दुई समुदायबिच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिन र धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा कर्फ्यु लगाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार साँझ ६:३० बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञा पूर्वमा लोहना जाने बाटो, पश्चिममा बहसिया जाने बाटो, उत्तरमा बाबा पेट्रोलपम्प–सिक्स लेन बाटो र दक्षिणमा गंगुली पुलसम्म लागू हुने जनाइएको छ। दुर्गा मूर्ति विसर्जनको विषयमा विवाद भएको छ । हिन्दू पक्षले भने आफ्नो मूर्ति विसर्जनमा ढुंगामुढा गरिएको आरोप लगाएका छन् । सो वडाका वडाध्यक्ष भोला कवाडीका अनुसार मूर्ति विसर्जनपश्चात केही व्यक्तिले मुस्लिम समुदायको दाहा राख्ने स्थलमा बनाइएको घरमा आगजनी गरेपछि विवाद सुरु भएको हो ।
यता, जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले साँझ ५ बजेदेखि विवाद सुरु भएको र विवाद वारे अनुसन्धान भइरहेको बताए । अहिले रुपैठाको अवस्था तनावग्रस्त बनेको छ भने त्यहाँ उल्लेखनीय संख्यामा प्रहरी परिचालन गरिएको छ। यस कृष्णाष्टमीको अवसरमा पनि त्यहाँ दुई समुदायबिच विवाद भएको थियो ।
