नेपाली समुदायको महान पर्व दसैँकै मुखमा कञ्चनपुरमा मासुमा कालोबजारी मौलाएको छ । गरिब, विपन्न समुदायले खानै नसक्ने गरेर खसीको मासु व्यवसायीले आफूखुसी मन परी ढंगबाट मूल्य वृद्धि गरेका छन्। जिल्ला मुकाम महेन्द्रनगर बजारमा रहेको मन्डीभित्र केही व्यवसायीले मूल्य वृद्धि गरेका छन, भने केहीले यथावत् मूल्यमै बिक्री-वितरण गरिरहेका छन्।
यति मात्रै नभई खसीको मासु भनेर बाख्रा, बोकाको मासु मिसावटसमेत गरेर बिक्री-वितरण गरिरहेको स्वयं मासु व्यवसायीहरूले एक-अर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका छन्।मूल दसैँ आउन दुई दिन बाँकी रहँदा अष्टमीकै दिन मंगलबार प्रतिकिलो मासुमा एकैपटक सय रुपैयाँ बृद्धि गरेका हुन्।
मन्डीभित्र कटिङ मासुको मूल्य फरक-फरक भएपछि उपभोक्ता मारमा परेका हुन्। छेउमै रहेको एक मासु पसलमा खसीको ९ सय र अर्को पसलमा १ हजार रुपैयाँ लिन थालेपछि उपभोक्ता ठगिन लागेका छन्।
प्रतिकिलोमा सय रुपैयाँ बृद्धि गरेका भण्डारी मासु पसलका सञ्चालक रामसिंह भण्डारीले विगत चार वर्षदेखि मृल्य बृद्धि हुन नसक्दा मारमा परेकाले बृद्धि गरेकोे बताए। ‘गत वैशाखमै मासुको मूल्य बढाउने सहमति भएको थियो, ‘उनले भने, ‘अहिले आएर दसैँको मुखमा बृद्धि गर्यो भनेर दुष्प्रचार गरिँदै छ, उपभोक्तामाथि अन्याय गरेका छैनौँ।’ उनले मूल्य बृद्धि नगर्ने व्यवसायीहरूले बदमासी गरिरहेको र खसीको मासुमा बोका, बाख्रीको मासु मिसाएर बिक्री गर्दा उनीहरूलाई केही समस्या नभएको ठोकुवा गरेका छन्।
मासुको मूल्य बृद्धि नगरेका न्यू मल्ल मासु पसलका सञ्चालक हर्कबहादुर मल्लले दसैँको मुखमा मन्डीभित्रका केही मासु व्यवसायीले बदमासी गरेको बताए। ‘मैले त यो तिहारका वेला पहिलेकोे मूल्यमा मासु उपभोक्तालाई दिइरहेको छु।’ उनले आफूले खसीको मासुमा अन्य बाख्री, बोकाको मासु बिक्री नगरेको र राति काट्नेभन्दा बिहान लाइभ काट्नेमा फरक हुने बताए ।
उपभोक्ता जहरलाल लुहारले यसरी एकै स्थानमा रहेका मासु पसलमा फरक फरक मूल्य र खसी भन्दै बाख्री, बोकाको मासु भिडाउने काम गरेर उपभोक्तामाथि अन्याय गरेको दुखेसो पोखे । अर्का उपभोक्ता बिरादत्त भट्टले मन्डीभित्रै ठुलो कालोबजारीले उपभोक्ता मासु मात्रै होइन तरकारीमा पनि ठगिँदै आएको बताए । ‘यो मन्डीभित्र पाइने सबै वस्तुमा हामी जहिल्यै ठगिँदै आएका छौँ, ‘उनले भने, ‘यतिसम्मको ठगिँदासमेत सरकार केही गर्दैन।’ उपभोक्तावादी प्रभुनिधि पन्तले स्थानीय सरकारसहित सरोकारवाला निकायकले प्रभावकारी बजार अनुगमन, नियमन नगर्दाको परिमाण आज उपभोक्ता आर्थिकदेखि अन्य विषयमा ठगिन लागेको बताए । उनले प्रभावकारी बजार अनुगमन गर्दा उपभोक्ता ठगिनबाट जोगिने बताए ।
कञ्चनपुर मन्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले खसीको मासुमा फरक फरक मूल्यमा बेचबिखन भइरहेको गुनासो आफूसँग पनि आएको बताए । ‘यस मन्डीभित्र स्थानीय सरकारसहितका अन्य सरकारले मासुको मूल्य निर्धारण गर्दैन, उनले भने, ‘पहिल्यैदेखि बजारको अवस्थाअनुरूप व्यवसायी आफैँले बृद्धि गर्दै आएका छन्।’ दसैँको मुखमा यसरी मूल्य बृद्धि गर्दा मन्डीभित्र आउने उपभोक्ता मारमा पर्ने भएकाले यसतर्फ आवश्यक पहल गर्ने बताए । यसरी मन्डीभित्र हुने जथाभावी मासु एवं तरकारीको मूल्य बृद्धिदेखि मापदण्डविपरीत बेचबिखनजस्ता कामकाजले उपभोक्ता मारमा पर्दै आएका छन्।