बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका– ६ स्थित रूपाचुरीमा बुधबार नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन्। विदेशी दातृ निकायको सहयोगमा निर्मित सगरमाथा आधारभूत विद्यालयको चारकोठे भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् ।
अमेरिकी संस्था बिल्डिङ एजुकेसनको आर्थिक सहयोगमा एक अर्थ फाउन्डेसन नेपालले विद्यालय भवन निर्माण गरेको हो । चारकोठे भवन, शौचालय, चौर सम्याउनेलगायत गरी करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण भएको संस्थाले जनाएको छ । विद्यालय भवन निर्माणपछि मनहरी गाउँपालिकाले डेस्क बेन्चकोसमेत व्यवस्था गरेको छ।
विद्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले दातृ निकायले विद्यालय भवन निर्माण गर्न सहयोग गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका लागि अनुरोध गरे । शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार पनि उत्तिकै गम्भीर रहेको भन्दै उनले अन्य आवश्यक पूर्वाधार र शैक्षिक वातावरणा बनाउन बजेट विनियोजन गरिने प्रतिबद्धता गरे ।
विद्यालयमा गाउँपालिकामार्फत राखिएका शिक्षक दरबन्दीलाई निरन्तरता दिन अध्यक्ष बानियाँले गाउँपालिका अध्यक्षलाई अनुरोधसमेत गरे। उनले मनहरी आफ्नो निर्वाचन क्षेत्रसमेत रहेकाले आफूले यस भेगको समग्र विकासका लागि बजेट विनियोजन गर्नेसमेत बानियाँले प्रतिबद्धता जनाए। सगरमाथा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, दातृ निकायका प्रतिनिधि बिन्डी स, नोरमेन, विद्यालयका प्रधानाध्यापक खड्कबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमकै बिच मनहरी गाउँपालिकामार्फत मनहरी– ६ नम्बर वडाका सातजना विपन्न परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार २० हजार रुपैयाँ रकम हस्तान्तरणसमेत गरिएको थियो । केही समयअघि चट्याङ लागि मृत्यु भएका विशाल ब्लोनको परिवारलाई गाउँपालिकामार्फत दुई लाख लाख खातामा पठाइएको छ भने मुख्यमन्त्री बानियाँले व्यक्तिगत रुपमा १० हजार सहयोग प्रदान गरे । साथै प्रदेश सरकारबाट पनि एक लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए ।