नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग सबै पुरानै खेलाडी परेका छन्। टोलीमा अदिल आलमले स्थान बनाएका छन् भने आरिफ शेख तथा साहब आलम अटाएका छैनन्।
एसिया तथा इस्ट एसिया प्यासेफिकअन्तर्गतको छनोट खेलका लागि टोली घोषणा भएको हो। छनोट खेल ८ अक्टोबरदेखि ओमानमा सुरु हुँदै छ।
नेपाली टोली वेस्ट इन्डिजसँगको सिरिज खेलेर युएईबाट छनोट खेलका लागि ओमान प्रस्थान गरिसकेको छ। छनोटमा नौ टिम प्रतिस्पर्धामा रहेकोमा उत्कृष्ट तीन विश्वकप खेल्न छनोट हुनेछन्। समूह चरणको खेलमा नेपालले जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। तीन वटा समूहमा नाै टिम रहेकोमा हरेक समूहबाट उत्कृष्ट दुई टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा पनि उत्कृष्ट तीन स्थानमा आउने टोलीले विश्वकपको यात्रा सुनिश्चित गर्नेछन्। यो छनोटमा नेपाललाई प्रमुख दाबेबारमध्ये एक टोलीका रूपमा हेरिएको छ।
