त्य हुनुपर्ने, राष्ट्रिय हितविपरीतका एनजिओ–आइएनजिओ खारेज हुनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने, विदेशमा रहेकाहरूलाई मताधिकार दिनुपर्ने र बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्नेलगायत माग पनि राखेका छन् ।
गोली लागेर एक आँखाको दृष्टि गुमाएका सुयोग राईले गोली हान्न आदेश दिने र गोली हान्नेलाई कारबाही नभएकोमा गुनासो पोखे । आफूले शारीरिक पीडा मात्र होइन भावनात्मक बेवास्ता पनि बोकिरहेको बताउँदै उनले भने, ‘म २३ गते नयाँ बानेश्वरको आन्दोलनमा गएको थिएँ । मेरो देब्रे आँखामा गोली लाग्यो र त्यो आँखाले आज काम गर्न छोड्यो । उपचारको शुल्क पनि सरकारले तिरेको छैन । गोली हान्न आदेश दिने र गोली हानेकामाथि किन कुनै कारबाही गरिएको छैन ? म अहिले घर र अस्पताल गरिरहेको छु ।’
छातीमा गोली लागेर घाइते समीर खत्रीले आन्दोलनपछिको अवस्था सन्तोषजनक नरहेको सुनाए । ‘देश निर्माण र भ्रष्टाचार अन्त्यको आशा लिएर आन्दोलनमा गएको थिएँ । ‘मेरो छातीमा गोली लागेको थियो । मेरो छातीमा गोली लागेको छ । तर, गोली खाएको यतिका दिनसम्म सोचेजस्तो हुन सकेको छैन,’ उनले भने, ‘हाम्रो याचना र बलिदानअनुसार परिवर्तन हुन सकेको छैन । प्रत्यक्ष निर्वाचित कार्यकारीको माग कमजोर हुँदै गएको छ । आन्दोलनको मूल्य र अपेक्षित परिणामबिच तालमेल भएको छैन ।’
घाइते समीरका लागि रात–दिन खट्ने आमा दिलमाया खत्रीले पनि भावुक हुँदै भनिन्, ‘मैले गाउँबाट छोरालाई पढ्न पठाएँ । देशको भलोका लागि भनेर हौसला पनि दियौँ । तर, सरकारले उसको उपचारमा सहयोग गरेन, ४५ हजार ऋण गरेर उपचार गर्यौँ । मैले एक रुपैयाँ पनि सहयोग लिएको छैन । मेरो माग छ– जसले गोली चलाए/आदेश दिए, उनीहरूलाई कारबाही हुनुपर्छ । देश बनोस् र मेरो छोरा विदेश जान नपरोस् ।’ उनका अनुसार समीर १२ सकेर आयल्स पढ्न थालेका थिए ।
आन्दोलनमा दुई हजार ४२९ जना घाइते, ६२० जनालाई मात्रै घाइते परिचयपत्र वितरण
आन्दोलनमा दुई हजार ४२९ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तीमध्ये अधिकांश घाइते अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । जेन–जी प्रदर्शनमा अधिकांशलाई प्रहरीको गोली लागेको थियो । घाइते ९४७ जनालाई एम्बुलेन्स प्रयोग गरेर र अन्य कतिलाई बोकेर, मोटरसाइकल, अन्य सवारीसाधन वा कतिपय आफैँ हिँडेर अस्पताल आइपुगेका थिए । अस्पताल आएकामध्ये तीन सयभन्दा बढीको आइसियू र २० भन्दा बढीको भेन्टिलेटरमा उपचार भएको थियो ।
सोमबारसम्म २९ जना घाइतेको अस्पतालमा उपचार जारी छ । अहिले अस्पतालमा भइरहेका गोली लागेका हुन् । घाइतेमध्ये ट्रमा सेन्टरमा ११, केएमसीमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच साथै निजामती अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, पोखरा मेडिकल कलेज र पाटन अस्पतालमा एक–एकजना उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार घाइते सबैको उपचार नि:शुल्क भइरहेको छ । अस्पतालमा रहेकाहरूको अवस्था खतरामुक्त रहे पनि उनीहरूको डिस्चार्ज र उपचार प्रक्रिया भने लम्बिन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
स्वास्थ्य मन्त्रालयले देशभर दुई हजार ४२९ जना घाइते रहेको तथ्यांक दिए पनि गृह मन्त्रालयले हालसम्म ६२० जनालाई मात्रै जेन–जी आन्दोलन घाइते परिचयपत्र वितरण गरेको छ । यो संख्या उपत्यकाका तीन जिल्लाको हो । जसमा काठमाडौंमा पाँच सय, ललितपुरमा एक सय र भक्तपुरमा २० जना छ । उपत्यकाका तीन जिल्लामा १२ र १३ असोजमा परिचयपत्र वितरण गरिएको थियो ।
अझै पनि तीन जिल्लामा थुप्रै घाइतेले परिपयपत्र नलिएको गुनासो आउने गरेको छ । उपचारपछि अधिकांश घाइतेहरू घर–घर फर्किएका कारण धेरैले परिचयपत्र पाउन ढिलो भएको गृह मन्त्रालयका विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख गोविन्द रिजालले बताए । उनका अनुसार घाइते परिचयपत्रका आधारमा उपचारमा सहजीकरण गरिएको छ । ‘हालसम्म उपत्यकाका तीन जिल्लामा परिचपयपत्र वितरण भएको छ । धेरै जिल्लामा वितरण हुनै बाँकी छ । हामीले संकलन गरेको तथ्यांकअनुसार ७३ जिल्लामा घाइते छन्,’ उनले भने, ‘उनीहरूलाई सम्बन्धित जिल्ला प्रशासनबाटै परिचयपत्र उपलब्ध गराउन पत्राचार भइसकेको छ । सोमबार जिल्ला जिल्लामा परिचयपत्र पठाएका छौँ । मंगलबार वा बुधबारदेखि वितरण सुरु हुनेछ ।’
घाइतेहरूको गुनासै गुनासो
गोली लागेर एउटा आँखा गुमाएँ, तर गोली हान्नेलाई कारबाही भएन : सुयोग राई
म २३ गते नयाँ बानेश्वरमा आन्दोलनमा गएको थिएँ । मेरो देब्रे आँखामा गोली लाग्यो र आज त्यो आँखाको दृष्टि गुमाइसकेको छु । आन्दोलनपछि बनेको सरकारले घाइतेहरूको पक्षमा ठोस काम गरेको छैन । उपचारको शुल्क पनि सरकारले तिरेको छैन । मैले नै आफ्नै खर्चमा उपचार गरिरहेको छु । एउटा आँखाको दृष्टि हराउनु कति पीडादायी हुन्छ भन्ने कुरा म आफैँले भोगिरहेको छु । त्यो दिन छाती, आँखा र टाउकोमा नै ताकेर गोली हानिएको थियो । तर, आजसम्म गोली चलाउने र आदेश दिनेहरूविरुद्ध कुनै कारबाही भएको छैन । म अहिले घर र अस्पताल धाइरहेको छु । सरकारसँग मेरो आग्रह छ– जेन–जीहरूका त्याग र बलिदानलाई सम्मानपूर्वक हेरेर काम गरियोस् । जसले जेन–जी आन्दोलनको नेतृत्व गर्नुभयो, कृपया हामीलाई नबिर्सनुहोस्, किनभने हामी प्रत्यक्ष गोली खाएर बाँचेकाहरू हौँ । हामीले खाएको गोलीमा राजनीति नगर्नुहोस् ।
घाइते र मृतकलाई न्याय दिने ठोस काम भएको छैन : समीर खत्री
मेरो छातीमा गोली लागेको थियो । देश बनाउँछु, समृद्ध बनाउँछु र त्यसका लागि भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने भावनाले म आन्दोलनमा सहभागी भएको थिएँ । तर, हामीले गोली खाएको यति लामो समय बितिसक्दा पनि सोचेजस्तो परिवर्तन हुन सकेको छैन । हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गरेका थियौँ, तर त्यो माग पूरा हुने अवस्था दिन प्रतिदिन कमजोर हुँदै गएको देखिन्छ । आन्दोलनका कारण देशले ठुलो मूल्य चुकाएको छ । अब यदि देशले सक्षम र इमानदार नेतृत्व पायो भने मात्र ती बलिदानहरू अर्थपूर्ण हुनेछन् । र, नेपाल छिट्टै विकासको बाटोमा अघि बढ्नेछ । जेन–जी आन्दोलनपछि बनेको सरकारप्रति म सन्तुष्ट छैन, किनभने घाइते र मृतकलाई न्याय दिने ठोस काम भएको छैन । जबसम्म गोली चलाउने र आदेश दिनेहरूलाई कानुनी कारबाही हुँदैन, तबसम्म हामीले खोजेको न्याय अधुरो नै रहनेछ । जबसम्म देशले सुशासन पाउँदैन तबसम्म सपना पूरा हुन्नन् । अर्को कुरा–अहिले केही अवसरवादीले आफूलाई ‘जेन–जी’ भन्दै अगाडि सरिरहेका छन् । म भन्न चाहन्छु– अवसरवादी होइन कि आन्दोलनका सच्चा सहभागी र पीडित अगाडि ल्याउनुपर्छ । हामीले ज्यान जोखिममा राखेर गरेको आन्दोलन कुनै व्यक्तिगत लाभका लागि होइन, देश र जनताको भविष्यका लागि हो ।
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही हुनुपर्यो : बादल राई
जेन–जी आन्दोलनको पहिलो दिनमै संसद् भवनअगाडि मलाई गोली लागेको थियो । वास्तविक रूपमा आन्दोलनमा योगदान दिनेहरूलाई पछाडि पारिँदै आएको अनुभव भइरहेको छ । जेन–जी आन्दोलनको मूल भावनाअनुसार अहिलेको सरकारले काम गर्न सकेको छैन । हाम्रो मुख्य माग स्पष्ट छ–घाइते र मृतकका परिवारले न्याय पाउनुपर्छ । गोली हान्न आदेश दिने र गोली चलाउने दुवैलाई कानुनी कारबाही हुनुपर्छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि जिम्मेवार ठहर गर्दै कारबाही गर्नुपर्छ । अनि मात्र जेन–जी आन्दोलनमा बगेको रगतले साँचो अर्थमा शान्ति पाउनेछ । अहिले केही युवाहरू जेन–जी आन्दोलनको नाममा अगाडि बढिरहेका देखिन्छन् । कतिपयले यस आन्दोलनलाई व्यक्तिगत अवसर र राजनीति गर्ने साधनजस्तो बनाइरहेका छन् । तर, म भन्न चाहन्छु– कृपया सोचेर अघि बढ्नुस् । साँचो जेन–जी भावना बोकेका र वास्तविक पीडा भोगेका परिवारलाई समेटेर मात्र आन्दोलनको अगुवाइ गर्नुपर्छ । त्यति भएमा मात्रै आन्दोलनको आत्मा जीवित रहनेछ ।
वास्तविक जेन–जीले वास्तविक माग के राखिरहेका छन् भन्नेतर्फ सरकारले ध्यान देओस् : प्रदीप भट्टराई
जेन–जी आन्दोलनको मुख्य उद्देश्य भनेको विकास र निकास हो । युवापुस्ता राज्य सञ्चालन गर्न सक्षम छन् र युवाबाट नै देशको विकास हुन सक्छ भन्ने सन्देश जेन–जी आन्दोलनले बोकेको हो । तर, यति धेरै युवाहरूको ज्यान गइसकेपछि बनेको सरकारले राम्ररी काम गर्न सकेको छैन । हामी यो सरकारप्रति पनि असन्तुष्ट छौँ । किनभने, जेन–जीको मागअनुसार सरकार बने पनि काम हुन सकेको छैन । हामीले त प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र आन्दोलनमा गोली चलाउने र आदेश दिनेलाई कारबाही गर्न माग गरिरहेका छौँ । २४ घण्टामा यति ठुला सत्ता पल्टाएपछि बनेको सरकारले जेन–जीमा मागअनुसार काम गर्नुपर्छ । वास्तविक जेन–जीले वास्तविक माग के राखिरहेका छन् भन्नेतर्फ सरकारले ध्यान देओस् ।
गोली चलाउने र आदेश दिनेलाई यो सरकारले कारबाही गर्न सकेन : डा. जगत विक
म जेन–जी प्रदर्शनको क्रममा म घाइते भएको थिएँ । जेन–जी प्रदर्शनपछि बनेको सरकारले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । अरू त हामीले भनेका होइनौँ, गोली चलाउने र आदेश दिनेलाई यो सरकारले कारबाही गर्न सकेन । यो नमज्जा लाग्ने कुरा हो । जेन–जी आन्दोलनबाटै बनेको सरकारले जेन–जीका खास मागलाई कुल्चन मिल्छ ? अर्को कुरा हामीले भनेको प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने हो । हाल सरकारसँग समन्वय गरिरहेका जेन–जीका अगुवाहरू हुनुहुन्छ कृपया तपाईंहरू आफ्नो फाइदाका लागि घाइतेहरूलाई दुरुपयोग नगर्नुहोस्, यो आन्दोलनको सबैभन्दा बढी हकदार भनेको घाइतेहरू हो । तर, कतिपयले यहाँ बिचौलियाको भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् । दुरदराजबाट आएर आन्दोलनमा सरिक भएकाहरूलाई बेवास्ता गरिँदै छ । जेन–जी प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशका धेरै युवा घाइते र मृत्युवरण गरे । तर, अहिले जेन–जीको अगुवाइ गर्नेहरूले घाइते र आन्दोलनमा अग्रपंक्तिमा खटिनेहरूलाई बेवास्ता गरिरहेका छन्, यो राम्रो होइन ।